सिमकाेट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

सिमकोट । पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । उनले सिमकोटबाट बाहिरिने र भित्रने सबै यात्रुको तीनपुस्ते विवरण लिने र स्वास्थ्य जाँच गर्ने काम सुरु भएको बताए । त्यसका लागि दुई स्वास्थ्यकर्मी खटाइएको छ । अब चाँडै पैदलमार्गबाट जिल्ला भित्रने दुईवटा नाका चङ्खेली गाउँपालिका–१ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले बताए ।

सुकिलुम्बा विमानस्थल छिटै सञ्चालन हुँदै, आठ हजार ७०० मा दुइतर्फी टिकट

मङ्गलबारे । यहाँस्थित सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिए । हाल तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौर्डाको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड खर्च भइसकेको प्राधिकरणले जनाएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ । रासस

प्राविधिक गडबडी भएपछि काठमाडौं फर्किइयो पोखरा उडेको गुण एयरको जहाज

काठमाडाैं । प्राविधिक गडबडी भएपछि काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा पुनः काठमाडौंमै फर्काइएको छ । प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ । उक्त जहाजका यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।