अगस्टमा नेपालमा ८५ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा केही कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक सार्वजनिक गर्दै अगस्टमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएको जनाएको छ । तथ्यांकअनुसार अगस्टमा भारतबाट २६ हजार ३७३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल आएका छन् । गत वर्षको अगस्टमा चीनबाट ७ हजार ५३३ जना पर्यटक आएकोमा यस वर्ष ३६.७८ प्रतिशत वृद्धि भएको बोर्डले जनाएको छ । त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ४६.२४ प्रतिशत बढी हो । अमेरिकाबाट ६ हजार २९३ जना, बंगलादेशबाट ४ हजार ४८७ जना र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल आएका छन् । क्षेत्रगत रूपमा हेर्दा अगस्टमा दक्षिण एसियाबाट ४१ हजार ४२२ जना पर्यटक नेपाल आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना, युरोपबाट १० हजार ८७५ जना र ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक आएका छन् । ओसियानियाबाट आउने पर्यटक संख्या गत वर्षको तुलनामा ३.८६ प्रतिशत बढेको छ । त्यस्तै, अमेरिकी महादेशबाट ७ हजार ४७३ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना पर्यटक आएका छन् भने यो क्षेत्रमा ६.९९ प्रतिशत वृद्धि भएको छ। अफ्रिकाबाट ३३८ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२६ मा केही प्रमुख बजारबाट पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना पर्यटक आएका छन्, जहाँबाट आगमन ८३.०५ प्रतिशत बढेको छ । त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्। यो संख्या गत वर्षको तुलनामा २७७.७८ प्रतिशत बढी हो । भुटानबाट १ हजार २८८ जना पर्यटक नेपाल आएका छन्, जहाँबाट आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन् । यी दुई बजारबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।
‘विपदमा व्यापारभन्दा पहिले मानवता’
गत हप्ता नेपालमा आएको विपत्ति निकै दुःखद् स्थिति हो । तर, यसमा कसैको दोष छैन । यस्ता प्राकृतिक विपत्तिमाथि कसैको नियन्त्रण हुँदैन । यस्तो अवस्थामा राज्य, निजी क्षेत्र र सम्बद्ध सबै सरोकारवालाको एउटै प्राथमिकता हुनुपर्छ- स्थिति कसरी सामान्य बनाउने र प्रभावितको कसरी उद्धार गर्ने भन्ने । अहिले हामी त्यसैमा केन्द्रित भएर काम गरिरहेका छौं । विभिन्न तह, निकाय र क्षेत्रमा उद्धार तथा व्यवस्थापनका काम भइरहेका छन् । जे हुनु भइसक्यो । अहिले कतिले ज्यान गुमाइसकेका छन्, कति हराइरहेका छन् र कति कहाँ, कुन अवस्थामा छन् भन्ने यकिन गर्नुपर्ने अवस्था छ । धनजनमा ठूलो क्षति पुगेको छ । यस्तो अवस्थामा संसारभरको अभ्यास हेर्दा पनि मुख्य कुरा भनेको घटना घटिसकेपछि त्यसलाई कसरी प्रभावकारी रूपमा व्यवस्थापन गर्ने भन्ने हो । अहिले हाम्रो प्राथमिकता पनि यही हुनुपर्छ । बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउँदै जनजीवनलाई सकेसम्म चाँडो सामान्य अवस्थामा फर्काउने भन्ने अहिलेको प्राथमिकता हुनुपर्छ । विपद्का बेला सबैभन्दा ठूलो अभाव सूचनाकै हुन्छ । को कहाँ छ र कुन अवस्थामा छ भन्ने जानकारी नहुँदा आफन्त तथा विदेशी पर्यटकका एजेन्सीहरू चिन्तित छन् । यही विषयलाई ध्यानमा राखेर नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन प्रहरी र निजी क्षेत्रको सहकार्यमा रेस्क्यु सेल गठन गरी सूचना आदानप्रदान तथा उद्धारको काम भइरहेको छ । अहिले यहाँबाट पनि आफ्ना आफन्त सम्पर्क विहीन भएकाहरूले बुझ्न आउन सक्नुहुन्छ । आफ्नो आफन्तबारे जानकारी लिन नेपालीहरू पनि ठूलो संख्यामा आइरहनुभएको छ । उहाँहरूलाई सकेसम्म छिटो र सहज रूपमा