मन्त्री किरातीको निर्णय : विवादित कार्यकर्तालाई नियुक्ती, १५ वर्षदेखि सेवा गरेका कर्मचारी आउट

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले गत शनिबार आफ्नो फेसबुक एकाउन्टमार्फत् नियुक्ती तथा सुरुवा बढुवाका लागि शक्ति केन्द्रको सोर्स नलगाउन आग्रह गरे । ‘पुनः स्मरण गराउँदछु; सरुवा, बढुवा, नियुक्ति,पुनर्नियुक्ति गर्न गराउन मेरो परिवार नाता गोता र कुनै शक्ति केन्द्र बाट सोर्स लगाउने दुःख कष्ट कसैले नगर्नु होला, यदि गर्नु गराउनु भयो [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले गत शनिबार आफ्नो फेसबुक एकाउन्टमार्फत् नियुक्ती तथा सुरुवा बढुवाका लागि शक्ति केन्द्रको सोर्स नलगाउन आग्रह गरे ।

‘पुनः स्मरण गराउँदछु; सरुवा, बढुवा, नियुक्ति,पुनर्नियुक्ति गर्न गराउन मेरो परिवार नाता गोता र कुनै शक्ति केन्द्र बाट सोर्स लगाउने दुःख कष्ट कसैले नगर्नु होला, यदि गर्नु गराउनु भयो भने फेरि पनि एकपटक भन्छु त्यो काम हामी बाट हुनेछैन ’, उनले शनिबार फेसबुकमा स्टाटस राख्दै भनेका थिए ।

उनले आफू आफ्नो परिवार नातागोता तथा कुनै शक्ति केन्द्रबाट सोर्स नलगाउन भन्दै स्टाट्स राखे । तर, उनले स्टाटस राखेकोे एक दिन नबित्दै आइतबार उनै किरातीले लुम्बिनी विकास कोषमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका विवादास्पद व्यक्ति ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिए ।

उनले मन्त्रिपरिषद्बाटै निर्णय गराएर विवादास्पद छवि बनाएका लामालाई विश्वका शान्तिप्रेमीहरुको पवित्र केन्द्र मानिने लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

उनको नियुक्तीले अहिले सबैतिर चर्चासँगै किरातीको आलोचना समेत भएको छ । नेकपा माओवादी केन्द्रकै उच्च तहका नेता तथा जिम्मेवार कार्यकर्ताबाटै उनको नियुक्तीमा आलोचना भइरहेको छ ।

विवादास्पद व्यक्तिलाई क्याबिनेटको निर्णय गराएर जिम्मेवारी दिएका मन्त्री किरातीले नेपाल वायुसेवा निगममा १५ वर्षभन्दा बढी समय कार्यरत ५औं तहका करारका कर्मचारीको भने नवीकरण रोकेका छन् ।

उनले नेपालगन्जमा कार्यरत निगमका पूराना कर्मचारी रोहित यादवको करार नवीकरण नगरेको पाइएको छ । यादवले निगमको नेपालगञ्जमा रहेको पुरानो भवनलाई आवासका रुपमा उपभोग गर्दै आएका थिए । उनलाई सो भवनको उपयोग गर्न निगमकै जिम्मेवार व्यक्तिले लिखित रुपमै अनुमति दिएका थिए ।

तर, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उनले भवनको उपयोग गरेको चाल पाएपछि भवन छोड्ने शर्तमा करार नवीकरणको आश्वासन दिएका थिए । तर रोहित यादवले आफूलाई लिखित रुपमै अनुमति दिएको बताउँदै भवन छोड्न आनाकानी गर्दै आएका थिए ।

करारका कर्मचारीले भवन छोड्न आनाकानी गरेपछि अधिकारीले पर्यटनमन्त्री किरातीलाई उक्त कुराको जानकारी गराएका थिए । किरातीले स्टन्ड देखाउँदै उनको करार नै नवीकरण नगर्ने धम्की दिएका थिए ।

१५ वर्षभन्दा बढी समय काम गरेको स्थानमा मन्त्री किरातीले नवीकरण नगरेपछि यादवले आफूले सक्ने सोर्स फोर्स लगाए । उनले मन्त्री किरातीले आफूलाई अन्याय गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य मन्त्रीहरुलाई समेत गुनासो गरेका थिए ।

एउटा सामान्य कर्मचारीलाई अन्याय भएको अनुभूति भएपछि हामीले पनि मन्त्रीज्यूलाई नवीकरण गरिदिनुस भनेर आग्रह गरेका थियौं, तर उहाँले हुँदै हुँदैन भन्नुभयो’, मन्त्री किरातीको सचिवालयमा कार्यरत एक कर्मचारीले भने, ‘उहाँ केही समयअघिसम्म दिनहुँ मन्त्रालय आउनुहुन्थ्यो, गुनासो गर्नुहुन्थ्यो, उहाँलाई देख्दा माया लाग्छ ।’

के हो ल्यारक्याल लामाको विवाद ?

लामा दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी तथा अकुत सम्पत्ति आर्जन र बैंकको लकरमा गोली राखेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री लामाको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा गोलि भेटिएको थियो ।

एक जना व्यक्तिले लकरमा पेस्तोलको गोलि राखेको सूचनाका आधारमा अख्तियारले गरेको अनुसन्धानले २०७२ को फागुनमा उनले लकरमा गोलि भेटाएको थियो ।

सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा रहेका लामा (धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ) लाई सरकारले ५ वर्षका लागि लुम्बिनी विकास कोषले उपाध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

Share News