पर्यटन प्रवर्द्धनमा सरकार, होटल व्यवसायीको चिन्ता हट्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धनलाई तीव्र गतिमा अघि बढाइएकाले होटल व्यवसायीहरूले लामो समयदेखि व्यक्त गर्दै आएको चिन्ता अव हट्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री साहको निजी सचिवालयले दिएको जानकारी अनुसार व्यवसायीहरूलाई कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन समेत आग्रह गरे । प्रधानमन्त्रीले पर्यटन विकासका लागि सार्वजनिक निजी साझेदारी पीपीपी मोडेल अपनाएर गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरेको सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलको उपस्थितिमा भएको छलफलमा होटल संघ नेपालले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएको छ । हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको उल्लेख गर्दै संघले पर्यटक आगमन वृद्धि भए होटल उद्योगले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने र नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको प्रधानमन्त्री साहको सचिवालयले जनाएको छ । छलफलमा व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह डेस्टिनेसन र सीमा–पार क्रस–बोर्डर पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सरकार समक्ष विभिन्न नीतिगत सुधारका माग राखेका छन् । उनीहरूले होटल उद्योगलाई अन्य उत्पादन मूलक उद्योगसरह विद्युत महसुलमा सहुलियत उपलब्ध गराउन, २५ वेडसम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्याङ्कन आईईईको सीमा ५० वेडसम्म पु¥याउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल एयरलाइन्सको सेवा विस्तार र गुणस्तर सुधार गर्न पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोग बापतको रोयल्टी वा शुल्क कुल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था संशोधन गरी आपसी सहमतिमा शुल्क निर्धारण गर्न पनि व्यवसायीहरूले माग गरेका छन् । प्रधानमन्त्री साहको सचिवालयका अनुसार  होटल व्यवसायसँग सम्बन्धित कानुनहरूको पुनरावलोकन गर्नुपर्ने तथा डेस्टिनेसन वेडिङका लागि गरगहना आयातको प्रक्रिया सहज बनाउनुपर्ने माग पनि संघले अघि सारेको छ । आरोग्य पर्यटनको अन्तराष्ट्रिय प्रवर्द्धन प्रभावकारी बनाउन फोटो र भिडियोमा मात्र सीमित नरही फुल स्टोरी टेलिङमा आधारित प्रचार अभियान सञ्चालन गर्न र त्यसका लागि आवश्यक विज्ञ तथा स्रोतसाधनको व्यवस्था गर्न पनि व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन् । छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जय दिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी रहेको सचिवालयले जनाएको छ ।

१ हजार १०० मध्ये पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।  नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल रहेका छन् ।  पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरुलाई नियुक्त गरिएको हो । बोर्ड सदस्यका लागि देशभरबाट १ हजार १०० वटा आवेदन परेको थियो ।  आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो । बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यी हुन् विदेशी मुद्रा सटहीको कारोबार गर्ने एयरलाइन्सहरू

काठमाडौं । विदेशी मुद्रा सटहीको कारोबार गर्न ४१ वटा वायुसेवा कम्पनीले अनुमति पाएका छन् । नेपालमा आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीले विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र लिएका हुन् । एयर डाइनेस्टी हेली सर्भिसेज, एयर इन्डिया लिमिटेड, एयरलाइन्स रिप्स नेपाल प्रा,लि,  अल्टिच्युड एयर प्रा,लि,अमरावती ट्राभल्स प्रालि (क्याथे प्यासिफिक एयरवेज लिमिटेड – जीएसए)  अमरावती ट्राभल्स प्रा,लि, (ओमान एयर) , बेसक्याम्प हेलिकप्टर प्रा,लि,  बिमान बंगलादेश एयरलाइन्स लिमिटेड (नेपाल शाखा), बुद्ध एयर प्रा.लि,  क्याथे प्यासिफिक एयरवेज लिमिटेड (काठमाडौं शाखा),चाइना सदर्न एयरलाइन्स कम्पनी लिमिटेड , ड्रुक एयर कर्पोरेशन लिमिटेड (नेपाल स्टेशन), एक्सप्लोर हिमालय ट्राभल इन्क प्रा.लि, (जीएसए – इथियोपियन एयरलाइन्स),  फिस्टेल एयर प्रा.लि,  हेली एभरेस्ट प्रा.लि, हिमालय एयरलाइन्स प्रा.लि,  आईएमई इन्टरनेशनल ट्राभल्स प्रा.लि,  जया भोयाज इन्टरनेशनल प्रालि (केएलएमरएयर फ्रान्सको जीएसए),जया भोयाज इन्टरनेशनल प्रा.लि. (डेल्टा एयरलाइन्स), कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड , कोरियन एयरलाइन्स कम्पनी लिमिटेड, मलेसिया एयरलाइन्स बरहाद लिमिटेड, काठमाडौं शाखा ,माउन्टेन हेलिकप्टर्स प्रा।लि,नेपाल एयरलाइन्स निगम, प्रभु हेलिकप्टर लिमिटेड,  कतार एयरवेज ग्रुप, श्री एयरलाइन्स प्रा।लि, सिता एयर प्रालि, स्ट्रिम ट्राभल सर्भिसेज प्रालि, समिट एयर लिमिटेड, तारा एयर प्रालि, तासी एयर प्रालि, थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड,  टर्किस एयरलाइन्स इन्क प्रालि,  युनिभर्सल टुर्स एन्ड ट्राभल्स (फ्लाइ दुबई),  युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि, (एमिरेट्स एयरलाइन्स) ,युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि। (कोरियन एयरलाइन्स),  युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि (थाई एयर एसिया), यती एयरलाइन्स लिमिटेड,  यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् मालिन्डो एयरवेज) र यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् थाई लायन मेन्तारी कम्पनी लिमिटेड ) रहेका छन् । आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार गर्ने अनुमति लिएका छन् । एयरलाइन्सहरूले विदेशी नागरिकहरूबाट हवाई टिकट बिक्रीवापत विदेशी मुद्रा लिने गरेका छन् ।  विदेशी पर्यटकको लागि डलर भाडादर लिने सन् १९९० देखि लिन थालिएको हो । पहिलोपटक नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) बाट सुरु भएको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै आन्तरिक वायुसेवा कम्पनीले पनि डलरमा भाडा लिन थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त भएको पत्राचारको आधारमा विदेशीलाई विदेशी मुद्राबाट टिकट बिक्री वितरण गर्न डलर भाडाको सुविधा प्रदान गर्दै आएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च.नं.६८ पत्र  २०६२ फागुन १ गतेको पत्र मार्फत नेपाल नागरिक उड्डयन प्राधीकरणलाई पत्राचार गरिएको थियो । सोही पत्रको आधारमा डलर भाडादर  कार्यान्वयनमा रहेको छ ।