सही सूचना दिनुपर्छ । साथै उहाँहरूलाई हामीले आश्वस्त पार्नुपर्छ कि उहाँहरूका आफन्तको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक काम गरिरहेको छ । राज्यले सकेको प्रयास के गरिरहेको छ । राज्यले विपद् व्यवस्थापनका लागि के–कस्ता काम भइरहेका छन् भन्नेबारे पनि जानकारी दिनुपर्छ । राज्यका सबै संयन्त्र र सुरक्षा फोर्स उद्धार तथा व्यवस्थापनमा परिचालित छन् । विपद्का कारण ठूलो धनजनको क्षति भएको छ । त्यसको वास्तविक अवस्था के हो भन्ने कुरा पनि स्पष्ट रूपमा बाहिर ल्याउन आवश्यक छ । अहिले नेपालमा पर्यटक आउने मुख्य सिजन हो । विपद्बाट रसुवा, नुवाकोट र धादिङ बढी प्रभावित भएका छन् । भोटेकोसी नदी आसपासको क्षेत्र मात्रै बढी प्रभावित भएको हो । देशका अन्य पर्यटकीय क्षेत्र धेरै हदसम्म सुरक्षित र सामान्य अवस्थामा छन् । काठमाडौं पनि सामान्य अवस्थामै छ । तर बाहिरबाट हेर्दा पूरै नेपाल प्रभावित भएको जस्तो सन्देश गइरहेको छ । त्यसले नेपाल भ्रमण गर्नै नहुने अवस्था आएको भन्ने धारणा बन्न थालेको छ । अहिले प्रभावित क्षेत्रको वास्तविक अवस्था र अन्य पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको तथ्य अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक छ । राज्य, निजी क्षेत्र र नेपाली दूतावासहरूले अहिलेको वास्तविक अवस्था त्यस्तो छैन भनेर स्पष्ट रूपमा भन्न सक्नुपर्छ । विपद् आएको पाँच दिन भइसकेको छ । अब हाम्रो ध्यान प्रभावित क्षेत्रको अवस्था कसरी सामान्य बनाउने र जनजीवनलाई कसरी सहज बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ । अहिलेको अवस्थामा पर्यटकलाई बोलाएर मात्रै हुँदैन । व्यवसाय भनेको पैसा कमाउने कुरा मात्रै होइन, यो मानवता र हाम्रो देशको छविसँग पनि जोडिएको विषय हो । हामीले वास्तविक अवस्था बताए पनि, नबताए पनि अहिलेको समयमा संसार यति सानो भइसकेको छ कि सूचना तत्काल सामाजिक सञ्जालमा पुग्छ । एउटा ठूलो घटना भइसकेपछि त्यसको प्रभाव र समाचार विश्वभर फैलिन धेरै समय लाग्दैन । त्यसैले वास्तविक अवस्था लुकाउनेभन्दा पनि सही सूचना प्रवाह गर्दै पर्यटकलाई विश्वासमा लिनुपर्छ । नेपालमा नियमित रूपमा पर्यटक पठाउने ठूला–ठूला ट्राभल एजेन्टहरू छन् । उनीहरूले पनि नेपालको वस्तुस्थितिबारे स्पष्ट जानकारी दिनुपर्छ । बाटो अवरुद्ध छ भने बाटो अवरुद्ध छ भनेर नै भन्नुपर्छ । हामीले उनीहरूलाई वास्तविक अवस्था बताइरहेका छौं । नेपाल आउने वा नआउने निर्णय गर्ने अधिकार भने उनीहरूकै हो । हामीले व्यवसायलाई मात्रै हेर्नु हुँदैन । पर्यटक यहाँ आएर बाटोमै अलपत्र पर्नुभयो भने त्यसले झन् ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले नेपालको छवि बिग्रन नदिने विषयमा हामी स्पष्ट छौं । अहिले पनि नेपाल आउन खोजिरहेका केही पर्यटक समूहहरू छन् । उनीहरू अहिले ‘वेट एन्ड सी’ को अवस्थामा छन् । परिस्थिति कसरी अघि बढ्छ भनेर हेरिरहेका छन् । विपद्का कारण कति जनाको मृत्यु भयो, कति बेपत्ता छन् र कति क्षति पुगेको छ भन्ने यकिन तथ्यांक अझै आइसकेको छैन । तर, हामीले उपलब्ध सूचनालाई यथार्थपरक र सकेसम्म छिटो प्रवाह गर्नुपर्छ । आउने वा नआउने निर्णय भने उनीहरूले नै गर्ने हो । नेपालमा यस्ता प्राकृतिक विपद्का घटना विगतमा पनि घट्दै आएका छन् । त्यसैले अहिलेको अवस्थालाई सही ढंगले व्यवस्थापन गर्दै वास्तविक सूचना प्रवाह गर्नु नै हाम्रो प्राथमिकता हुनुपर्छ । हामी त्यसैमा लागिरहेका छौं । अहिले विपद्को यो घडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग पनि आइरहेको छ । उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्दै सकेसम्म राम्रो