पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।

छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै, रोजगारीको अवसर सिर्जना हुने

तम्घास । जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । ‘पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धनमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘रोजगारी सिर्जनाका लागि जिपलाइन निर्माण गरेका हौँ ।’ अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर सञ्चालन गर्नुपर्ने भन्दै उनले र अन्य पालिकाले पर्यटन पर्वद्धनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । ‘यहाँ निर्मित जिपलाइनमार्फत पर्यटकलाई थप आकर्षित गर्न अन्य स्थानीय तहले पर्यटकीय पूर्वाधार निर्माण गरेमा जिल्लामा नै पर्यटक भित्राउन सकिन्छ’, अध्यक्ष पाण्डेले भने । उनका अनुसार निर्मित जिपलाइनमा दुई टावरबीचको दूरी नौ सय ६० मिटर रहेको छ भने कूल लम्बाइ एक हजार ८० मिटर र उचाइ ६७ मिटर छ । जिपलाइनमा प्रतिसेकेण्ड १५ देखि २० मिटर दूरी पार गर्न सक्नेछ । सुरु स्टेशनबाट ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय भने फरक पर्नेछ । प्रमुख प्रशासकीय अधिकृत पुरीले ८६ लाख ७३ हजार एक सय ४४ रुपैयाँमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले जिपलाइन निर्माण सम्पन्न गरेको हो । यसबाट यात्रा गर्न पालिकाबासीलाई चार सय रुपैयाँ, विद्यार्थीका तीन सय रुपैयाँ, छत्रकोटभन्दा बाहिरका नागरिकलाई पाँच सय रुपैयाँ र विदेशी नागरिकका एक हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको पालिका कार्यालयले जनाएको छ । जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि १० लाख रुपैयाँको बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । हाल पालिकाले सञ्चालन गर्ने जिपलाइनको दिगो सञ्चालनका लागि पालिकाले निजी क्षेत्रलाई दिनेगरी तयारी भइरहेको भन्दै केहीदिनमा बोलपत्र आह्वानको तयारी गरिएको उनले बताए । जिपलाइन निर्माण भएसँगै पर्यटन प्रर्वद्धन हुने र रोजगारीका अवसर प्राप्त हुने भन्दै स्थानीय खुसी भएका छन् । स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवर्द्धनका साथै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन् । ‘जिपलाइनले यस क्षेत्रमा थुप्रै मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ’, स्थानीय भुवन भुसालले भने । जिपलाइनको नजिकै रिडी–तम्घास सडक पर्दछ । यहाँ वनभोजका लागि थुप्रै आन्तरिक पर्यटक आउने सम्भावना रहेको भन्दै भुसालले धार्मिक आस्थाका हिसाबले चोयघा मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन पनि बढ्ने उनले बताए । रासस

रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व संकलन सन्तोषजनक

रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईंकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए । यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरूष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, बन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको वहालबाट रु दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ । निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा रु चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताए । निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाको लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ । यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवं जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईंकुण्ड जादाँ काठे–लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गरे । धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेदको लठ्ठी प्रयोग गरेकाले भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताए । यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्टे«शन पारित गरेको जनाएको छ । मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् । रजिस्टेशन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५ रुपैयाँ राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिइन् । हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला–पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि  टेलिभिजनको व्यवस्था गरिएको छ । रासस