बुद्ध होलिडेजको भ्यालेन्टाइन डे अफर: पोखरालगायत गन्तव्यहरुको प्याकेजमा छुटैछुट
काठमाडाैं । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ । कम्पनीले यस अफरकाे पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरेकाे छ । पाेखर र भरतपुरपछि विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा सजिलो र सहज होलिडे प्याकेजहरु ल्याईने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए । युवा वर्गलाई लक्षित गरी ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ । यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरि लागु गरिएको छ । काठमाडौंबाट पोखरा प्याकेज: ६,९९९ ९ रुपैयाँ प्रति व्यक्ति चितवन प्याकेज: ९,९९९ ९ रुपैयाँ प्रति व्यक्ति पोखरा प्याकेज भैरहवाबाट: ७,९९९ ९ रुपैयाँ प्रति व्यक्ति चितवनबाट: ७,९९९ ९ रुपैयाँ प्रति व्यक्ति० सिमराबाट: ८,९९९ ९ रुपैयाँ प्रति व्यक्ति नेपालगञ्जबाट: ९,९९९ ९ रुपैयाँ प्रति व्यक्ति
पाथीभरा जाने सडक कालोपत्र हुने, ४० करोड ७६ लाखमा ठेक्का सम्झौता
फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ । पाथीभरा जाने सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्रीहरु पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने पाथीभरा क्षेत्र विकास समितिले अपेक्षा राखेको छ । हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको तीर्थयात्रा सकसपूर्ण रहँदै आएको छ । तीर्थयात्री आफैँले लिएर आएको सानो गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारदेखि यहाँका स्थानीयवासी गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निकै सास्ती खेप्दै आएका छन् । अब पाथीभरा सडक कालोपत्र बनेमा भने तीर्थयात्रीले लिएर आएको गाडी नै पाथीभरा क्षेत्रसम्म पुग्ने हुँदा देश विदेशका तीर्थयात्रीलाई सहज हुनाका साथै ठूलो राहत मिल्ने कार्यकारी निर्देशक काफ्ले बताउँछन् । यता पाथीभारा क्षेत्रको कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटेल व्यवसायीहरुको अपेक्षा छ । रासस
सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स, एक जहाज थप्याे
काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ । श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ । थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए ।