पोखरामा ६ करोडका लक्जरियस बस भित्रिए, बसभित्रै चिया-कफी र शौचालयको सुविधा
काठमाडौं । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गरे । पोखरा आफैँमा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो । यहाँबाट मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सञ्चालन हुने सुविधा सम्पन्न यातायात सेवाले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ । लामो समयदेखि यात्रुहरूको प्रतिक्षाको विषय बनेको यो सेवा विशेष सुविधाहरू सहित सञ्चालनमा आउन लागेको हो । कम्पनीका अध्यक्ष टीकाराम अधिकारीकाअनुसार नयाँ सञ्चालनमा आउने बसहरूमा यात्रुको सहजताका लागि बसभित्रै शौचालय (वासरुम), चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ । यात्रुहरूबाट सेवा सञ्चालनका सम्बन्धमा बारम्बार सोधपुछ भइरहेकाले आगामी भदौ ३ गतेलाई सेवा प्रारम्भ गर्ने आधिकारिक मिति तय गरिएको कम्पनीले जनाएको छ । गुणस्तरीय र सुविधायुक्त यात्रा सुनिश्चित गर्दै यात्रुहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता समेत अध्यक्ष अधिकारीले व्यक्त गरेका छन् । उनले भने, ‘हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले नेपालको पर्यटकीय राजधानी पोखराबाट काठमाडौंका लागि शुरु भएको यो सेवा नेपालकै मात्र नभई एशियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी गरे । प्रतिसवारी साधन करिव २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उनले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड दिए । सिटौलाले अबको यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै महासंघले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हामीले सरकारसँग प्रविधिको स्पष्ट कार्यविधि बनाउन माग गरेका छौँ । संघीय यातायात व्यवस्था विभागमा यसबारे छलफल भइरहेको छ । अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ ।’ उद्घाटन गरिएका बसका चालकहरू ‘पाइलट’ र सहचालकहरू ‘एयर होस्टेस’ को पोसाकमा सुसज्जित हुनुलाई सिटौलाले यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवात भएको बताए। उनले पोसाकसँगै व्यवहारमा पनि उच्च व्यावसायिकता र विनम्रता अपनाउन कर्मचारीहरूलाई आग्रह गरे । साथै, उनले कार्यक्षेत्रमा खटिएका चालक र सहचालकको सुरक्षाको विषयमा राज्य गम्भीर हुनुपर्ने माग राखे । सडक दुर्घटना वा अन्य विवादमा चालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न प्रहरी वा ट्राफिक प्रहरीलाई सरह नै चालक वर्गलाई पनि कानुनी सुरक्षा प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
नाटा अध्यक्षमा भरतजंग पाण्डे विजयी
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटाको) निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । अर्का अध्यक्षकी उम्मेदवार युविका भण्डारीले १५८ र जीस्वन तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरेकी छन्। वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मत, महासचिवमा राजकुमार देवकोटा १५८ मत, सचिवमा रमेश पराजुली १९५ मत, कोषाध्यक्षमा डिकी शेर्पा २०८ मत तथा सहसचिव/सहकोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भएका छन्। त्यस्तै,सदस्यहरूमा स्मरिका थापा, प्रकाश लोहनी, नबिन गुरुङ, दिनेश मैनाली, सुमन लाल श्रेष्ठ, स्वस्तिका प्रधान, सङ्केत दाहाल र बिभाष पौडेल निर्वाचित भएका छन्। शुक्रबार मध्याह्नदेखि नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो। यसअघिको समितिमा अध्यक्ष कुमार मनी थपलियाको नेतृत्वमा समिति रहेको थियो । त्यसैगरी, ५९ औं साधारणसभा सम्पन्न भएको थियो।
