आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले ६ हजार १ सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरेका हुन् । उनीहरुले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन् । उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीहरुले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘र्यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन् । प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरु हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को भूमिका, आरोहणको क्रममा हुने ‘बडि वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसवास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको उक्त प्रयोगात्मक आरोहणका प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिए । आरोहणमा पेम्बासँगै अर्का प्रशिक्षक नरबहादुर अस्थानीसमेत सहभागी थिए । पिक प्रोमोसन प्रालि नामक कम्पनीले गाँसवास तथा आरोहण अनुसन्धानको व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त कम्पनीका प्रबन्ध निर्देशक आङबाबू शेर्पाले विद्यार्थीले गरेको यो अध्ययन आरोहण ऐतिहासिक भएको प्रतिक्रिया दिए । ‘प्लस टु’ पछि पढ्न पाइने बिएमएस अर्थात ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ का विद्यार्थीहरुले पढाइ सक्ने वित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ । हाल बिएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चार जना पाइलटसमेत अध्ययनरत छन् ।

तीन महिनामै अन्नपूर्ण क्षेत्रमा ३४ हजार छ सय ५१ विदेशी पर्यटक भित्रिए

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या छ हजार तीन सय १४ थियो । आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ८२ र अन्य देशका ११ हजार चार सय छ जना छन् । अगष्टमा सार्क क्षेत्रका तीन हजार तीन सय ८३ र अन्य मुलुकका दुई हजार नौ सय ३१ पर्यटकले एक्यापको भ्रमण गरेका थिए ।जुलाईमा सार्क क्षेत्रका तीन हजार तीन सय ५० र अन्य मुलुकका एक हजार आठ सय ९३ जनाले भ्रमण गरेका थिए । एक्यापभित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमैडाँडा, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक पर्यटक पनि यही याममा बढी आउने गरेका छन् । गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिएभने तिनमा एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना थिए ।

‘यात्रुको चाप बढ्दा भाडा महँगो भएको हो, एयरलाइन्सहरूसँग उडान थप्न आग्रह गरेका छौं’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् । मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे । उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको संख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताए । उनले यात्रुहरू सहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको बताए । मन्त्री पाण्डेले सरकारले महँगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि दाबी गरे । यस पटक धेरै टिकटहरू पहिला नै बिक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताए । उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको जानकारी दिए । उनले यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरूसँग आग्रह गरेकाे पनि बताए ।