तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
काठमाडौं । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छभने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ । भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल अपराह्नपख मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् । ‘बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरुमा उडान प्रभावित भएको छ’, प्रवक्ता शेर्पाले भनिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रुपमा सञ्चालन भइरहेका छन् । यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ ।
वाइडबडी विमान खरिदमा ४ जना दोषी ठहर, १ अर्ब ४७ करोड रुपैयाँ बिगो
काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो १ अर्ब ४७ करोड १० लाख रुपैयाँको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ । विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ । ढुङ्गानालाई कुल बिगोको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना हुने फैसला भएको छ । पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ । अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवानाको फैसला गरेको छ । अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।
ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’, खानामा १५ परिकार स्वाद
काठमाडौं । पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्षेत्र ठमेलमा विभिन्न भोजनालय विस्तारको काम तीब्र रूपमा भइरहेको छ । यहाँ पर्यटकलाई लक्षित गरी स्वादिष्ट भोजनका लागि विभिन्न ब्राण्डहरू खुलिरहेका छन् । यसैक्रममा पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामोसमय पर्यटन र सेवा उद्योगमा क्रियाशील ‘अर्थ बाउण्ड एक्सपेडिसन’ का राजन सिंखडा, मकालु एड्भेञ्चरका मोहन लम्सालको अग्रसरता र शेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो । नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवर्द्धन तथा प्रचारप्रचार गर्ने र सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय सिम्खडा तथा मोहन लम्सालले बताए । सिम्खडाले नेपाली खानाको परम्परागत शैलीलाई प्राथमिकता दिइएको बताए । ‘नेपाली खानाको आधार नै अचार हो । सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने छन् । थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने प्रयास गरिएको छ । हाम्रो यहाँ मासुसहित विभिन्न १५ परिकार समावेश छन्,’ उनले भने । गोल्डेन थालीमा विभिन्न परिकार विकल्पका रूपमा छन् । यहाँ मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल रुचिअनुसार छनोट गरेर खान पाइन्छ । ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ । ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको सञ्चालक लम्सालले जानकारी दिए । यहाँ एकैपटक एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता रहेको उनले बताए । ‘हाल बिहान ११ बजेदेखि राति १० बजेसम्म सेवा दिइरहेका छौँ । हामीले शाकाहारी भोजनका लागि ५५० रुपैयाँ र मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लिने गरेका छौँ,’ उनले भने । द गोल्डेन थालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनु ढकालले थरिथरीका नेपाली पाक-अनुभव बोटल्न सकिने स्थानका रूपमा विकास गर्दै जाने योजना रहेको बताइन् ।