विश्वकै ठूलो २२ फिटको शालिग्राम शीलाले बढायो धार्मिक पर्यटकको आकर्षण

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो । घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सहभागी ३६ भन्दा बढी मूर्तिकारले कालिगण्डकी नदीको तटमा रहेका विशाल ढुङ्गालाई विभिन्न स्वरूपका मूर्तिमा रूपान्तरण गरेका थिए । मूर्तिकारहरूले जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा जैविक विविधतालाई समेट्दै कालिगण्डकी नदीका डेढ दर्जन ढुङ्गालाई कलात्मक मूर्तिका रूपमा प्रस्तुत गरेका थिए ।  मूर्तिकारहरूले कार्यशालाका क्रममा कालिगण्डकी नदी किनारका ढुङ्गामा शालिग्राम शीला, भगवान् महादेव, पार्वती, विष्णु, बुद्ध, हिमचितुवा, हिमाली भेँडा, बौद्ध स्तूप, माने, छोर्तेनलगायत सम्पदाका कलात्मक मूर्ति सिर्जना गरेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार मूर्तिकारद्वारा कुँदिएका डेढ दर्जन मूर्तिमध्ये अहिले सबैको ध्यान विश्वकै ठूलो आकारको शालिग्राम शीलातर्फ तानिएको छ । घरपझोङ गाउँपालिकाले उक्त शालिग्राम शीलाको प्राणप्रतिष्ठा गरेसँगै धार्मिक पर्यटकको चहलपहल बढेको अध्यक्ष लालचनले बताए । उनका अनुसार कालिगण्डकी नदीछेउको विशाल ढुङ्गामा कुँदिएको उक्त मूर्तिको भारतको कर्नाटक राज्यस्थित शृङ्गेश्री शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी विधुशेखर भारती महाराजले विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा गरेका हुन् । भारतीय स्वामी महाराजबाट कालिगण्डकी नदीमा निर्मित शालिग्राम शीलाको गत जेठको पहिलो साता विभिन्न धार्मिक स्वामीहरूको उपस्थितिमा प्राणप्रतिष्ठा गरिएको थियो । अहिले मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने स्वदेशी तथा विदेशी धार्मिक पर्यटकका लागि यो मूर्ति आस्थाको केन्द्र बन्दै गएको उनले बताए । घरपझोङ गाउँपालिका(४, जोमसोमका कार्यपालिका सदस्य भीषण थकालीका अनुसार शालिग्राम शीलाको प्राणप्रतिष्ठापछि दैनिक एक सयभन्दा बढी दर्शनार्थीले उक्त शीलाको दर्शन तथा अवलोकन गर्ने गरेका छन् । विशेषगरी मुक्तिनाथ दर्शन गर्न आएका भारतीय दर्शनार्थीको यहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको उनको भनाइ छ । उक्त शीलाको प्राणप्रतिष्ठापछि विश्वकै ठूलो आकारको शालिग्राम दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढेसँगै सदरमुकाम जोमसोममा पर्यटकको बसाइँसमेत लम्बिन थालेको कार्यपालिका सदस्य थकालीले बताए । उनका अनुसार गाउँपालिकाले उक्त स्थानलाई घेराबार गरी शालिग्राम पार्क निर्माण गर्ने योजना बनाएको छ । उक्त शालिग्राम पार्कमा दर्शनार्थीलाई सहज हुने गरी गोरेटो बाटो निर्माण गर्नुका साथै मूर्तिकारहरूले कुँदेका अन्य मूर्तिसमेत सोही स्थानमा स्थापना गरिने कार्यपालिका सदस्य थकालीले बताए ।  भारतको मुम्बईबाट मुक्तिनाथ दर्शन गरी फर्किएकी जेनिशा जेनले जीवनमा पहिलोपटक यति ठूलो आकारको शालिग्रामको दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे । भगवान् विष्णुको स्वरूपसहित अन्य मूर्तिको महत्व धार्मिक आस्था र विश्वाससँग जोडिएको उहाँले उल्लेख गरे । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने पर्यटकका लागि शालिग्राम शीला यहाँको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष लालचनले बताए । मुस्ताङ सदरमुकाम जोमसोम बजारसँग जोडिएको कालिगण्डकी नदीको तटमा अवस्थित शालिग्राम शीला, नीलगिरि हिमाल र धौलागिरि हिमालको मनमोहक दृश्यले शालिग्राम शीला पार्क पुगेका धार्मिक पर्यटकलाई मोहित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

