उपल्लो मुस्ताङ पर्यटकका लागि ‘भर्जिन एरिया’, अर्धनिषेधित क्षेत्रको तगारो

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन् । लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायीहरू निमाजस्तै पलायन हुने अवस्थामा रहेको बताउँछन् । ‘उपल्लो मुस्ताङ पर्यटकका लागि ‘भर्जिन एरिया’ हो । यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन भएसँगै करोडौँ लगानीमा सुविधायुक्त होटल सञ्चालन भए, अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शूल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायी पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको हो,’ उनले भने । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरलानाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमै अवस्थित छ । करोडौँ लगानीमा खुलेका होटल सुनसान निषेधित क्षेत्रका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो । बिदा र चाडपर्वको समयमा घुम्न आउने नेपालीले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ । लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक ४ सय पर्यटक बास बस्न सक्ने क्षमता छ । धेरैजसो होटल सधैँ रित्ता हुने मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताए । पर्यटक आगमन कम हुँदा उपल्लो मुस्ताङमा रहेका ७० वटा होटलका सञ्चालक समस्यामा परेका छन् । एउटा होटल स्थापनाका लागि सरदर ३ करोड ५० लाख रुपैयाँ लगानी भएको सचिव छेवाङले बताए । दैनिक १ हजार ५ सय पर्यटक बस्न सक्ने होलटको क्षमता भए पनि वार्षिक ३ हजार जनाको हाराहारीमा मात्र पर्यटक पुग्ने गर्छन् । विदेशीको तुलनामा केही बढी नेपाली उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरूको आधिकारिक तथ्याङ्क छैन । अर्धनिषेधित क्षेत्र र महँगो शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासका लागि तगारो बनेको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्यसमेत रहेका व्यवसायी लाक्पा वाङ्दी गुरुङले बताए । ‘पर्यटक आगमनलाई सहज बनाउन सकेमा राज्य, व्यवसायी र समुदायलाई पनि फाइदा पुग्ने थियो, अर्धनिषेधित क्षेत्रका कारण युवायुवतीहरू व्यवसाय छाडेर विदेश पलायन हुने क्रम बढेको छ,’ उनले भने । १० दिन घुम्न ५ सय डलर शुल्क चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सुरक्षा संवेदनशीलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको हो । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) गर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न नेपालीबाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० रुपैयाँका दरले शुल्क तिर्नुपर्ने नियम छ । लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङभन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । वार्षिक ३ हजार पर्यटक सन् २०२३ मा ७० देशका ३ हजार ४८४ जना विदेशी नागरिकले भ्रमण गरेको उपल्लो मुस्ताङमा सन् २०२४ मा पनि सोही सङ्ख्याकै अनुपातमा पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताए । सन् २०२२ मा तीन हजार एक सय १२, २०२१ मा ३३२, २०२० मा ६२ र सन् २०१९ मा ३ हजार ९१८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी ४ हजार ११५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । तथ्याङ्कानुसार मुस्ताङ भित्रने कुल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जाँदैनन् । आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए । निषेधित क्षेत्र हटाउन माग निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए । ‘उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्दा पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ, शुल्कसमेत अत्यधिक बढी भएकाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका छौँ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत सबैजसो गृहमन्त्रीलाई भेटेर अर्धनिषेधित क्षेत्र हटाउन माग गरिएको अध्यक्ष गुरुङले बताए । उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउने यहाँको पछिल्लो समयको राजनीतिक मुद्दा बनेको छ । चीनको सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाएर अर्धनिषेधित क्षेत्र हटाउनुपर्ने मुस्ताङका सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । अर्धनिषेधित क्षेत्र हटाउन नसकेको अवस्थामा प्रवेश शुल्क घटाउनुपर्ने, छिमेकी चीन, भारत र सार्क राष्ट्रका पर्यटकलाई सहुलियत दिनुपर्ने विकल्प पनि उनीहरूले अघि सारेका छन् । अर्धनिषेधित क्षेत्रका बासिन्दाले आफूहरूमाथि एउटै देशमा दुईथरि कानुन लागू भएको गुनासो गर्छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ र वडा नं ५ साङ्ताका बासिन्दा अर्धनिषेधित क्षेत्र भए पनि सोअनुसार राज्यले उपलब्ध गराउने सेवासुविधाबाट वञ्चित हुनुपर्दा दोहोरो मर्कामा परेका छुसाङका वडाध्यक्ष विनोद गुरुङले बताए । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन (थकाली)ले सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाउँदै निषेधित क्षेत्र हटाउन आवश्यक ऐन, कानुन संशोधनको प्रक्रियामा रहेको बताए । ‘जिल्ला तहबाट आएको सिफारिसअनुसार गृह मन्त्रालयले अध्यागमन विभागमार्फत राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायसँग राय–सुझाव मागेको छ, गृहमन्त्री रमेश लेखकसँग बिहीबार भएको भेटमा पनि अर्धनिषेधित क्षेत्र हटाउने विषयमा ध्यानाकर्षण गराएको छु,’ उनले भने । मन्त्रालयले पहिलो चरणमा वारागुङ मुक्तिक्षेत्रको छुसाङ र साङ्ताको अर्धनिषेधित क्षेत्रलाई आंशिक खुलाउने तयारी गरेको जानकारी दिँदै गौचनले अर्को चरणमा लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको निषेधित क्षेत्र हटाउने अथवा आंशिक हटाउने भन्ने निर्णय हुने प्रतिक्रिया पाएको बताए ।रासस

