
काठमाडौं । तपाईले कस्ता कस्ता निवेदन देख्नुभएको छ ? कति निवेदन त तपाई आफैले पनि लेख्नुभएको होला ।
सिफारिस माग्न, प्रमाणित गरिदिन आदि विषयका निवेदन कामका प्रकृति अनुसार हुने नै भए ।
काम अनुसारका विषय राखेर सरकारी वा गैरसरकारी संघ संस्थामा निवेदन आउनु स्वभाविक हो ।
तर, यहाँ यस्तो एउटा निवेदनका बारेमा चर्चा गर्दैछौं जसले आफूलाई ‘नेपाल सरकार’ प्रमाणित गरेर नारायणहिटी दरबारमा विराजमान हुने कागजात माग गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एउटा यस्तै निवेदन आइपुगेको छ । जसमा आफूलाई नेपालका सरकारी कार्यालयले नेपाल सरकार प्रमाणित गरिदिएकाले नारायणहिटीमा बस्न पाउनुपर्ने दावी गरिएको छ ।
नारायणहिटी दरबारमा बस्न पाउनुपर्ने दावी गर्दै सिंहदरबारस्थित संस्कृति, प

र्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन पेस गर्ने व्यक्ति हुन बारा जिल्लाका ५१ वर्षीय केदार सहनी ।
उनले इन्टरमिडिएट तहको चारित्रिक प्रमाणपत्रमा आफ्नो नाम ‘केदार सहनी गढी वीर नेपाल सरकार’ उल्लेख गराएका रहेछन् । एसएलसीको प्रमाणपत्रमा भने उनको नाम केदार सहनी गढी नै उल्लेख रहेछ ।
उनले साविकको बञ्जरीया गाउँ विकास समितिमा ‘केदार सहनी गढी’ र ‘केदार सहनी गढी वीर नेपाल सरकार’ एकै व्यक्ति भएको सिफारिस उपलब्ध गराइदिन माग गरेर निवेदन दिएका रहेछन् ।
उनको निवेदनमा तत्कालिन गाउँ विकास समितिले माग अनुसार ‘केदार सहनी गढी’ र ‘केदार सहनी गढी वीर नेपाल सरकार’ एकै व्यक्ति भएको सिफारिस गरिदिएको रहेछ ।
उनले सोहीअनुसारको निवेदन बारा जिल्ला प्रशासन कार्यालयमा पनि दिएका रहेछन् ।

जिल्ला प्रशासन कार्यालयले गाविसको सिफारिसको आधारमा ‘केदार सहनी गढी’ र ‘केदार सहनी गढी वीर नेपाल सरकार’ भन्ने एकै व्यक्ति भएको व्यहोराको सिफारिस दिएको रहेछ ।
पर्यटन मन्त्रालयमा पेस भएको निवेदनमा संलग्न रहेका यी कागजपत्र आधिकारिक हुन वा होइनन् परीक्षण हुन भने बाँकी नै छ ।
तत्कालिन गाउँ विकास समिति र जिल्ला प्रशासनको कागजात लिएर उनी नारायणहिटी दरबार संग्राहलय परिसर पुगेका रहेछन् ।
उनले त्यहाँ आफू ‘नेपाल सरकार’ प्रमाणित भएको र नारायणहिटी दरबारमा बस्न पाउनुपर्ने दावी सुरक्षाकर्मीसँग गरेका रहेछन् ।
उनले संग्राहलयको गेटमा हरेक दिन आएर हैरान पार्न थालेपछि सुरक्षाकर्मीले उनलाई पन्छाउन पर्यटन मन्त्रालयबाट पत्र ल्याए नारायणहिटीमा बस्न दिने बताइदिएछन् ।
सुरक्षाकर्मीको त्यहीँ भनाईको आधारमा उनै केदार सहनीले २०७९ चैतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नारायणहिटीमा बस्न पाउँ भन्दै निवेदन दिएका रहेछन् ।
उनको निवेदनमा आफुसँग ‘नेपाल सरकार’ प्रमाणित भएको कागजात रहेकाले नारायणहिटीमा बस्नका लागि सिफारिस उपलब्ध गराइदिन भनिएको छ ।
निवेदन मन्त्रालयमा छाडेर गए यता उनले हरेक दिन मन्त्रालयमा फोन गरेर नारायणहिटीमा बस्ने सिफारिस कहिले पाउँछु भन्दै सोध्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

‘उहाँ मन्त्रालयमा निवेदन बुझाउन आउँदा हामी नै अल्मलिएका थियौँ, उहाँको मानसिक अवस्था अनुसार हामीले सम्झाउने प्रयास गर्याैं’, ती कर्मचारीले भने, ‘जति प्रयास गर्दा पनि उहाँलाई फिर्ता पठाउन नसकेपछि निवेदन मागेर अल्मल्याएका हौं ।’
चार महिना यता हरेक दिन जसो उनले मन्त्रालयमा फोन गरेर आफुले छाडेर गएको निवेदनको प्रक्रिया कहाँ पुग्यो भनेर सोध्ने गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयका कर्मचारीले बताए ।