तोकिएका प्रतिनिधिलाई मात्र खाडी र मलेसिया भ्रमणको अनुमति दिइने

काठमाडौं । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले यही १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि उक्त मुलुकको भ्रमणमा जान रोक लगाएको मन्त्रालयले आईतबार एक सूचना जारी गरी तोकिएका निकायका प्रतिनिधिलाई मात्र भ्रमण भिसाका लागि प्रस्थान अनुमति दिने जनाइएको छ । मन्त्रालयले सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि (संस्थागत कार्यका लागि मात्र) लाई प्रस्थान अनुमति दिने जनाएको छ । यस्तै, नेपालमा सामान आयातनिर्यात गर्ने व्यावसायिक प्रतिनिधि (आयातनिर्यातका लागि मात्र), वार्षिक न्यूनतम रु ६ लाख कर योग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्ति पनि भ्रमणका लागि प्रस्थान अनुमति दिने मन्त्रालयले जनाइएको छ । मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाबाट विशिष्ट कार्यका लागि जानुपर्ने आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनका लागि जाने म्यानपावर व्यावसायिक सञ्चालक वा आधिकारिक प्रतिनिधिलाई पनि प्रस्थान अनुमति प्रदान गरिनेछ । यस्तै, बिरामी कुरुवा वा बिरामीको रेखदेखका रूपमा जाने (तीन पुस्ताभित्रका) पारिवारिक सदस्यहरू (नेपाली राजदूतावासको पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने) का लागि पनि प्रस्थान अनुमति खुला गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाका कारण घलेगाउँ आउँने पर्यटक घट्दै

लमजुङ । समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ । घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरुवात हुनुअघिसम्म चहलपहल भइरेपनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ । कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चलपहल हुँदै आएको घलेगाउँमा दशदिन अघिदेखि सुरु भएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यसअघि दैनिक २०० देखि ३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यतिबेला भने हप्ताको ४०÷५० जना मात्र मुश्किलले आउने गरेका छन् । कोरोना संक्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घरवास संचालकहरु चिन्तित भएका छन् । घलेगाउँका घरवास सञ्चालक दिर्घराज घलेका अनुसार पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए । कोरोना संक्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक हत्तै घटेको उनको भनाइ थियो । कोरोना सङ्क्रमणको करिब तीन वर्ष पर्यटकको आगमन घटेको थियो । अघिल्लो चार महिना मात्र पर्यटक आगमन हुन थालेपनि पुनः कोरोनाले गर्दा पर्यटक नआउदा आम्दानी नभएर आफूहरू चिन्तित भएको घरवास सञ्चालक घलेको भनाइ थियो। प्रत्येक घरवास सञ्चालकले महिनाको ३० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएपनि कोरोनाका कारण पर्यटक आगमनमा कमी भएकाले उनीहरु निराश बन्न थालेका छन् । आम्दानीकै मुख्य श्रोत बनाउँदै आएका यहाँका अधिकांश घरवास सञ्चालकहरुलाई पर्यटकको अभाबमा आम्दानी रोकिदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । विसं २०५६ देखि ग्रामीण पर्यटन प्रवद्र्वनको प्रयासबाट १२ घरबाट सुरु गरिएको घरवास यतिबेला यहाँ ३७ घरमा विस्तार भएको छ । घलेगाउँमा पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि हालसम्म करौडौ रुपैयाँ घलेगाउँबासी र सरकारले खर्च गरिसकेका छन् । मुलुकमा विसं २०६२÷२०६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएसँगै परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा घोषणा गरेको थियो । घरवासमा आएका पर्यटकहरुलाई सत्कारसँगै आफ्ना कला र संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख साँस्कृतिक नृत्यसमेत प्रस्तुत हुँदै आएको थियो । यहाँ आउँने पर्यटकलाई घरवास सञ्चालकहरुले गाउँघरमै उब्जाइएका प्राङ्गारिक चामल, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकारले सत्कार गर्दछन् । नेपाल आदिबासी जनजातिमध्ये गुरुङहरुको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँका रुपमा समेत घलेगाउँलाई लिइन्छ । सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य, प्राकृतिक दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, घले राजाको शालिक, गुरुङ सङ्ग्रहालय, क्वोईवो धीं, सात कुवा, चिया बगान, भीर मौरी, बनझाँक्री छहरा लगायतस्थान समेत घलेगाउँमा देख्न सकिन्छ । त्यस्तै घलेगाउँबाट ६९८६ मिटर अग्लो लमजुङ हिमाल, ७९३५ मिटर अग्लो अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६९६३ मिटर अग्लो माछापुच्छ्रे« हिमाल, ८१६३ मिटर अग्लोे मनास्लु हिमाल, ७८९३ अग्लो हिमालचुली, ७८३५ मिटर अग्लो ङादीचुली (डा.हर्क हिमाल) र ६६७२ मिटर अग्लो वुद्व हिमाल देख्न सकिन्छ । रासस

हिमपातले हुम्लामा हवाई उडान अवरुद्ध

सिमकाेट । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् । हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराइको क्षेत्रमा बाक्लो हुस्सु तुवालोसहित कुइरो लागेपछि उडान हुन् नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्लामा बिहान ६ बजेदेखि हिमपात भएको थियो भने त्यसपछि अहिले बाक्लो कुइरो लागेकाले हुम्लामा उडान भर्दै आएको हवाई यातायातको सेवा प्रभावित भएको हो । हुम्लामा लागि सीता, समिट र तारा एयरले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुसमेत उतै रोकिएका हुन् । प्रतिकूल मौसमका कारण जिल्लामा बिहीबार खाद्यान्न सामग्री, दैनिक उपभोग्य तरकारीलगायत निर्माण व्यवसायीको ढुवानी हुन नसकेको हो । सीता एयरले नेपालगञ्ज र सुर्खेतदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको थियो भने अन्य समिट र तारा एयरले यात्रु तथा अन्य कार्गोको सामग्री ढुवानी गर्दै आएका थिए । हिमपातले आज हवाई सेवा ठप्प भएको हो । रासस