नेपाल वायुसेवा निगमले गर्‍यो ६ अर्ब ३२ करोड ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको जानकारी दिएकाे हाे । निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । कोभिड-१९ का कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौं । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । ‘माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ,’ उनले भने, ‘आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।’ ‘आज विहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौं सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्,’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएको छ । बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ । काठमाडौंबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचना अधिकारी कर्णले बताए । हिमाली भेगमा लागेको बाक्लो तुँवालोका कारण आज कुनैपनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएको छ ।

दशैंमा २ लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौं । बडादशैंको ५ दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल २ लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्यांक अनुसार दशैंको फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ १ लाख ६० हजार ९ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५ सय १२ जनाले हवाई यात्रा गरेका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दशैंको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ २ हजार १ सय ५९ र अन्तर्राष्ट्रियतर्फ ७ सय ८१ गरी कुल २ हजार ९ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको संख्या हो । दशैंको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार २ सय ४२ जनाले हवाई यात्रा गरेका थिए । असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल ४ लाख २७ हजार ९ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ २ लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् । यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ ५ हजार १ सय ८ र अन्तर्राष्ट्रियतर्फ १ हजार ७ सय ४४ गरी कुल ६ हजार ८ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ । यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५ सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७ सय ४ जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् । दशैंको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् । बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।