पर्यटन प्रवर्द्धनका लागि चैतमा दुई ट्राभल मार्ट हुने

काठमाडौं । नेपालका सबै प्रदेशका पर्यटन व्यवसायीहरूको व्यावसायिक विकास तथा अन्तर्राष्ट्रिय टुर अपरेटरसँगको व्यावसायिक सम्बन्ध विस्तारका लागि पर्यटन बोर्डले चैतभित्र दुई प्रदेशमा ट्राभल मार्टको आयोजना गर्ने भएको छ । मार्टबाट टुर अपरेटर, होटल व्यवसायी तथा आन्तरिक पर्यटन प्रबर्द्धनसँगै व्यवसायीबीच दूर प्याकेज आधानप्रदान हुने गर्छ । पर्यटन बोर्डका अनुसार यही चैतको ११ गतेदेखि १३ गतेसम्म धरानमा इस्ट टुरिजम मार्टको आयोजना हुँदैछ । विभागले धरान उपमहानगरपालिकसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको मार्ट संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै धनगढी उपमहानगरपालिकसँगको सहकार्यमा यही चैत २५ देखि २७ गतेसम्म सुदूरपश्चिमक धनगढीमा फार्भेस्ट ट्राभल मार्टको आयोजना हुने पर्यटन विभागले जनाएको छ । उक्त ट्राभल मार्टमा सुक्लादेखि साइपालसम्मको पर्यटन प्रवर्द्धन गरिने आयोजकले जनाएको छ । ट्राभल मार्टले पश्चिम नेपालका पर्यटकीय क्षेत्रको बजारीकरण गर्न यसअघि नेपालगन्जमा पहिलो पटक भएको पर्यटन मार्टको आयोजना गरिसकेको छ । उक्त मार्टमा भारतीय पर्यटन व्यवसायीलाई भिडियो र टेक्निकल सेसनमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको जानकारी गराइएको थियो । यसअघि नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित ‘आउट वाउन्ड ट्राभल मार्ट’बाट नेपाल घुम्न निम्तो दिइसकेको छ । फागुन ३० देखि चैत्र २ गतेसम्म मुम्बईको बोम्बे एक्जिवेसन सेन्टर उक्त मार्टको आयोजना भएको हो ।

मुस्ताङमा पर्यटक बढेसँगै व्यवसायीलाई राहत

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरि गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए । ‘सडक र हवाइ मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ ।’ म्याग्दी भएर दैनिक ५० बस, १५० जिप र दुई सयका दरले मुस्ताङमा पर्यटकका सवारी साधन भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी प्रमुख इन्द्रबहादुर नेपालीले बेनीको कालीपुल पोष्ट र भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीले मुस्ताङ भित्र्ने र बाहिरिने सवारी साधनको अभिलेख राख्ने गरेको बताए । कोरोनाविरुद्धको खोपको पहुँच बढेपछि सङ्क्रमण घटेको, पर्यटकीयस्थलमा लगाइएको प्रतिबन्ध हटाएर खुला गरिएको र अनुकूल मौसमका कारण पनि पर्यटकको चहलपहल बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, लेतेलगायत पर्यटकीयस्थलमा अहिले पर्यटको जमघट देखिन्छ । आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा आएका जोमसोम निवासी सम्झना थकालीले बताइन् । चीनको सिमानास्थित कोरला नाकासम्म नै सडक पुगेको छ । यातायातको सहज पहुँच र यात्राको खर्च सस्तो हुनाका साथै समय पनि छोटिएको छ । २०७६ चैत महिनादेखि कोरोना भाइरसको महामारी फैलिएपछि पछिल्ला दुई वर्ष मुस्ताङमा पर्यटकीय गतिविधि सुनसान थियो । पर्यटक नआउँदा करोडौंको लगानीमा खोलिएका होटल तथा रेष्टुरेष्ट सुस्ताएका थिए । पर्यटकको चहलपहल बढेसँगै थलिएको होटल व्यवसाय पुरानै लयमा फर्कने आशा व्यवसायीहरूको छ । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीहरूलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताए । बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलहरू पाहुनाले भरिन थालेका छन् । रासस

सुरु भयो हिमाल आरोहण : डोरी टाग्न आइसफल डाक्टर टोली सगरमाथा बेस क्याममा

काठमाडौं । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल डाक्टर टोली आधार शिविर पुगेका छन् । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल डाक्टर आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो । गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ । ‘अहिले टोली आधार शिविरमा बसेको छ’, उनले भने, ‘विगतझैँ यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ ।’ आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन् । भ¥याङ राख्नेदेखि डोरी टाग्नेलगायत काम उनीहरुले गर्नेछन् । आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ । पर्यटक आउने क्रम सुरु पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खुम्बु क्षेत्रमा केही दिनयता दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना महामारीका कारण लामो समय खुम्बु क्षेत्रमा पर्यटकको आगमन हुन सकेको थिएन । अहिले धमाधम पर्यटक आउन थालेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ छुकुमका पर्यटन व्यवसायी तेन्जिङ जाङ्बु शेर्पाले बताए । अहिले लुक्लास्थित लतेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताए । लुक्लामा दैनिक २० वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका लछन् । हिउँदमा काठमाडाँैबाट लुक्ला खाली आउने र लुक्लाबाट उल्लेख्य सङ्ख्यामा यात्रु लिएर फर्कने जहाज अहिले बिना यात्रु फर्कने गरेका छन् । चिसो मौसममा खुम्बु छाड्ने यात्रुको सङ्ख्या अत्यधिक हुने भए पनि पर्यटक आगमनको याम सुरु भएसँगै भित्रिने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म खुम्बु क्षेत्रमा पर्यटक आउजाउ बढ्छ । रासस