एक वर्षमै ओशो वर्ल्ड ट्राभलले बेच्यो १० अर्बको हवाई टिकट

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको ओशो वर्ल्ड ट्राभल नेपाल प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै १० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले उक्त अवधिमा ९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २.८० प्रतिशत अर्थात् २३ करोड १० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो । पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८७ करोड रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ९३ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ३ अर्ब ६४ करोड २० लाख रुपैयाँ बराबरको हवाई टिकेट बिक्री गरेको थियो । सन् १९९१ नोभेम्बरमा स्थापना भएको ओशो वर्ल्ड ट्राभल नेपालका पुराना अन्तर्राष्ट्रिय हवाई टिकटिङ कम्पनी एक हो । अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त कम्पनीले नेपाल एयरलाइन्स, थाई एयरवेज, गल्फ एयर, एतिहाद एयरवेज, कतार एयरवेज, ओमान एयर, एयर अरेबिया, एयर इन्डियालगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको कम्पनीमा प्रबन्ध निर्देशक श्यामराज थपलियाको ९० प्रतिशत तथा उनकी श्रीमती राखी थपलियाको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । तीन दशकभन्दा लामो अनुभव र स्थापित एजेन्सी सञ्जालका कारण कम्पनीले नेपाली बजारमा राम्रो पहिचान बनाएको दाबी गरेको छ ।  यद्यपि कारोबार बढ्दै गए पनि कम्पनीको नाफा मार्जिन भने निकै न्यून छ । गत आर्थिक वर्ष सञ्चालन नाफा मार्जिन करिब ०.५ प्रतिशत मात्र रहेको कम्पनीले जनाएको छ । हवाई टिकटिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा र कम कमिसनका कारण नाफा सीमित भएको कम्पनीको भनाइ छ । कार्यशील पुँजी व्यवस्थापन पनि कम्पनीका लागि चुनौतीपूर्ण बनेको छ । ग्राहकबाट भुक्तानी उठाउन औसत ३० दिन लाग्ने गरेको छ भने एयरलाइन्स तथा अन्य आपूर्तिकर्तालाई औसत १५ दिनभित्रै भुक्तानी गर्नुपर्ने भएकाले नगद प्रवाहमा दबाब परेको कम्पनीले जनाएको छ । यही कारण कम्पनी कार्यशील पुँजीका लागि बैंक ऋणमा निर्भर छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २० करोड २५ लाख रुपैयाँ ऋण लिएको छ। यसमध्ये १३ करोड २५ लाख रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ७ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । गत आर्थिक वर्ष कम्पनीको कुल ऋण तथा खुद सम्पत्ति अनुपात २.७ गुणा र कुल बाह्य दायित्व तथा खुद सम्पत्ति अनुपात ५.७ गुणा पुगेको छ । सञ्चालन नाफाको तुलनामा ऋणको भार उच्च रहेकाले ऋण भुक्तानी क्षमता पनि सीमित छ । यद्यपि यो अनुपात अघिल्लो वर्षको ०.९ गुणाबाट बढेर गत वर्ष १.१ गुणा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हवाई टिकटिङ व्यवसायमा नाफाको मार्जिन स्वाभाविक रूपमा कम हुने भएकाले कार्यशील पुँजीको प्रभावकारी व्यवस्थापन र प्राप्य रकम (रिसिभेबल) नियन्त्रण वित्तीय सुधारका लागि महत्वपूर्ण रहनेछ । कम्पनीले आफ्नो व्यवसाय पर्यटन तथा हवाई यात्रा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित भएकाले विभिन्न बाह्य जोखिमप्रति संवेदनशील रहेको जनाएको छ । मौसमी माग, आर्थिक मन्दी, यात्रु आवागमनमा आउने उतारचढाव तथा पर्यटन गतिविधिमा आउने सुस्तताले कम्पनीको कारोबार र आम्दानीमा प्रत्यक्ष असर पार्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, कोभिड-१९ जस्ता विश्वव्यापी महामारी, भूराजनीतिक तनाव, सरकारी नीतिगत तथा नियामकीय परिवर्तनलगायतका बाह्य घटनाक्रमले पनि ट्राभल तथा हवाई टिकटिङ व्यवसायलाई प्रभावित पार्न सक्ने कम्पनीको भनाइ छ । यद्यपि, दीर्घकालीन रूपमा व्यवसायको सम्भावना भने सकारात्मक रहेको कम्पनीको विश्वास छ । नेपालमा पर्यटन क्षेत्रको उच्च सम्भावना, अध्ययन, रोजगारी तथा भ्रमणका लागि विदेश जाने नेपालीको बढ्दो संख्या र पर्यटन प्रवद्र्धनमा सरकारको प्राथमिकताले अन्तर्राष्ट्रिय हवाई टिकटिङ तथा ट्राभल सेवाको माग अझ विस्तार हुने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अघि सारेका विभिन्न नीति तथा कार्यक्रमले समग्र ट्राभल तथा पर्यटन व्यवसायलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ । पर्यटन गतिविधि विस्तारसँगै यस क्षेत्रमा आबद्ध कम्पनीहरूको व्यवसाय वृद्धि हुने सम्भावना पनि सकारात्मक रहेको कम्पनीले जनाएको छ । 

होटल संघ नेपाल–बागमती प्रदेशको तदर्थ अध्यक्षमा राम सुन्दर बके

काठमाडौं । होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ । संघको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको हाे । संघले बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ । हानको विधान तथा कार्यविधिअनुसार बागमती प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली संघको सचिवालयमा उपलब्ध गराउन पनि पत्रमार्फत अनुरोध गरेको छ । त्यस्तै प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा संघको सुदृढीकरणमा बकेज्युको नेतृत्वले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा हानले गरेको छ ।