काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह पोखराको 'अन्नपूर्ण इको भिलेज' रिसोर्टमा बास बस्न पुगेपछि एकाएक चर्चामा छ । यसअघि सामान्य गेष्ट आउने-जाने रिसोर्टमा हिजोदेखि सञ्जालकको फोनमा घण्टी बजेको बज्यै छ । सञ्चालक विश्व अधिकारीलाई 'प्रधानमन्त्री बसेको रिसोर्ट हाे' भन्दै फोन आउन थालेको छ । उनलाई फोन रिसिभ गर्दागर्दै हैरान भइसक्यो । प्रधानमन्त्री बसेको रिसोर्ट कता पर्छ भनेर सोध्नेको एक्कासि संख्या बढेको उनले बताए ।
हिमाली पद मार्गको प्रसिद्ध रुट भएकाले अन्तर्राष्ट्रिय रुपमा पनि यो रिसोर्ट परिचित छ । अन्नपूर्ण रिसोर्ट मर्दी हिमालको चर्चित ट्रेक रुट पनि हो । यहीँ रुट हुँदै ट्रेकिङमा जाने पर्यटकहरू अन्नपूर्ण इको रिसोर्टमा बास बस्न पुग्छन् । शुक्रबार मुस्ताङ भ्रमणका लगि निस्केका प्रधानमन्त्री शाह कास्कीकाे माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित इको रिसोर्टमा बास बसेका थिए ।
शनिबार बिहान १० बजेसम्म बसेर खाना खाएर मुस्ताङतर्फ लागे । शाह १४ घण्टा रिसोर्टको प्राकृतिक वातावरणमा भुलिए । रिसोर्टबाट अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल मज्जाले देख्न सकिन्छ । कुनै ठूलो शहरको चकाचौंध होइन, हरियालीमा उभिएको पारिवारिक रिसोर्टमा प्रधानमन्त्री शाहले साँझ बिताए ।
सूर्य अस्ताएको सहजै देखिने भएकाले ठाउँको नाम अस्ताम राखिएको रिसोर्ट सञ्चालक अधिकारी बताउँछन् ।

ट्रेकिङ गाइड र पोर्टरका रूपमा काम गर्ने परिवारका सदस्य, बुवा–आमा र भाइहरू मिलेर गाउँकै जमिन, श्रम र आम्दानीलाई विस्तारै पर्यटन व्यवसायमा रूपान्तरण गर्दै रिसोर्ट निर्माण गरिएको अधिकारी सुनाउँछन् । अधिकारीका अनुसार यसको सुरुवात सन् २००३-२००४ देखि सुरु भएको थियो ।
सुरुमा एउटा कोठाबाट सुरु भएको व्यवसाय अहिले २५ कोठासम्म विस्तार भएको छ। अधिकारीले भने, 'यसको सुरुवात ‘गाईगोठ’बाट भएको थियो । आज स्वदेशी, विदेशी देखि प्रधानमन्त्रीलाई बास बस्ने बनायौँ ।'
परिवारको आफ्नै बारीमा पर्यटकलाई खाना खुवाउने, त्यसपछि टेन्ट टाँगेर बसाउने र विस्तारै गाई गोठलाई समेत पर्यटक बस्ने संरचनामा रूपान्तरण गर्ने क्रममा रिसोर्टको अवधारणा अघि बढेको थियो ।
ट्रेकिङ गाइड तथा पोर्टरका रूपमा परिवारका सदस्यले कमाएको पैसा, बुवाको पेन्सन र गाउँको आम्दानीसमेत जोडिँदै जाँदा सानो पारिवारिक प्रयासले ठूलो आकार लिएको छ ।

