वायुसेवाको जहाज सि-चेकपश्चात् काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन-यएलजेड जहाज सि-चेकपश्चात् सोमबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी नाइन-य एलजेड (मकालु) को जहाज नियमित सि-चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र संघीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल संगठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरु युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताए । उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

गुरुङ, श्रेष्ठ र राणा मिलेर बनाउने होटलको निर्माण सुरु, दरबारमार्गमा यस्तो बन्दैछ २५ तले होटल

काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला होटल अन्नपूर्ण रहेको थियाे । सोमबार एक विशेष समारोहकाबीच भूमिपूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । ‘भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,’ उनले भने, ‘दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौं । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।’ अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ, जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तीमा पनि ६ अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ । ‘सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौं,’ भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘२०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले पुरानो संरचना भत्काइरहेका छौं । नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौं ।’ साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए । ‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरुङले भने, ‘साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ । धेरै राम्रा कोठा हुनेछन् तर महंगा होइनन् । मूल्य रिजनेबल हुन्छ ।’ आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए ।

प्रभु केबलकारले ३० करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको तीस करोड रुपैयाँको आईपीओ जारी गर्ने भएकाे हाे । कम्पनीको आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य अघि बढाउनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि सम्झौतापत्रमा प्रभु केवलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्माले हस्ताक्षर गरे । प्रभु केवलकारको लगानीमा तीनवटा केवलकार परियोजना अगाडि बढेका छन् । जसमध्ये बुटवलमा गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र पाल्पाको नुवाकोटगढी जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आइसकेका छन् । उक्त केवलकारबाट छोटो समयमा नै ७५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यात्रा गरिसकेका छन् । केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ, जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिकलगायत विभिन्न पुरातात्विक सम्पदासमेत रहेका छन् । त्यस्तै, प्रभु केवलकारको लगानीमा सुदूरपश्चिमस्थित बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्कासनका लागि यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५ करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड स्थापित भएकाे थियाे ।