व्यवस्थापन गर्ने हाम्रो प्रयास गर्नुपर्छ । अब नेपाल आउन चाहने पर्यटकहरूले यहाँ आएपछि जुन उद्देश्यका लागि आएका हुन्, त्यो सहज रूपमा पूरा गर्न सकून् भन्ने नै हाम्रो चाहना हो । अहिले हराइरहेका पर्यटकहरू पनि प्रायः ट्राभल एजेन्सीमार्फत नेपाल आएका हुन्छन् । उनीहरू व्यक्तिगत रूपमा मात्रै यात्रा गरिरहेका हुँदैनन्, कुनै न कुनै एजेन्सीमार्फत आएका हुनसक्छन् । त्यसैले पर्यटकको खोजी तथा उद्धारमा निजी क्षेत्र पनि सक्रिय रूपमा लागिरहेको छ । जे हुनु भइसक्यो । अब डराएर वा आत्तिएर बस्ने होइन । अहिलेको परिस्थितिमा के गर्दा राम्रो हुन्छ र प्रभावित तथा पर्यटकलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा ध्यान दिनु नै हाम्रो दायित्व हो । रसुवामा विपद् आएको क्षेत्र अहिले जान पनि गाह्रो छ । तर, नेपालका बाँकी पर्यटकीय गन्तव्यमा जान समस्या छैन । काठमाडौं आउन पनि समस्या छैन, चितवन र पोखरा जान पनि त्यति समस्या छैन । अहिले केही ठाउँमा सडकको समस्या छ, तर त्यसका विकल्पहरू पनि छन् । नेपालमा अहिलेको वास्तविक अवस्था के छ भन्ने कुरा हामीले वस्तुपरक ढंगले स्पष्ट रूपमा बताउनुपर्छ । हाम्रो जिम्मेवारी नै सही सूचना दिनु हो । कुनै कुरा लुकाउनु हुँदैन । यहाँ सबै कुरा राम्रो छ भनेर भन्यौं, तर पर्यटक आएर वास्तविकता खोज्दा समस्या देखिएमा हामीले झुटो बोलेको ठहरिन्छ । त्यसैले जहाँ समस्या छ त्यहाँको अवस्था पनि स्पष्ट रूपमा जानकारी गराउनुपर्छ । (होटल संघ नेपाल (हान) का अध्यक्ष शाहसँग गरेको कुराकानीमा आधारित )
बाजेको सेकुवाको आम्दानी साढे ४५ करोड, विदेशसहित २६ शाखा विस्तार
काठमाडौं । बाजेको सेकुवा लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ४५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६० प्रतिशत अर्थात् ५ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । आफ्नै स्वामित्वमा सञ्चालित शाखाबाट भएको कारोबार, साझेदारीमा आधारित शाखा सञ्जालको विस्तार तथा साझेदार शाखाबाट प्राप्त शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र आम्दानी बढेको जनाएको छ । स्थापित ब्रान्ड पहिचान, भौगोलिक क्षेत्रमा बढ्दो पहुँच तथा नेपालमा व्यवस्थित भोजनालयप्रतिको बढ्दो आकर्षणले पनि आम्दानी वृद्धिमा सहयोग गरेको कम्पनीको भनाइ छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३३ करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला वर्षमा कम्पनीको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । सन् २००९ नोभेम्बरमा स्थापना भएको बाजेको सेकुवाले विभिन्न स्वाद र रुचिलाई लक्षित गर्दै दुई सयभन्दा बढी परिकार उपलब्ध गराउँदै आएको छ । परम्परागत नेपाली सेकुवा परिकार बिक्री गर्ने एउटा भोजनालयबाट सुरु भएको कम्पनी संस्थापक परिवारको मार्गदर्शनमा विस्तार हुँदै देशकै परिचित रेस्टुरेन्ट शृंखलामध्ये एक बनेको छ । बाजेको सेकुवा सञ्चालक समितिको अध्यक्षमा चेतनाथ भण्डारी रहेका छन् । उनले बाजेको सेकुवाको नेतृत्वसँगै सवारीसाधन, खुद्रा व्यापार, सूचना प्रविधि तथा घरजग्गालगायत विभिन्न क्षेत्रमा रहेका व्यवसायको समेत अध्यक्षता गर्दै आएका छन् । कम्पनीकी प्रबन्ध निर्देशक नितिमा भण्डारी रहेकी छिन् । उनी बैष्णो इन्टरप्राइजेज प्रालि, अमेरिकास्थित बाजेको सेकुवा एलएलसी तथा चेनी क्यापिटल प्रालिलगायत विभिन्न व्यावसायिक संस्थाकी संस्थापक तथा सञ्चालकसमेत हुन् । हाल बाजेको सेकुवाका कुल २६ वटा शाखा सञ्चालनमा रहेका छन् । तीमध्ये २० वटा शाखा साझेदारीमा आधारित सञ्चालन प्रणालीअन्तर्गत छन् भने ६ वटा शाखा कम्पनीको आफ्नै स्वामित्वमा सञ्चालन भइरहेका