बिना अध्ययन सञ्चालक पाइलटलाई उडानमा रोक, क्यानले मौसमको जानकारी नै दिँदैन

काठमाडौं । वायुसेवा सञ्चालकहरुले मौसमको विषयमा समयमै जानकारी नै नपाइने गरेको गुनासो गरेका छन् । हाल सञ्चालित वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) मार्फत् जल तथा मौसम विज्ञान विभागलाई प्रति उडान १० डलर भुक्तानी गर्नु पर्ने भएपनि समयमै सूचना नपाइने गुनासो गरेका हुन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष एवंम सिम्रिक एयरका अध्यक्ष क्यापटेन रामेश्वर थापाले मौसमको बारेमा समयमै जानकारी नै नपाइने गरेको बताए । ‘हामीलाई उडान गर्ने गन्तव्य तथा अवतरण गर्ने गन्तव्यको मात्रै मौसमको बारेमा जानकारी दिइन्छ, तर इन रुटको बारेमा जानकारी नै पाइदैन’, उनले भने, ‘इन रुटको जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्यो, यस तर्फ नियामकको ध्यान छैन ।’ उनले नियामकले हवाई दुर्घटना कम गर्न हेलिकप्टर कम्पनीका सञ्चालक पाइटललाई रोक लगाउनु गलत रहेको धारण राखे । ‘सरकारी संयन्त्रले समयमै सूचना दिदैँनन्, उडानका क्रममा दुर्घटना भयो भने त्यसको पूर्ण दोष हामी क्यापटेनलाई दिइन्छ’, उनले भने, ‘इन रुट मौसमको बारेमा जानकारी दिन छोडेर प्रधिकरण सञ्चालक क्यापटेन तिर लाग्यो, आफ्नो ज्यान र सम्पत्तिको माया कसलाई हुँदैन।’ वायुसेवा सञ्चालक संघका महासचिव एवमं समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जल तथा मौसम विज्ञान विभागले २१ हजारभन्दा माथिको मौसमको बारेमा मात्रै जानकारी दिने बताए । ‘हामीलाई १० देखि १२ हजार फिट उचाईको बारेमा जानकारी चाहिन्छ, तर विभागले हामीलाई २१ हजारभन्दा माथिको बारेमा मात्रै जानकारी दिन्छ’, उनले भने । उनले प्राधिकरण तथा विभागले उडान गर्ने गन्तव्य तथा अवतरण गर्ने गन्तव्यको बारेमा मात्रै जानकारी दिने गरेको भन्दै इनरुटको बारेमा कुनै जानकारी नै नहुने बताए । ‘हामीले काठमाडौंबाट विराटनगर गन्तव्यका लागि उडान गर्दा, काठमाडौं र विराटनगरको मात्रै जानकारी दिइन्छ, बाँकी गन्तव्यका लागि हामीले प्रत्येक जिल्लामा कर्मचारी राख्नु परेको छ, मौसमका बारेमा जानकारी लिन प्रत्येक उडानमा १० डलरसँगै जिल्ला(जिल्लामा कर्मचारी राखेका छौँ,’ ‘अनुभव नै नभएका व्यक्तिले आखाँले हेरेको भरमा हामीले उडान गर्नुपर्ने बाध्यता छ ।’ वायुसेवा कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच समन्वयकारी भूमिका रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् । ‘हामी दुई निकायबीच समन्वयको मात्रै भूमिका हो, हामीसँग मौसमको जानकारी लिने प्रविधि छैन, विभागले दिएको जानकारी अनुसार हाम्रा एटीसीहरुले मौसमको जानकारी दिने हो’, उनले भने । जोमसोम रुटमा क्यामरा जडान २०७९ को जेठमा जोमसोम रुटमा तारा एयरको जहाज दुर्घटना भएपछि प्राधिकरणले मौसमको जानकारी लिन क्यामरा जडान गरेको छ । दुर्घटना अगाडि निजी क्षेत्रका वायुसेवा कम्पनीले क्यामरा जडान गरी इनरुट मौसमको विषयमा जानकारी लिँदै आएकोमा क्यानले पछिल्लो समय मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरेको हो । मौसम खराबीका कारण दायाँ मोड्नुपर्ने जहाज बायाँ मोडिएर भित्तामा ठोक्किँदा दुर्घटनामा परेको अध्ययन रिपोर्टले देखाए अनुसार प्राधिकरणले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहयोगमा तीन ठाउँमा त्यहाँको मौसम देखिने गरी विशेष क्यामरा जडान गरेको हो । उक्त जहाज पोखरा जोमसोम रुटमा प्रभावकारी भएको क्यानले जनाएको छ । हामीले पाइलट प्रोजेक्टका रुपमा पोखरा(जोमसोम रुटमा क्यामरा जडान गरेका थियौँ, त्यो रुटमा प्रभावकारी बन्यो, अब हामीले अन्य रुटमा पनि क्यामरा जडानको तयारी गरेका हौँ’, सूचना अधिकारी भूलले भने । नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उडड्यन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन प्राधिकरणले सिमिकोट, लुक्लालगायतका दुर्गममा रहेका विमानस्थलमा हवाई सुरक्षा बढाउन बीचभागमा क्यामरा जडानको तयारी भएको उनले बताए ।

पाँच वटा जहाज किन्दैछौं, म मन्त्री बनेपछि भ्रष्टाचारका प्वाल टालिँदैछन् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए । “हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ”, उनले भने, “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा छौं, छिट्टै ती जहाज आउँछन्र, तर कमिसन आउँदैन ।” नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको उनको भनाइ छ । चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उनकले बताए । “देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ”, उनले भने । मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको बताए । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उनको भनाइ थियो ।

हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारका नाउमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । हवाई टिकटमा भ्याट लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले साउन ११ गते अदालतमा रिट दायर गरेको थियो । सरकारले विना अध्ययन र तयारी हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएर नेपाल गन्तव्यलाई महँगो बनाएको ट्राभल व्यवसायीको भनाइ छ । हवाई टिकटमा कर लगाउने विषय व्यावहारिक नभएको, कर लगाइहाले पनि विश्वकै महंगो गन्तव्य नेपाल बन्ने दाबी ट्राभल व्यवसायीको छ । यस विषयको सम्बोधन गर्न माग गर्दै केही दिन अघि पर्यटन व्यवसायी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्री महतले उनीहरुलाई हप्काएर पठाएको बुझिएको छ । त्यसपछि व्यवसायीहरु कानुनी उपचारका लागि अदालत पुगेका हुन् ।