'होटलमा ग्यास मौज्दात राख्नु कालोबजारी होइन'
काठमाडौं । होटल संघ नेपालले होटलमा खाना पकाउने एलपी ग्यास मौज्दात राखिएको विषयलाई कालोबजारीसँग जोडेर नहेर्न आग्रह गरेको छ । काठमाडौंस्थित संघको सदस्य पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा ग्यासको मौज्दातबारे सार्वजनिक भएका समाचारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघका अनुसार होटलमा मौज्दात रहेको ग्यास ग्राहक संख्या, बुकिङ तथा मागअनुसार तयार गरिने खानाको किसिम र परिमाणका आधारमा आवश्यक हुने मात्रामा राखिएको हो । त्यसैले यसलाई अस्वाभाविक रूपमा लिन नहुने संघको भनाइ छ । होटलमा ठूलो संख्यामा कर्मचारी तथा कामदार कार्यरत हुने र दैनिक स्वदेशी तथा विदेशी पाहुनालाई बिहानको खाना, दिवा भोजन तथा रात्रिभोजलगायत सेवा दिनुपर्ने हुन्छ । यस्तै, होटलमा सभा, सम्मेलन, गोष्ठी, उत्सव तथा भोजजस्ता ठूला कार्यक्रमसमेत नियमित आयोजना हुने भएकाले अन्य व्यवसायको तुलनामा ग्यासको खपत बढी हुने संघले जनाएको छ । होटलको नियमित सञ्चालन, पाहुनालाई सेवा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक परिमाणमा ग्यास मौज्दात राख्नु स्वाभाविक भएको संघको भनाइ छ । ग्यास मौज्दातलाई मात्र आधार बनाएर कालोबजारीको आशयमा बुझ्नु उचित नहुने संघले स्पष्ट पारेको छ । राज्यका नीति, नियम तथा मापदण्डको पूर्ण पालना गरेर व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा ग्यासलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित हुनुपर्ने संघले जनाएको छ । आपूर्तिको प्रत्याभूति नभई अन्तर्राष्ट्रिय पर्यटकलाई स्तरीय सेवा दिन कठिन हुने संघको भनाइ छ । सरकारी अनुगमनका नाममा एकतर्फी र अव्यवहारिक निर्देशन दिँदा होटलको सेवा प्रवाहमा कठिनाइ उत्पन्न हुनसक्ने संघले चेतावनी दिएको छ । देशकै प्रतिष्ठित होटलको नाम नै किटान गरेर समाचार सार्वजनिक हुँदा नेपालको पर्यटन क्षेत्रको छवि अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक बन्न सक्ने संघले जनाएको छ । अनुगमनका नाममा त्रास र अनिश्चितता नबढाउन सम्बन्धित सरकारी निकायलाई संघले आग्रह गरेको छ । पर्यटन क्षेत्रको सञ्चालन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको भन्दै होटल संघ नेपालले अन्य सरकारी निकायबाट हुने अनुगमनमा समेत मन्त्रालयको जानकारी र समन्वय आवश्यक रहेको जनाएको छ । होटल तथा आतिथ्य उद्योगमा हुने सरकारी अनुगमनमा संघले आवश्यक विशेषज्ञ सेवा उपलब्ध गराउने पनि जनाएको छ । होटल उद्योगको संवेदनशीलता, अत्यावश्यक सेवाको प्रकृति र दैनिक सञ्चालनका व्यावहारिक पक्षलाई ध्यानमा राखेर अनुगमन तथा नियमनका काम समन्वयात्मक, मर्यादित र तथ्यपरक हुनुपर्ने संघको भनाइ छ । अनुगमनका क्रममा देखिएका विषयलाई एकतर्फी रूपमा सञ्चारमाध्यममा प्रस्तुत गर्दा होटल उद्योग तथा व्यवसायीको प्रतिष्ठामा असर पर्नुका साथै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक धारणा बन्न सक्ने संघले जनाएको छ । होटल उद्योगसँग सम्बन्धित विषयमा अन्तरमन्त्रालय, विभाग, सरकारी निकाय तथा सरोकारवाला संघ–संस्थाबीच समन्वय गरी दीर्घकालीन र व्यावहारिक समाधान खोज्न संघ तयार रहेको जनाएको छ । संघले होटलमा राखिएको एलपी ग्यास नाफाका लागि बिक्री वितरण गर्न वा कालोबजारीलाई प्रोत्साहन गर्न नभई व्यावसायिक तथा सेवा प्रयोजनका लागि मात्र भएको स्पष्ट पारेको छ । ठूला अन्तर्राष्ट्रिय ब्रान्डका होटलका भान्सा औद्योगिक प्रकृतिका र विशिष्ट उपयोगका हुने भएकाले त्यसको सञ्चालनसम्बन्धी प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया बुझेर मात्र सरकारी अनुगमन तथा निर्णय गर्न संघले आग्रह गरेको छ ।