
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता बापत कर्मचारी सञ्चय कोषलाई मात्रै तीन अर्ब रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।
निगमले २०७९ को असारदेखि २०८० को असारसम्म जहाजको किस्ता बापत २ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरिसकेको बताएको छ ।
कर्मचारी सञ्चय कोषले निगमले ऋणको किस्ता नतिरेहको बताएपछि निगमले निरन्तर रुपमा किस्ता भुक्तानी भइरहेको बताएको हो ।
एक वर्षको अबधिमा झन्डै ३ अर्ब रुपैयाँ भुक्तानी हुँदा समेत कोषले किस्ता नै नपाएको भन्नु कोषले ठूलो गल्ती भएको निगमका प्रवक्ता रमेश पौडेल बताउँछन् ।
‘हामीले कोरोना महामारीकालमा जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी गर्न नसकेको सत्य हो, तर अहिले अवस्था केही सहज भएपछि हामीले झन्डै ३ अर्ब बक्यौता रकम भुक्तानी गरिसक्यौँ, पहिलाको कुरालाई जोडेर अहिले गलत रुपमा प्रचार गर्नु कोषको ठूलो गल्ति हो,’ उनले भने ।
उनले निगमले किस्ता बापतको रकम कोषको हिमालयन बैंकमा रहेको खातामा जम्मा भइरहेको जानकारी गराए । ‘एक वर्षको अबधिमा कर्मचारी संचय कोषलाई झन्डै ३ अर्ब रुपैयाँ ऋण बक्यौता भुक्तानी भएको छ, बिस्तारै कमाउदै र निगमको नियमित खर्च धान्दै कोषको बक्यौता समेत तिरिरहेको अहिलेको सुधारोन्मुख अवस्थामा नकारात्मक टीका टिप्पणी हुनु दुखलाग्दो कुरा हो’, निगमका प्रवक्ता पौडेलले भने, ‘किस्ता तिरेको छैन भनेर गलत रुपमा टिप्पणी हुनु राम्रो कुरा होइन, निगमले किस्ता बापतको रकम कोषको हिमालयन बैंकमा रहेको खातामा जम्मा गरिरहेका छौँ ।’
उनका अनुसार निगमले २०७९ को असारमा न्यारोवडी जहाजको ९एयबस ३२०० असारमा ४ करोड ५० लाख, असोजमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ, पुसमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको बताए ।
यस्तै, २०७९ को चैतमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ र २०८० को असारमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको जानकारी दिए ।
निगमले एक वर्षको अबधिमा न्यारोवडी जहाज खरिद गर्दा लिएको ऋणको १ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।
यस्तै, वाइडबडी जहाज ९एयरबस ३३०० खरिद गर्दा लिएको ऋणको किस्ता बापत एक वर्षको अबधिमा निगमले १ अर्ब भुक्तानी गरेको छ ।
विकासन्युजलाई प्राप्त तथ्यांक अनुसार निगमले २०७९ को असारमा ४५ करोड, असोजमा २० करोड, चैतमा १ करोड र २०८० को असारमा २५ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छ ।