नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न रस्साकस्सी
काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन् । हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ । तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उनले सेवाबाट अवकाश लिएपनि महानिर्देशक पद लम्याउन लागिपरेका छन् । आफूलाई चार वर्षका लागि सरकारले नियुक्त गरेकाले पूरै कार्यकाल पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । अदालतले अल्पकालीन आदेश दिएर आगामी पुस ३० गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । क्षेत्रीले रासससँग कुरागर्दै प्राधिकरण ऐन बमोजिम महानिर्देशक पद चार वष हुने प्रावधान रहेकाले पूरा कार्यकालको लागि आफूले दाबी गरेको बताए । उनले प्राधिकरणका ३२ वर्ष सेवा गरेर गत पुस २४ गते शनिबार मात्रै उमेरहदका कारण अवकाश भएका थिए । सेवाबाट अवकाश लिएपछि पनि महानिर्देशक पद जोगाउन क्षेत्रीले सर्वोच्चदेखि शक्ति केन्द्रसम्म दौडधुप गरेको विभिन्न सञ्चार माध्यममा आइरहेको छ । तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले प्राधिकरणकै १२औँ तहका कर्मचारी प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ । प्राधिकरणमा अन्य सिनियर अधिकृत हुँदा जुनियरलाई जिम्मेवारी दिएको पनि बजारमा चर्चा छ । महानिर्देशकका अर्का दाबेदार प्राधिकरणकै १२औँ तहका उपमहानिर्देशक प्रतावबाबु तिवारी महानिर्देशक पद प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेकाे जनाइएको छ । यसका लागि उनले अभियाननै चलाएका छन् । स्वभावलै निवर्तमान महानिर्देशक क्षेत्रीपछि तिवारीको दाबेदारी देखिन्छ । तिवारी महानिर्देशक बनेमा पूरै कार्यकाल नेतृत्वमा रहने जनाइएको छ । एयर ट्राफिक अफिसरका रुपमा सेवा प्रवेश गरेका उनले प्राधिकरणमा २५ वर्ष सेवा गरिसकेका छन् । उनी यसअधि त्रिअविको महाप्रबन्धक तथा प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा रहेर पनि काम गरेका छन् । उनले हवाई सुरक्षा सुदृढ गर्ने र प्राधिकरण सुधार्ने योजना पनि अघि सारेका छन् । महानिर्देशकका लागि प्राधिकरणकै अर्का प्रत्यासी हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंकाे पनि आगामी फागुन १६ गते उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछ । उनले पनि आफू प्राधिकरणको सिनियर कर्मचारी भएकाले स्वभावैले महानिर्देशक पद दाबी गरिएको बताए । ‘प्राधिकरणको १२औँ तहको सिनियर कर्मचारी हुँ अवको डेढमहिनापछि अवकास पाउने भएकाले उक्त अवधिसम्म भए पनि स्वभाविक रुपमा नेतृत्वको पाउनुपर्छ भन्ने हो दाबी हैन,’ उनले भने । त्यस्तै महानिर्देशक पदका लागि अघिल्लो पटकदेखि नै लबिङ गरिरहनुभएका प्राधिकरणका आयोजना प्रमुखको जिम्मेवारीमा रहेका प्रदीप अधिकारी पनि पदका लागि आफू उपयुक्त रहेको बताएका छन् । उनी पनि ‘लबिङ’ गर्दै शक्ति केन्द्रदेखि विभिन्न तहसम्म माहोल आफ्नो पक्षमा बनाउन लागिरहेका बताइएको छ । महानिर्देशक पदमा तपाई किन भनि सोधिएको जिज्ञासामा अधिकारीले भने,’प्राधिकरणमा स्थिर नेतृत्वका लागि मेले नेतृत्व खोजेको हुँ खाली तीन महिना र दुई महिना महानिर्देशक हुने पदाधिकारीले कसरी प्राधिकरणको हितमा काम गर्नसक्छन् ।’ सिभिल इञ्जिनीयरको रुपमा सातौँ तहबाट सेवा प्रवेश गरेका अधिकारीले आठौँ र खुला प्रतिस्पर्धाबाट ११औँ तहमा एकैपटक नाम निकालेका थिए । उनको पालामा निर्माणाधीन, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति भएको थियो । दुबै राष्ट्रिय गौरबका आयोजना हुन । भैरहवा र पोखरासँगै निजगढ अन्तरराष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर आधार तयार गर्न पनि आफ्नो भूमिका रहेको अधिकारीको दाबी छ । पर्यटन मन्त्रालयले प्राधिकरणको महानिर्देशक कसलाईवः बनाउने भन्नेबारे अहिलेसम्म मुख खोलेको छैन । पर्यटन मन्त्रालयका प्रवक्ता टोपराज पाण्डेले प्राधिकरणको महानिर्देशकका विषयमा कुनै टुङ्गो लागिनसकेको प्रतिक्रिया दिए । नेतृत्वलाई चुनौतीको चाङ प्राधिकरणमा आउने महानिर्देशकलाई चुनौतीको चाङ छ । संसद्मा विचाराधीन रहेको प्राधिकरण विभाजन गर्ने प्रयोजनका निम्ति बनेको दुई विधेयकलाई निष्कर्षमा पु¥याउनु निकै ठूलो चुनौती छ । उक्त विषयमा प्राधिकरणका कर्मचारीले असन्तुष्टि जनाउँदै आन्दोलन समेत पनि गरेका थिए । हालै प्राधिकरणको २३औँ वार्षिकोत्सवमा पर्यटनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव महेश्वर न्यौपानेका सामु कर्मचारी ट्रेड युनियनका प्रतिनिधिले प्राधिकरण विभाजनसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने जिकिर गरेका थिए । त्यस विषयमा छलफल गर्ने मन्त्रालयले बचन दिएको थियो । संसद्को राष्ट्रिय सभाबाट विधेयक पारित भई हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ । रासस
२० वर्षपछि पुनः निर्माण हुँदै मझगाँउ विमानस्थल, ४८ कराेड विनियाेजन
कञ्चनपुर । दुई दशकदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्य अगाडि बढने भएको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताए । विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम व्यहोर्ने सहमति यस अघिनै भएको छ । ‘विमानस्थल पुनः निर्माणको शिलान्यास कार्यक्रमको सबै प्रक्रिया पूरा भइसकेको छ’, समितिका सदस्य ज्ञानेन्द्रबहादुर महताले भने, ‘विमानस्थल पुनःनिर्माणको शिलान्यास कार्यक्रम सुरु भएसँगै निर्माण कार्यले गति लिन्छ ।’ विमानस्थलको लम्वाइ एक हजार ६६२ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।
दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा
काठमाडौं । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । बतार समूहलाई दरबार भित्र रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएको भन्दै विवादमा तानिएका उनले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा राजीनामा बुझाएका हुन । बतार समूहलाई रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि पर्यटनमन्त्री प्रमे आलेको निर्देशनमा मन्त्रालयको छानबिन समिति गठन गरेको थियो । सो समितिले बुझाएकोप्रतिवेदनले नारायणहिटी दरबार संग्रहालय संरक्षणमा दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल असक्षम रहेको निष्कर्ष निकालेको छ । संग्रहालयभित्र अवैध संरचना निर्माण गर्नुमा दाहालको मुख्य कमजोरी देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दोषि औल्याएका दाहालले राजीनामा बुझाएका हुन ।