६० हजारबाट ३० करोडसम्म
स्थानीय पर्यटन र पारिवारिक उद्यमको उदाहरण बनेको ‘अन्नपूर्ण इको भिलेज’ कुनै व्यावसायिक योजना बनाएर ठूलो लगानीबाट सुरु भएको थिएन । अधिकारीले ६० हजारको लगानीबाट सुरु गरेको रिसाेर्ट ३० करोड रुपैयाँ बढी लगानी पुगिसकेको बताए । परिवारका सबै सदस्यले पारिवारिक उद्यमका रूपमा अघि बढाएका छन्। गाउँको एउटा परिवारले ६० हजार रुपैयाँबाट सुरु गरेको सानो प्रयास आज ३० करोड रुपैयाँभन्दा बढी भएको उनको ठहर छ ।
'हामी सात जना परिवारका सदस्यले अहिलेसम्म तलब खाएका छैनौँ,' अधिकारी भन्छन्, 'बुवाको पेन्सनदेखि हामीले ट्रेकिङ र पोर्टर–गाइड गरेर कमाएको पैसा पनि यहीँ लगानी भएको छ।'
उनका अनुसार अन्नपूर्ण इको भिलेज एउटा रिसोर्ट मात्र नभएर गाउँको श्रम, परिवारको बचत र पुस्तादेखि रहेको जमिनलाई पर्यटनसँग जोडेर सिर्जना गरिएको हो ।
३० रोपनीको क्षेत्रफलमा इको भिलेज रिसोर्ट छ। यहाँ भित्र नेपाली कलाकौशलमा आधारित १५ वटा घर निर्माण छन् ।
यस भिलेजलाई ‘इको इनोभेसन’ सेन्टरसमेत बनाइएको छ । जसले गर्दा कृषि र पर्यटनलाई समेत जोडिएको छ । यहाँ गाउँलाई इको इनोभेसन सेन्टर बनाइएको अधिकारीले बताए । ‘यहाँको वातावरण तथा जीवनशैली हेर्न विभिन्न मुलुकबाट विदेशीहरू आउँछन्,’ उनले भने ।

पर्यटक खोज्न विज्ञापन चाहिँदैन
रिसोर्टको अर्को विशेषता ग्राहक हो । उनले स्थापना भएदेखि नै रिसोर्टमा पर्यटकको अभाव महसुस गर्नु नपरेको र कोभिडको समयमा समेत पाहुना बसेको बताए।
रिसोर्टमा विदेशी पर्यटकको बसाइ लामो हुने गरेको छ। कतिपय पर्यटक करिब दुई सातासम्म बस्ने गरेको र अग्रिम बुकिङ बिना सहजै कोठा पाउन मुस्किल हुने अधिकारीको भनाइ छ।
'यहाँ आएर बस्न एक साता अगाडि कोठा बुक गर्नुपर्छ । यसै घुम्न आएको भरमा कोठा पाइदैन,' उनले भने । हामीलाई गेस्ट कहाँबाट खोज्नुपर्छ भन्ने भएन, गेस्टहरूले नै हाम्रो प्रचार गरिदिनु भएको छ ।'
कोभिड-१९ को समयमा बुक गरेका विदेशी पाहुनाहरू भर्खर आउन थालेको अधिकारीले जानकारी दिए ।
रिसोर्टमा २५ वटा कोठा छन् । डबल बेड रुमको मूल्य करिब ५ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म पर्छ। खाना र बसाइ जोड्दा दुई जनाका लागि दैनिक करिब १० देखि १२ हजार रुपैयाँ खर्च हुने उनको भनाइ छ ।

प्रधानमन्त्री बस्न तीन ब्लक प्रयोग
प्रधानमन्त्री शाहको टोलीमा करिब ५–६ जना थिए । सुरक्षा व्यवस्थापनका लागि थप सुरक्षाकर्मीसमेत परिचालित थिए। सुरक्षाकर्मी ३० जना थिए ।
प्रधानमन्त्रीसहितको टोलीले रिसोर्टका तीनवटा ब्लक प्रयोग गरेको थियो। शाहले रिसोर्टमै खाना खाए भने स्थानीय उत्पादनबाट तयार गरिएको अर्गानिक कफी र ‘इको टी’ समेत सेवन गरेको अधिकारी बताउँछन् ।
प्रधानमन्त्री शाह आउँदा रिसोर्टमा अन्य पाहुना पनि थिए। प्रधानमन्त्री आए भन्दैमा अन्य पर्यटकलाई हटाउनुपर्ने अवस्था नआएको उनको भनाइ छ । प्रधानमन्त्रीसँगै करिब १५ जना अन्य पाहुना पनि रिसोर्टमा बसिरहेको उनले बताए।
'प्रधानमन्त्री आउँदा गौरव लाग्यो'
अधिकारीले प्रधानमन्त्री शाह यसअघि पनि पोखरा आउँदा उक्त रिसोर्टमा आउने गरेको बताए । तर यसपटक भने प्रधानमन्त्रीको हैसियतमा यहाँ बसेको उनले बताए ।
‘हिजोका दिनमा पनि यहाँ आउनुहुन्थ्यो, तर प्रधानमन्त्रीको हैसियतमा आउनु भएको थिएन । प्रधानमन्त्रीको हैसियतमा आएर बस्नु भएकोमा हामीलाई गौरव लागेको छ,' उनले अगाडि भने।
रिसोर्टमा प्रधानमन्त्रीसँग पारिवारिक वातावरणमै कुराकानी भएको पनि अधिकारीले सुनाए । प्रधानमन्त्री शाहले आत्मीय रूपमा ‘अंकल’ भनेर सम्बोधन गरेको उनको भनाइ छ । कसैले पनि फोटो भिडियो खिचिएन । प्राकृतिक वातावरणमा पारिवारिक गफ भएको उनले जानकारी दिए ।
कुराकानीका क्रममा स्थानीय पर्यटन, कृषि र वातावरणमैत्री विकासका विषयमा छलफल भएको थियो। अधिकारीले माछापुच्छ्रे गाउँपालिकालाई ‘अर्गानिक जोन’ तथा ‘इको–टुरिजम जोन’का रूपमा विकास गर्न आवश्यक नीति निर्माण गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

