बैतडीको हवाई सेवा एक महिनादेखि बन्द
फाइल फोटो बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । उनले भने, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।’ मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ । उनले भने, ‘दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४/१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ ।’ वि स २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । रासस
कर्मचारीलाई किन मानसिक तनाव दिँदैछन् सीईओ रेग्मी ?
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बोर्डका कर्मचारीलाई मानसिक तनाव दिएको पाइएको छ । रेग्मी उपरको जाँचबुझ प्रतिवेदन, २०७८ मा सो विषय उल्लेख गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रमेवहादुर आलेको निर्देशनमा गत पुस २ गते सो उपसमिति गठन गरिएको थियो । कात्तिक २० गते लण्डनमा वल्ड टुरिजम मार्टमा सहभागी भई नेपाल फर्कदा रेग्मीले रक्सी (विदेशी मदिरा) धेरै ल्याएको पाएपछि ड्युटीमा रहेका भन्सारका कर्मचारीले सोधिखोजि गर्दा उनले कर्मचारीलाई झोलाले प्रहार गरेका थिए । उनले ड्युटीमा रहेका कर्मचारीलाई हातपात गरेपछि विवादमा तानिएका थिए । रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि बोर्डले छानविन समिति गठन गरेको छ । उनै मन्त्री आलेले पुस २ गते रेग्मीबारे जाँचबुझ गर्न बोर्डका उपाअध्यक्ष चन्द्र प्रसाद रिजालको संयोजकत्वमा उप समिति गठन गरेका थिए । सो उपसमितिले पनि प्रतिवेदन तयार पारी मन्त्रीलाई बुझाएको छ । ‘बोर्डको कार्यकारी प्रमुखको कर्मचारी प्रतिको व्यवहार उचित नभएको, कर्मचारीलाई तँ/तिमी भनी सम्बोधन गर्ने गरेको, विभिन्न डर धम्की देखाउने गरेकोे भन्ने विषय जाँचबुझ उपसमितिले सम्बन्धित कर्मचारीसँग लिएको बयानको क्रममा बुझिएको छ, पर्यटन बोर्डका बरिष्ठ निर्देशक नन्दिनी लाहे थापाको बयानबाट विमानस्थलको आगमन कक्षमा भएको घटनाको विषयमा पहिले नै तयार पारेको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाई मानसिक तनाव समेत सिर्जना गराएको भन्ने उल्लेखछ रहेको देखिन्छ’, उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै,मुलुकको पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी रहेको बोर्डको पदाधिकारीहरुको व्यवहार आतिथ्यपूर्ण, सम्मानजनक र कदरयोग्य हुनुपर्नेमा कार्यकारी प्रमुखबाट भएको त्यस्तो व्यवहार प्रचलित कानून विपरीत, अमानवीय र पर्यटन व्यवसायको मर्यादा विपरीत भएको देखिएको उल्लेख छ । उपसमितिले रेग्मी बोर्ड सीईओ हुनेवित्तीकै देखि अनियमितता गरेको, आर्थिक अपचलन गरेको, कर्मचारी प्रति अनुचित व्यवहार गरेका, गैरकानुनी काम गरेको, अख्तियारको दुरुपयोग गरेको, नेपालको पर्यटन प्रबद्र्धनमा असहयोग पुग्ने काम गरेको, बिमानस्थलमा असहनीय व्यवहार प्रदर्शन गरेको, सार्वजनिक पदमा रहनेको छवी आँच आउने काम गरेको, सुन तस्करी गरेको लगायत कैफियत औंल्याएको छ । उनले अनुसन्धानको क्रममा निकै असहयोग समेत गरेका थिए । यस्ता गतिविधि गर्ने रेग्मीलाई कारबाही गर्नुपर्ने सुझाव उपसमितिले दिएको छ ।
३ दिनसम्म पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुनसक्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलि बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी शनिबार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतबारदेखि मौसम क्रमिक रुपमा सुधार आउनेछ । बिहीबार महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । शनिबार शनिबार पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै उक्त प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ । रासस