छन् । यसअनुसार कुल शाखामध्ये करिब ७७ प्रतिशत साझेदारीमा र २३ प्रतिशत कम्पनीको प्रत्यक्ष स्वामित्वमा रहेका छन् । विदेशमा सञ्चालनमा रहेका सबै ६ वटा शाखा साझेदारी प्रणालीमार्फत सञ्चालन भइरहेका छन् । कम पुँजीमा तीव्र रूपमा नयाँ बजारमा विस्तार गर्न साझेदारी प्रणालीलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । साथै, रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा आफ्नै स्वामित्वका शाखा सञ्चालन गरी बजारमा बलियो उपस्थिति कायम गर्ने नीति कम्पनीले लिएको छ । खाद्य व्यवसायको प्रकृतिका कारण कम्पनीले ताजा मासु, मसला तथा छिट्टै बिग्रन सक्ने अन्य खाद्य सामग्रीको पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ । खानाको गुणस्तर र परिकारको स्वादमा एकरूपता कायम गर्न कम्पनीले सामान्यतः एकदेखि दुई महिनासम्मको खाद्य सामग्री मौज्दात राख्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको मौज्दात राख्ने अवधि ४० दिन रहेको थियो भने अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ३६ दिन थियो । कम्पनीले अधिकांश कच्चा पदार्थ विभिन्न आपूर्तिकर्ता तथा वितरकमार्फत खरिद गर्दै आएको छ । त्यस्ता आपूर्तिकर्ताबाट सामान्यतः एकदेखि दुई महिनासम्मको उधारो सुविधा प्राप्त गर्ने गरेको छ । कम्पनीको खुद सञ्चालन चक्र गत आर्थिक वर्षमा १७ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो चक्र २ दिन मात्र रहेको थियो । शाखा सञ्जाल विस्तार हुँदै जाँदा आपूर्ति व्यवस्थापन, केन्द्रीकृत खाद्य प्रशोधन तथा वितरण सुविधामा थप लगानी आवश्यक पर्ने भएकाले आगामी दिनमा चालु पुँजीको आवश्यकता बढ्न सक्ने देखिएको छ । बढ्दो प्रतिस्पर्धा चुनौती बाजेको सेकुवा नेपालमा अत्यधिक प्रतिस्पर्धात्मक तथा धेरै साना व्यवसाय रहेको रेस्टुरेन्ट क्षेत्रमा सञ्चालन हुँदै आएको छ । पछिल्ला वर्षमा बहुराष्ट्रिय छिटो सेवा दिने रेस्टुरेन्ट तथा स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारसँगै प्रतिस्पर्धा थप तीव्र बनेको छ । केएफसी, पिज्जा हट तथा डोमिनोजजस्ता बहुराष्ट्रिय रेस्टुरेन्टका साथै बर्गर हाउस, चिकेन स्टेसनलगायत स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारले बजारमा प्रतिस्पर्धात्मक दबाब बढाएको छ । यस्ता व्यवसायसँग पर्याप्त वित्तीय स्रोत, व्यवस्थित आपूर्ति प्रणाली तथा प्रभावकारी प्रचारप्रसारको क्षमता रहेकाले उनीहरूले छोटो समयमा बजार हिस्सा विस्तार गर्न सक्ने अवस्था रहेको जनाएको छ । त्यस्तै, साना भोजनालय, स्थानीय खाजा पसल तथा सडकमा खाना बिक्री गर्ने व्यवसायले समेत कम मूल्यमा परिकार उपलब्ध गराउँदै आएका छन् । यसले मूल्यप्रति संवेदनशील ग्राहकलाई आकर्षित गर्ने भएकाले बाजेको सेकुवामाथि थप प्रतिस्पर्धात्मक दबाब परेको छ । बहुराष्ट्रिय तथा संगठित रेस्टुरेन्ट शृंखलासँगै साना तथा असंगठित भोजन व्यवसायबाट समेत प्रतिस्पर्धा बढेकाले कम्पनीको मूल्य निर्धारण क्षमतामा केही सीमा देखिएको छ । विशेषगरी कच्चा पदार्थ तथा अन्य सञ्चालन सामग्रीको मूल्य बढ्दा त्यसको सम्पूर्ण भार तत्काल ग्राहकमा सार्न नसक्दा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ । कच्चा पदार्थको मूल्यमा हुने उतारचढावसँगै ब्याजदरमा हुने परिवर्तन पनि कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ । कम्पनीको ऋणको ब्याजदर परिवर्तनशील प्रकृतिको रहेकाले बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर बढ्दा कम्पनीको ब्याज खर्चसमेत बढ्न सक्छ । यसले आगामी दिनमा कम्पनीको नाफा तथा तरलतामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।