चाडबाडको छेकोमा घुम्न सकिन्छ काठमाडौं उपत्यकाका यी गन्तव्य
काठमाडौं । ठूला चाडबाड सँघारमै आइसकेका छन् । अधिकांश पेसाकर्मी, जागिरे धेरैलाई दशैंतिहार, छठलगायत चाडमा फुर्सदिला हुन्छन् । किनभने सबैको लामो छुट्टी हुने गर्छ । यसैबीच नजिकका पर्यटन गन्तव्य घुम्ने सन्दर्भमा सबैका आ–आफ्नै योजना, अनुभव र सुझाव हुन सक्छन् । कसैले भन्लान्, ‘घर नजिक पनि कोही घुम्न जान्छ ?’ फेरि, कसैले भन्लान्, ‘नजिकको तीर्थ हेला गर्नुहन्न, त्यही भएर पहिला नजिकका गन्तव्य घुम्नुपर्छ ।’ यही मेसोमा काठमाडौं उपत्यका वरिपरि रहेका पर्यटन गन्तव्य छुटाउनै मिल्दैन । संघीय राजधानी काठमाडौं र सँगैका ललितपुर र भक्तपुर जिल्लाका पर्यटन गन्तव्यको सूची लामै हुन्छ । काठमाडौं उपत्यका वरिपरि धेरै नाम चलेका र स्थापित पर्यटन गन्तव्य छन् । ती गन्तव्यमा अधिकांश पर्यटक पुगेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका वरिपरि स्थापना भएका दर्जनौं पर्यटन गन्तव्यमा घुम्न जाने पर्यटकको घुइँचो बाह्रैमास देख्न सकिन्छ । यसको अर्थ के हो भने छोटो समयमा थोरै खर्चमा बढी रमाइलो गर्न सकिने गन्तव्यका रूपमा काठमाडौं उपत्यका वरिपरि धेरै ठाउँ स्थापित भइसकेका छन् । ती नयाँ पर्यटन गन्तव्य पुग्न आफ्नै सवारीसाधन हुनेलाई झनै सहज हुने गर्छ । स्कुटर, मोटरसाइकल वा चार पाङ्ग्रे साधन हुनेका सपरिवार सजिलै नयाँ पर्यटन गन्तव्य घुम्न जान सक्छन् । काठमाडौं वरपरि रहेका पर्यटन गन्तव्य घुम्न जाँदा घरबाटै खानेकुरा बनाएर लान पनि सकिन्छ । होइन, उतै गएर किनेर खाने इच्छा भए राम्रा रेस्टुरेन्ट र होटल पनि पर्याप्त उपलब्ध छन् । पछिल्लो पटक काठमाडौं उपत्यका वरिपरिका डाँडामा दर्जनौं नयाँ पर्यटन गन्तव्य स्थापना भएका छन् । ती गन्तव्यमा केबुलकारदेखि, ठूला होटल, पार्क, भ्यु टावर, शिशाको पुल, पिङमात्र नभई मिठा र गुणस्तरीय परिकार खुवाउने रेस्टुरेन्ट अनि सानोतिनो खर्चले धान्ने मध्यमस्तरका रेस्टुरेन्ट, पसल ठूलो संख्यामा पाइन्छन् । त्यसकारण ठूला चाडबाडको छेको पारेर घुम्न निस्किने योजनामा हुनुहुन्छ भने काठमाडौं उपत्यका वरिपरि स्थापना भएका केही पर्यटन गन्तव्य तपाईं र तपाईंको परवार, इष्टमित्र अनि साथीभाइलाई स्वागत गर्न आतुर छन् । यी हुन् काठमाडौं उपत्यकाका पर्यटकीय गन्तव्य चन्द्रागिरि काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि उपयुक्त गन्तव्य हो । समुद्र सतहबाट २ हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । चन्द्रागिरि जानका लागि काठमाडौं थानकोटदेखि केबुलकारको सुविधा पनि छ । यद्यपि, चन्द्रागिरि पुग्न थानकोटबाट पदयात्रा पनि गर्न सकिन्छ । विशेषगरी चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ । चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर पनि रहेको छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ । अहिले चन्द्रागिरिमा सुविधा सम्पन्न होटलहरू बनिसकेका छन् । त्यहाँ पारिवारिक माहोलसहितका पूर्वाधारसमेत विकास गरिएको छ, जहाँँ बच्चादेखि वृद्धवृद्धासम्म रमाउन सक्छन् । त्रिभुवन पार्क यदि तपाईं दशैं बिदामा काठमाडौं वरिपरि नै घुम्ने योजना बनाइरहनुभएको छ भने तपाईंका लागि त्रिभुवन पार्क पनि उपयुक्त गन्तव्य हो । राजा त्रिभुवनको नामबाट नामाकरण गरिएको यो पार्क शान्त र रमणीय छ । यो पार्क कलंकीबाट ६ किलोमिटर दूरीमा रहेको छ । काठमाडौंको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको त्रिभुवन पार्कमा तपाईं परिवार र साथीभाइसँग गएर पिकनिक पनि मनाउन सक्नुहुन्छ । त्रिभुवन पार्कभित्र १५ वटा पिकनिक स्पटहरू छन् । जसमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता छ । हरियाली जंंगलभित्रका स–साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर/चिर्बिर आवाजले मनै आनन्दित बनाउँछ । यस स्पटमा पुग्न रत्नपार्क, कलंकीबाट सहजै सार्वजनिक गाडी पाइन्छ । स्वप्न बगैंचा (ड्रिम गार्डेन) यदि तपाईं दशैं बिदामा आफ्नो प्रेमी वा प्रेमिकासँग घुम्न जाने, समय बिताउने योजनामा हुनुहुन्छ भने पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहासिक र सुविधासम्पन्न पार्क छ- गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । यो उपत्यकाभित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । ६ ऋतुका नामबाट निर्माण गरिएका आराम गृह, पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा बस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएका छन् । यो युवाजोडीका लागि मात्र नभइ परिवारसहित घुम्न र रमाइलो गर्न पनि सकिने ठाउँ हो । बालाजु पार्क बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्त्वको पर्यटकीयस्थल पनि हो । यद्यपि, यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ । बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो । यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गहिरो पनि बनाउन मद्दत गर्छ । नगरकोट काठमाडौंनजिकै रहेको अर्को पर्यटकीय गन्तव्य हो, नगरकोट । काठमाडौंबाट ३५ किलोमिटर दुरीमा रहेको नगरकोट निकै चर्चित गन्तव्य हो । सार्वजनिक यातायात तथा आफ्नै निजी सवारी चढेर एक–डेढ घन्टामै नगरकोट पुग्न सकिन्छ । बिदाका बेला नगरकोट भरिभराउ नै हुने गर्छ । करिब २२ सय मिटर उचाइमा रहेको नगरकोटको टावरबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । शिवपुरी–चिसापानी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय स्थल चिसापानी । यस स्थानबाट प्रकृतिक सुन्दर हरियाली, सूर्योदय र हिमालको मनमोहक दृश्य अवलोकन गर्ने सकिन्छ । बिदामा हाइकिङ जान इच्छा राख्नेहरूका लागि चिसापानी उपत्यका नजिकैको उपयुक्त गन्तव्य पनि हो । परिवार तथा साथीभाइसँग जाँदा यो यात्रा रोमाञ्चक पनि हुन्छ । शिवपुरी निकुञ्जको घना जंगल छिचोल्दै चिसापानी डाँडामा पुगेपछि हिमालको दृश्यावलोकन गर्न पाइन्छ । त्यहाँ खान र बस्नका लागि होटेलहरूको पनि व्यवस्था छ । २ हजार ५ सय ६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडाबाट हिमाली शृंखला, हरियाली घना जंगललगायत दृश्यहरू हेर्न सकिने हुँदा प्रकृतिप्रेमीहरूका लागि चिसापानी घुम्नका लागि उपयुक्त थलो हो । आफ्नो समयलाई अविस्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो । लाँकुरी भञ्ज्याङ ललितपुरमा रहेको लाँकुरी भञ्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृंखला, गणेश हिमाललगायत हिमालहरू अवलोकनका लागि परिचित छ । साथ, लाँकुरी भञ्ज्याङबाट उपत्यकाका तीनवटै सहरको विहंगम दृश्य देख्न सकिन्छ । चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुँदै लाँकुरी भन्ज्याङ पुगिन्छ । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भञ्ज्याङ उपयुक्त छ । यहाँ होटल, रिसोर्ट तथा होमस्टेहरू पनि प्रसस्तै छन् । गोदावरी प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दुरीमा रहेको गोदावरी यो एक उत्तम गन्तव्य हो । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ । पिकनिक र पारिवारिक रिफ्रेसका लागि गोदावरी उपयुक्त स्थान हो । यस क्षेत्रमा बस्नका लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ ।
९ महिनामा मुस्ताङमा एक लाख पर्यटक, सार्क राष्ट्रबाट धेरै
म्याग्दी । गएकाे ९ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ । असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । सन् २०२३ मा एक लाख २१ हजार तीन सय ५२ जनाले भ्रमण गरेका थिए । उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रएिका थिए । आठ हजार तीन सय ९७ जना मनाङ हुँदै पाँच हजार चार सय मिटर अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भित्रिएका हुन् । हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ ।
दसैँमा पदयात्रामा गर्दै हुनुहुन्छ ? एक्लै नहिँड्नुस्, औषधि र हलुका खानेकुरा बोक्नुस्
काठमाडौं । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् । बर्सेनि लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको पदयात्रामा निस्कन्छन् । तपाईं पनि यसपालिको दसैँ बिदामा पदयात्राका लागि कुनै गन्तव्यस्थल रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे ‘टान’ गण्डकीका अध्यक्ष आचार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा. रविन कडरिया र पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर सामग्री प्रस्तुत छ । खर्चको जोहो तपाईं कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको रु तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदयात्रा गन्तव्यमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पनि बोकेर जाँदा सजिलो हुन्छ । गन्तव्यस्थलको पूर्वअध्ययन आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ । बन्दोबस्ती याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महँगो पनि पर्छ । गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाका सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यही अनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ । एक्लै नहिँड्नुस्न याँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनु हुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् । औषधि र हलुका खानेकुरा पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नु हुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदाम आदि साथमा राख्दा राम्रो हुन्छ ।