भोजपुरको हतुवागढीमा एक करोड ३४ लाखमा पदमार्ग निर्माण गरिँदै

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । एक करोड ३४ लाख रुपैयाँ लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकतम महेश निरौलाले जानकारी दिए । यो आर्थिक वर्षमा यो पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा एक करोड ५० लाख बजेट विनियोजन भएको उनको भनाइ छ । ‘गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने, ‘हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ । यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरेका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’ पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ । दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवगमन बढ्ने उनले जानकारी दिए । ‘यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौँ’, उनले भने, ‘चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ । भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ हरियालीसँगै फाटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ । यहाँ आउने पर्यटकलाई प्राकृतिक दृश्यको अवलोकन गर्दै एकदेखि दुई दिन पूर्णरुपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । किरात राजाहरूले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने उनको भनाइ छ । हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ । ‘हतुवागढी आफैँमा एक ऐतिहासिक क्षेत्र हो’, उनले भने, ‘यहाँको छुट्टै विशेषता छ । हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ । यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ ।’ यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताउनुभयो । पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ । हतुवागढीको सबैभन्दा अग्लो शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको छ । पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताए। पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको उनको भनाइ छ । रासस

मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ। नेपाल एयरलाइन्सको ९एन-एकेडब्लू न्यारोवडी जहाज मंगलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ। क्वालावम्पुरको स्थानीय समयअनुसार बिहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटि देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ । जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सोको पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको  निगमको भनाइ छ । निगमले उडान ढिलो भएकोमा आगामी दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफी समेत मागेको छ । निगमले गत जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर-भैरहवा-काठमाडौँ रुटमा उडान सुरु गरेको हो ।

अब विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने, यस्तो छ कार्यविधिको व्यवस्था

काठमाडौं ।  आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । ‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ’, कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ।’ प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन् । कार्यविधिअनुसार शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन । प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले संकलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ । रासस