बिना अध्ययन सञ्चालक पाइलटलाई उडानमा रोक, क्यानले मौसमको जानकारी नै दिँदैन

<p>काठमाडौं । वायुसेवा सञ्चालकहरुले मौसमको विषयमा समयमै जानकारी नै नपाइने गरेको गुनासो गरेका छन् । हाल सञ्चालित वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) मार्फत् जल तथा मौसम विज्ञान विभागलाई प्रति उडान १० डलर भुक्तानी गर्नु पर्ने भएपनि समयमै सूचना नपाइने गुनासो गरेका हुन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष एवंम सिम्रिक एयरका अध्यक्ष क्यापटेन रामेश्वर थापाले [&hellip;]</p>

काठमाडौं । वायुसेवा सञ्चालकहरुले मौसमको विषयमा समयमै जानकारी नै नपाइने गरेको गुनासो गरेका छन् । हाल सञ्चालित वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) मार्फत् जल तथा मौसम विज्ञान विभागलाई प्रति उडान १० डलर भुक्तानी गर्नु पर्ने भएपनि समयमै सूचना नपाइने गुनासो गरेका हुन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष एवंम सिम्रिक एयरका अध्यक्ष क्यापटेन रामेश्वर थापाले मौसमको बारेमा समयमै जानकारी नै नपाइने गरेको बताए । ‘हामीलाई उडान गर्ने गन्तव्य तथा अवतरण गर्ने गन्तव्यको मात्रै मौसमको बारेमा जानकारी दिइन्छ, तर इन रुटको बारेमा जानकारी नै पाइदैन’, उनले भने, ‘इन रुटको जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्यो, यस तर्फ नियामकको ध्यान छैन ।’

उनले नियामकले हवाई दुर्घटना कम गर्न हेलिकप्टर कम्पनीका सञ्चालक पाइटललाई रोक लगाउनु गलत रहेको धारण राखे ।

‘सरकारी संयन्त्रले समयमै सूचना दिदैँनन्, उडानका क्रममा दुर्घटना भयो भने त्यसको पूर्ण दोष हामी क्यापटेनलाई दिइन्छ’, उनले भने, ‘इन रुट मौसमको बारेमा जानकारी दिन छोडेर प्रधिकरण सञ्चालक क्यापटेन तिर लाग्यो, आफ्नो ज्यान र सम्पत्तिको माया कसलाई हुँदैन।’

वायुसेवा सञ्चालक संघका महासचिव एवमं समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जल तथा मौसम विज्ञान विभागले २१ हजारभन्दा माथिको मौसमको बारेमा मात्रै जानकारी दिने बताए ।

‘हामीलाई १० देखि १२ हजार फिट उचाईको बारेमा जानकारी चाहिन्छ, तर विभागले हामीलाई २१ हजारभन्दा माथिको बारेमा मात्रै जानकारी दिन्छ’, उनले भने ।

उनले प्राधिकरण तथा विभागले उडान गर्ने गन्तव्य तथा अवतरण गर्ने गन्तव्यको बारेमा मात्रै जानकारी दिने गरेको भन्दै इनरुटको बारेमा कुनै जानकारी नै नहुने बताए ।

‘हामीले काठमाडौंबाट विराटनगर गन्तव्यका लागि उडान गर्दा, काठमाडौं र विराटनगरको मात्रै जानकारी दिइन्छ, बाँकी गन्तव्यका लागि हामीले प्रत्येक जिल्लामा कर्मचारी राख्नु परेको छ, मौसमका बारेमा जानकारी लिन प्रत्येक उडानमा १० डलरसँगै जिल्ला(जिल्लामा कर्मचारी राखेका छौँ,’ ‘अनुभव नै नभएका व्यक्तिले आखाँले हेरेको भरमा हामीले उडान गर्नुपर्ने बाध्यता छ ।’

वायुसेवा कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच समन्वयकारी भूमिका रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् ।

‘हामी दुई निकायबीच समन्वयको मात्रै भूमिका हो, हामीसँग मौसमको जानकारी लिने प्रविधि छैन, विभागले दिएको जानकारी अनुसार हाम्रा एटीसीहरुले मौसमको जानकारी दिने हो’, उनले भने ।

जोमसोम रुटमा क्यामरा जडान

२०७९ को जेठमा जोमसोम रुटमा तारा एयरको जहाज दुर्घटना भएपछि प्राधिकरणले मौसमको जानकारी लिन क्यामरा जडान गरेको छ ।

दुर्घटना अगाडि निजी क्षेत्रका वायुसेवा कम्पनीले क्यामरा जडान गरी इनरुट मौसमको विषयमा जानकारी लिँदै आएकोमा क्यानले पछिल्लो समय मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरेको हो ।

मौसम खराबीका कारण दायाँ मोड्नुपर्ने जहाज बायाँ मोडिएर भित्तामा ठोक्किँदा दुर्घटनामा परेको अध्ययन रिपोर्टले देखाए अनुसार प्राधिकरणले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहयोगमा तीन ठाउँमा त्यहाँको मौसम देखिने गरी विशेष क्यामरा जडान गरेको हो ।

उक्त जहाज पोखरा जोमसोम रुटमा प्रभावकारी भएको क्यानले जनाएको छ । हामीले पाइलट प्रोजेक्टका रुपमा पोखरा(जोमसोम रुटमा क्यामरा जडान गरेका थियौँ, त्यो रुटमा प्रभावकारी बन्यो, अब हामीले अन्य रुटमा पनि क्यामरा जडानको तयारी गरेका हौँ’, सूचना अधिकारी भूलले भने ।

नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उडड्यन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन प्राधिकरणले सिमिकोट, लुक्लालगायतका दुर्गममा रहेका विमानस्थलमा हवाई सुरक्षा बढाउन बीचभागमा क्यामरा जडानको तयारी भएको उनले बताए ।

Share News