पर्यटकको रोजाइमा माग्दीको टोड्के
म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तीगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अड्कििने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्वदन्ती रहेको पूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए । ‘हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैंसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,’ ७० वर्षीय आचार्यले भने ‘प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।’ समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो । काठमाडौँबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाए। ‘शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,’ उनले भने ‘बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन ।’ ऋतु, मौसम र समय अनुुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताए। ‘पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,’ उनले भने ‘शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।’ स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ । मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताए । ‘वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,’ उनले भने ‘खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।’ टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताए। दसैँ तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उनले बताए । नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तव्य बनेको उनले बताए । तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ । २९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ । टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उनले जानकारी दिए। टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेन्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेन्चुरी पदमार्ग महत्वपूर्ण वैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरू मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«कीङ व्यवसायी एशोसियसन ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरूमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताए । टोड्के र झिँका बासिन्दाहरूले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् । रासस
धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर भैरहवा डाइभर्ट, धादिङको आकाशबाट फर्कियो
काठमाडौं । धनगढी काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण भएको छ । प्रतिकूल मौसमका कारण धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण भएको हो । धनगढीबाट साँझ ७ बजे काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौंमा अवतरण हुन नसकेर भैरहवा डाइभर्ट भएको जानकारी आएको छ । अहिले जहाज भैरहवामै छन् । जहाज धादिङको आकाशबाट डाइभर्ट भएको बुझिएको छ । बुद्ध एयरको यू ४२५६ जहाज भैरहवा विमानस्थलमा हवतरण भएको हो । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ । असोज १५ गते बिहीबार हेलिकप्टरसहित पाँच सय ११ उडान भए । बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कूल पाँच सय ९९, मंगलबार पाँच सय ११ र बुधबार चार सय ७३ वटा उडान भएका छन् । बिहीबार र शुक्रबार केही उडान चाप घटेको छ । दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुबैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो । उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या पनि थपेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ । विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ । आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन् । अन्तर्राष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ । हवाई उडान चाप बढेपछि एयर ट्राफिक व्यवस्थापनका साथै हवाई उडानको सुरक्षाको सन्दर्भ पनि आउँछ । उडान चापले विमानस्थल व्यवस्थापनदेखि एयरलाइन्स, विमान चालक (पाइलट) तथा गन्तव्यका विमानस्थलको व्यवस्थापकीय र सुरक्षाको प्रश्न उठ्नु स्वभाविक पनि हो । त्यसो हो भने उडान चाप हुँदा हवाई सुरक्षाको सन्दर्भलाई कसरी हेरिन्छ त १ यसै सन्दर्भमा हवाई क्षेत्रका जानकारहरुसँग केही जिज्ञासाको उत्तर खोज्ने प्रयास गरिएको छ । हवाई उडान चाप रहेपनि हवाई सुरक्षालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइएको नियामक निकाय एवं एयरलाइन्सका अधिकारीले दाबी गरेका छन् । उनीहरुले हवाई उडान सुरक्षामा कुनै सम्झौता नहुने उल्लेख गरे । आन्तरिक उडानमा आवश्यक जनशक्ति २४सै घण्टा खटिएर सेवालाई चुस्त र प्रभावकारी बनाइएको उनीहरुको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले यात्रुको चाप बढेपछि उडान व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिएर नागरिकलाई गन्तव्यमा पुर्याउन सबै सक्रिय रुपमा लागेको बताए । ‘हवाई सुरक्षामा शून्य सहनशीलता अपनाइएको छ । सुरक्षा र सेवालाई समानान्तर रुपमा अघि बढाइएको छ’, महानिर्देशक अधिकारीले भने, ‘विपद्को समयमा सहर–सहरबीच सम्पर्कविच्छेद छ, अहोरात्र खटेर उड्डयन क्षेत्रका कर्मचारी, एयर ट्राफिक कन्ट्रोलर (एटिसी), प्राविधिक, प्रशासनिक कर्मचारी, सुरक्षा निकाय, ‘फायर फाइटिङ’का कर्मचारीले मेहनतकासाथ काम गरिरहेका छन् अनेकौँ असहजताकाबीच यो स्तरको सेवा दिइएको छ, यसमा सबैले सकारात्मक कोणले हेर्नुपर्छ ।’ वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले उडान चाप व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई सम्पूर्ण एयरलाइन्सले तदारुकताका साथ ध्यान दिएर यात्रुलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याइरहेको बताए । उनले भने, ‘सबै हवाई सेवा कम्पनीले पूर्ण क्षमताका साथ उडान सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षामा कुनै सम्झौता हुदैन, प्राविधिक जनशक्तिको क्षमता र विमानको क्षमता हेरेर आवश्यक जनशक्तिसहित व्यवस्थापन गरिएको छ ।’ यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सडक अवरुद्ध हुदाँ रोकिएका यात्रु विभिन्न गन्तव्यमा पुग्न हवाई माग रोज्जुको विकल्प छैन । सडकमार्ग अवरुद्ध हुँदा अहिले हवाई उडानमा चाप रहेको र यसले एयरलाइन्सबीचको प्रतिस्पर्धा पनि बढाएको हवाई विज्ञ अच्युत पहाडीले बताए । ‘फेयर पाइटिङ र एयरलाइन्सको प्रतिस्पर्धाले पनि जोखिम बढी हुनसक्छ, हवाई सुरक्षाप्रति सतर्क हुनुपर्छ, हवाई सुरक्षालाई नियामक निकायले प्रभावकारी अनुगन गर्नुपर्छ’, उनले भने । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढ्ने र उडान डिले हुने तथा होल्डमा बस्नुपर्ने अवस्था हुन्छ । नियामक प्राधिकरणले एयरलाइन्सको माग र विमानस्थलको क्षमताका आधारमा उडान अनुमति दिने गरेको छ । ‘एयरलाइन्सको माग अनुसार आवश्यकता हो की हैन प्राधिकरणले विमानस्थलको एयर ट्राफिक क्षमता, टर्मिनलको क्षमतालाई विचार गरेर अनुमति दिने गर्छ’, प्रवक्ता शेर्पाले भने । विमान होल्ड हुनुमा विभिन्न कुराले काम गर्ने बताइन्छ । विज्ञहरुका अनुसार इन्स्टुमेन्ट फ्लाइट रुल (आइएफआर) उड्ने विमानको मापदण्ड बढी हुन्छ । ‘विमान आइएफआरमा उडेपछि उसको नियम र आफ्नै मापदण्ड अनुसार कुन ठाउँमा विमान पुगेपछि अर्को विमानलाई कहाँसम्म जान दिने भन्ने हुन्छ । आइएफआरको मापदण्ड अनुसार उड्नुपर्ने भएकाले मौसम जस्तो भएपनि मापदण्ड कडिकडाउ हुन्छ’, प्रवक्ता शेर्पाले भने । भिजुअल फ्लाइट रुल (भीएफआर) उड्ने विमानको कम ‘सेप्रेसन स्टान्डर मेन्टेन’ गर्नुपर्ने हुन्छ । आइएफआरको मापदण्ड बढी भएकाले आवश्यकता, औचित्य हेर दिन मिल्ने नमिल्ने निर्णय लिइन्छ । यती एयरलाइन्सका हवाई सुरक्षा समेत हेर्ने प्रवक्ता सुदर्शन बर्तौैलाले उडान चाप व्यवस्थापनसँगै हवाई सुरक्षालाई पनि विशेष ध्यान दिएर सोही अनुरुप दक्षशक्ति परिचालन भइरहेको बताए । ‘यात्रुको चाप बढ्दैमा ‘सेफ्टीलाई कम्प्रोमाइज’ गरेर विमानहरु उड्दैनन्’, उनले भने, ‘हवाई सुरक्षामा कुनै सम्झौता हुँदैन । उडान ढिलो हुनुमा विमानको मर्मतलगायतको पाटोलाई पनि सँगै लैजानुपर्ने भएकाले हो, एयरलाइन्सले हवाई सुरक्षालाई मध्यनजर गर्दै दैनिक तीन सिफ्टमा प्राविधिक जनशक्ति परिचालन गरेर काम गरिरहेका हुन्छन्, त्यसैले उडान चापले सुरक्षा जोखिम हुँदैन ।’ लामो मर्मत र उडानको समयमा हुने छोटो मर्मत दुबैलाई एयरलाइन्सले समानान्तर रुपमा लगिरहेका हुन्छन् । सीमित सङ्ख्याका विमान र उडान व्यवस्थापनालाई मध्यनजर गर्दै उडान सञ्चालन गरिरहेका एयरलाइन्सहरुले जनाएका छन् । ‘यात्रुले टिकट पाएनन् भने पनि एयरलाइन्सलाई नै दोष दिने, बढी पैसा लिए, ढिलो उडाए जस्ता आरोप खेपिरहेकै छौँ’, श्री एयरलाइन्सका संस्थापक प्रबन्धक अनिल मानन्धरले भने, ‘आरोप पनि खेपिरहेका छौँ, दबावमा सेवा पनि सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिइएको छ ।’ हवाई सुरक्षा मापदण्डलाई कडिकडाउ गरिएको छ । एउटा विमान अवतरण गरेपछि कति समयपछि उडान भर्ने भन्ने आफ्नै नियम हुन्छ । सोही अनुरुप मापदण्डका आधारमा उडान सञ्चालन हुन्छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उडान चापले उडानहरु ‘डिले’ भइरहेका छन् । उडान डिले हुनुमा एयर ट्राफिक जाम र मौसममा पनि भर पर्ने गरेको उनको भनाइ छ । अहिले सबै गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । जहाज सङ्ख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको हो । विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाईयात्रुको चाप हुने गरेको थियो । यसपटक अविरल वर्षापछिको बाढी पहिरोलगायत विपद्का घटनाले सडकमार्ग अवरोध हुँदा हवाई उडानमा थप चाप बढ्न गएको हो । उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज ९घटस्थापना०देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएको छ । रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने जनाइएको छ । सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् । काठमाडौंबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ । यसैबीच हवाई यात्रुको चाप अत्याधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । श्री एयरलाइन्सले पनि आजदेखि काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान सञ्चालन गरेको छ । कम्पनीले कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ । यती एयरलाइन्सले पनि काठमाडौं–भद्रपुर–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौंमा एक–एक उडान थपेको छ । साथै आजबाट काठमाडौं–जनकपुर–काठमाडौं गन्तव्यमा एक उडान थपिएको एयरलाइन्सले जनाएको छ । रासस