पोखरामा अन्तर्राष्ट्रिय बलुन फेस्टिभल हुने, ६ करोड ८२ लाख खर्च हुने अनुमान

काठमाडौं । नेपालमै पहिलो पटक पर्यटन राजधानी पोखरामा अन्तर्राष्ट्रिय बलुन फेस्टिभल आयोजना हुने भएको छ । क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म  महोत्सव आयोना गर्न लागिएको बिहीबार काठमाडाैंमा कार्यक्रम आयाेजना गरेर जानकारी दिइएकाे हाे  । बलुन नेपाल प्रालिले आयाेजना गर्न लागेकाे महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा हुनेछ । नेपाल बलुन प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरूको सहभागिता रहने उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए । ‘पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ,’ अध्यक्ष बाडेले भने । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा रहेकाे उनकाे भनाइ छ ।  कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास व्यक्त गरिएकाे छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दै खुसी व्यक्त गरे । उनले भने, ‘एअर स्पोर्टस् एड्भेञ्चर सबै पोखराबाटै सुरु भएका छन्, हामीले जुनसुकै क्षेत्रमा आबद्ध भएर काम गरे पनि ती सबै राष्ट्रिय हितकै लागि भएका छन्, तसर्थ पोखरामा आयोजना हुन लागेको अन्तर्राष्ट्रय बलुन फेस्टिभलले पनि नेपालको समग्र पर्यटन प्रवर्द्धन नै टेवा पुर्‍याउनेछ ।’ विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता सुरु भएको थियो । प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन् । उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन् । त्यसबाहेक सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिभलल पनि विश्वभर प्रख्यात छ । त्यसबाहेक जापानमा सागा इन्टरनेशनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बलुन फेस्टिभल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन् । आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब ३ सय वटा गैर व्यावसायिक उडान हुनेछन् । फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ । फेस्टिभल आयोजना गर्नका लागि ६ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुछ्रे र धौलागिरीलगायतका हिमश्रंखलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ । विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पनन ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।

ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने, संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले यही असोज ११ गते (सेप्टेम्बर २७ तारिखका दिन) महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोष्टको सहकार्यमा आयोजना हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । विगतमा कर्मचारी सञ्चय कोष अगाडि मात्रै आयोजना गरिने कार्यक्रमलाई यो वर्ष व्यापक बनाई ठमलेका विभिन्न सात क्षेत्रमा केन्द्रित रहनेछ । जसअनुसार कर्मचारी सञ्चयकोष परिसरमा सांस्कृतिक उत्सव, नरसिंह चोकमा कान्तिपुरकला, पर्यटन मार्गमा चङ्गाहरूले भरिएको आकाश, सात घुम्तीमा स्वादिष्ट यात्राका साथै मय थाई खेलाडीले मार्सल आर्ट प्रस्तुत गर्नेछन् । त्यस अवसरमा साङ्गीतिक दबूः, टयाटु उत्सवलगायत कार्यक्रम गरिने परिषद्ले जनाएको छ । ठमेललाई पर्यटनको जीवन्त केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले विगतभन्दा पृथक ढङ्गले पर्यटन दिवसलाई महोत्सवका रुपमा मनाउन लागिएको परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताए । उनले महोत्सवले ठमेलको प्रमुख पर्यटकीय गन्तव्यको हैसियत बढाउने र साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरे । रेष्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले महोत्सवका माध्यमबाट ठमेलको जीवन्त संस्कृति, पाककलाको प्रस्तुतिले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सव बिहान १० बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवका लागि करिब रु १८ लाख खर्च लाग्ने तथा १० हजार बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पर्यटकीय याम सुरु भएका सन्दर्भमा महोत्सवलगायत गतिविधिले मुलुकको पर्यटन बढोत्तरीमा टेवा पुग्ने जनाइएको छ ।