खुल्ला चिडियाखाना ‘हाइकिङ’सँग जोडिँदै
गण्डकी । सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना (पचभैया प्राणि उद्यान केन्द्र) लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू टावरसम्म एकदिने हाइकिङ स्थलका रुपमा अघि बढाउन खोजेको हो । क्लबले हाइकिङमार्फत खुल्ला चिडियाखानालाई जोड्ने लक्ष्यका साथ आफ्नै ३६औं शृङ्खला उक्त क्षेत्रमा सम्पन्न गरिसकेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए । प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आइएको हाइकिङको पछिल्लो शृङ्खला पचभैयास्थित खुल्ला चिडियाखाना हुँदै रुपा गाउँपालिकाको हात्तीमैतासम्म पुगी सम्पन्न गरिएको थियो । यो स्थल एकदिने हाइकिङका लागि उपयुक्त गन्तव्य रहेको उनले बताए । पचभैयाबाट सुरु हुने हाइकिङ रुपाताल, झोलुङ्गे, भङ्गरा, जनकुना, रुपाकोट रिपोर्ट हुँदै हात्तीमैता भ्यू टावरमा पुग्न करिब तीन घण्टा लाग्छ । ‘हाइकिङमा आउने पर्यटकले खुल्ला चिडियाखानाको अवलोकन गर्दै आफ्नो यात्रा सुरु गर्नेछन्, हाइकिङका क्रममा अन्नपूर्ण, धवलागिरि लगायतका हिम शृङ्खला, मनोरम पहाडी दृश्य एवम् लेखनाथका रुपा, बेगनाससहित पोखराको फेवाताल लगायतलाई एकसाथ नियाल्दै हिँड्न पाइनु यहाँको विशेषता हो’, उनले भने । हाइकिङ सुरु हुनेस्थल खुला चिडियाखाना यहाँको महत्वपूर्ण दर्शनीय स्थल रहेको संयोजक रानाभाटको भनाइ छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर खुल्ला चिडियाखनाका रुपमा पोखरा प्राणि उद्यान केन्द्र निर्माण गरिएको पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष एवम् पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताए । चिडियाखाना निर्माणका लागि स्थानीयवासीको चाहना र युनाइटेड क्लबको सहयोगमा यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको थियो । चिडियाखानाको व्यवस्थापन लगायतका विषयमा केही समय युनाइटेड क्लब र स्थानीयवासीबीच विवाद भए पनि उक्त विवाद समाधान भइसकेको छ । युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ । चिडियाखानामा सर्वसाधारणलाई अवलोकनका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीहरू खुल्ला छाडिएको छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनाका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावर कक्ष बनाउने दीर्घकालीन लक्ष्यसमेत राखिएको छ । चिडियाखाना परिसर एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छ । पोखराबाट जम्मा २५ किमी टाढा रहेको यस चिडियाखानालाई गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको पचभैया सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष मोहनबहादुर घिमिरेले बताए । यसअघि २०३४/३५ सालतिर यस क्षेत्रमा जङ्गल ध्वस्त बन्दै गएको अवस्थालाई दृष्टिगत गरी स्थानीयवासीले तत्कालीन समयदेखि नै यसको संरक्षण सुरु गरेका थिए । संरक्षण थालिएको झन्डै ४५ वर्षपछि खुल्ला चिडियाखानाका रुपमा केन्द्र सञ्चालनमा आउनुले आफूहरू गौरवान्वित बनेको उनले बताए । चिडियाखानामा हाल विभिन्न २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी राखिएको अध्यक्ष ढकालले जानकारी दिए । यहाँ आउने पर्यटकले चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । चिडियाखाना सर्वसाधत्रारणलाई अवलोकनका लागि खुल्ला गरिसकिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ । चिडियाखानाको डिभिजन वन कार्यालयबाट व्यवस्थापन हुँदै आएको कार्यालय प्रमुख केदार बरालले जानकारी दिए । अघिल्लो वर्षमा चिडियाखानका लागि भौतिक पूर्वाधारतर्फ ४० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिँदै उनले अन्य व्यवस्थापनतर्फ १८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको बताए । त्यहाँ राखिएका पशुपन्छीको आहाराका लागि १४ लाख ६० हजार रुपैयाँ विनियोजन भएको उनले बताए । चिडियाखानाको व्यवस्थापनका लागि चारजना कर्मचारी खटाइएको बरालले बताए । पचभैयाबाट रुपाकोट हात्तीमैतासम्म एकदिने हाइकिङका लागि उपयुक्त रहेको ध्रुवतारा युवा क्लबका अध्यक्ष त्रिविक्रम केसीले बताए । हाइकिङमार्फत हात्तीमैतासम्म आउने पर्यटकलाई लक्षित गरी हात्तीमैता भ्यू टावर रिसोर्ट सञ्चालनमा आइसकेको छ । ‘हामी पचभैयाको चिडियाखानादेखि हात्तीमैतासम्मको हाइकिङ मार्गलाई प्रवद्र्धन गर्न चाहन्छौँ’, उनले भने, ‘छोटो दूरीको हाइकिङका क्रममा चिडियाखानामा विभिन्न वन्यजन्तुको अवलोनसँगै हिमाल, पहाड, तालतलैया आदिको एकसाथ हेर्न पाउने यहाँको विशिष्टता प्रचारप्रसारको पर्खाइमा छ ।’ रासस
भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु
चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताए । उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ । महानगरले भ्रमण वर्ष २०२४ मा दुई लाख विदेशी र सात लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको हो । हाल यहाँ वार्षिकरुपमा औसतमा ३० हजार विदेशी र चार लाख आन्तरिक पर्यटक आउने गरेको महानगरको भनाइ छ । नगर प्रमुख दाहालले नेपाल र विदेशमासमेत भरतपुर भ्रमण वर्षको प्रचारप्रसार गर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिए । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्ष, २०२४ लाई सफल बनाउन नगरप्रमुख दाहालको संयोजकत्वमा पाँच सदस्यीय निर्देशन समिति र ५०१ सदस्यीय मूलसमिति गठन गरिएको छ । निर्देशन समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्यसचिवमा पर्यटन विज्ञ रहेका छन् । साथै नगरउपप्रमुख अधिकारीको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । समितिका संयोजकले १५ दिनभित्र कार्ययोजना तयार गरी पेस गरेपछि कार्यक्रमलाई अन्तिम रुप दिइने महानगरको भनाइ छ । भ्रमण वर्षको तयारीस्वरुप महानगरभित्रका ३३ पर्यटकीय गन्तव्यको जानकारी दिने उद्देश्यले मोबाइल एप पनि तयार गरिएको छ । महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीका अनुसार सातवटा मुख्य पर्यटकीय गन्तव्यसहित ३३ गन्तव्यको जानकारी र तस्वीर एपमा समावेश छन् । यससँगै छोटो भिडियो, वृत्तचित्त तयार गरी एपमा राख्ने काम जारी छ । उक्त एपमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, नारायणीसीबीच मोडल, ज्ञानेश्वर ब्लक र चौकीडाँडा यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्यबारे जानकारी समावेश गरिएको छ । भ्रमण वर्षका अवसरमा भारत र चीनमासमेत आवश्यक प्रचारप्रसार गरी भ्रमणवर्षको प्रबद्र्धन गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चितवनलाई लिने गरिन्छ । यहाँको चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि परिचित छ । निकुञ्जको धेरै भाग महानगरसँग जोडिएको छ । महानगरका विभिन्न ठाउँबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ । साथै पवित्र तीर्थस्थल देवघाट, सूर्योदय हेर्न सकिने चौकीडाँडा, सूर्यास्त अवलोकन गर्न सकिने गोलाघाटलगायतका रमणीय पर्यटकीय गन्तव्य पनि यही छन् । नारायणी र राप्ती नदीको काखमा भरतपुर महानगरपालिका पर्दछ । रासस
विभिन्न ७ भाषामा तयार भयो बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना
काठमाडौं । बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित विभिन्न ८ भाषामा तयार भएको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना विभिन्न भाषामा तयार पारिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा क्यूआर स्क्यान गरि पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको गाउँपालिका प्रमुख सुरेन्द्र थापाले बताए । मंगलबार बन्दीपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा एक समारोहका बीच मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका हुन् । गन्तव्यबारे जानकारीहरू नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको हो । सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको टुरिजमपाना डटकममा पढ्नर हेर्न तथा सुन्न सकिने भएको छ ।