पानीमा पनि वातावरणीय चेतना
अन्नपूर्ण इको भिलेजको अर्को पहिचान वातावरणमैत्री अवधारणा हो। रिसोर्टले वर्षाको पानी संकलन गरेर प्रयोग गर्दै आएको छ। सञ्चालकका अनुसार करिब ३ देखि ४ लाख लिटर वर्षाको पानी भूमिगत ट्यांकीमा संकलन गर्ने क्षमता विकास गरिएको छ।
रिसोर्टमा मिनरल वाटर र प्लास्टिक बोतल बिक्री हुँदैन । पानी शुद्धीकरणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)बाट प्राप्त प्राविधिक ज्ञान प्रयोग भइरहेको सञ्चालक अधिकारी बताउँछन्।
अधिकारीका अनुसार लेकसाइडमा व्यवसाय सञ्चालन गर्दा मात्रै करिब २० लाख प्लास्टिक बोतलको प्रयोग घटाउन सफल भएका थिए। अहिले गाउँमै पुनः भर्न मिल्ने पानीको अवधारणालाई निरन्तरता दिइएको छ।
खानपानमा समेत स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ। गाउँकै तरकारी, स्थानीय परिकार र आफ्नै क्षेत्रको कफीलाई रिसोर्टको पहिचान बनाउने प्रयास गरिएको छ।
‘गाउँले प्रधानमन्त्री बस्ने ठाउँ बनाउन सक्छ’
अस्तामको यस रिसोर्टले एउटा सामान्य परिवारले प्रधानमन्त्रीलाई स्वागत र बास बस्न सक्ने बनाउँदो रहेछ भन्ने विश्वास पैदा भएको अधिकारी बताउँछन्। 'आर्थिक यात्रालाई मात्र प्रतिनिधित्व गर्दैन, गाउँमै बसेर पर्यटन व्यवसायमार्फत सम्भावना सिर्जना गर्न सकिन्छ,' उनी दृढ सुनिए ।
‘सबैभन्दा ठूलो उपलब्धि गाउँको सामान्य परिवारले आफ्नो श्रम, जमिन र सीपलाई जोडेर प्रधानमन्त्रीसमेत बस्न सक्ने स्तरको पर्यटन गन्तव्य निर्माण गर्न सक्छ,’ उनी उत्साहित हुँदै भन्छन्,' मानिसमा चाहना र इच्छाशक्ति हुनुपरो । निरन्तरताको मेहनत र प्रकृति जोगाउने अभियानले आज हामी यो ठाउँमा छौ ।'
पोखराको लेकसाइडबाट करिब आधा घण्टाको दूरीमा रहेको अस्ताम मर्दी हिमाल पदमार्गसँग समेत जोडिएको छ। यहाँबाट सूर्योदय र सूर्यास्तका साथै अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।
अधिकारीका अनुसार पर्यटकहरू स्थानीय जीवनशैली, जैविक खाना र प्रकृतिसँग नजिक हुने अनुभव खोजिरहेका छन्। पर्यटकीय रुचिलाई अस्तामको अन्नपूर्ण इको भिलेजले गाउँकै शैलीमा समेट्ने प्रयास गरेको छ।
