कम्बोडिया-भैरहवा सिधा उडानका लागि कम्बोडियाली मन्त्री समक्ष प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् । मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराएका थिए । भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’ को रूपमा विकास गर्न सकिने, पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो । दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानलगायत विषय पनि छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे दुई मन्त्रीबीच विचार विमर्श भएको थियो । भेटमा संस्कृति तथा धार्मिक मामिलामन्त्री बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

२७ वर्षपछि सञ्चालनमा आयो टीकापुर विमानस्थल, १२ यात्रु बोकेको तारा एयरकाे विमान अवतरण

टीकापुर । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए । ‘गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।’ टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए । विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए । ‘यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौं–टीकापुरको एकतर्फी भाडा नौ हजार निर्धारण गरिएको छ’, उनले भने । उनले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गरे । उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौंको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन्। विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ । सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गरे । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२:३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १:२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २:०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने तालिका छ । त्यसैगरी काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।

माघ १० गतेदेखि विमानस्थल ८ घण्टामात्र बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द हुने भएको छ । कात्तिक २३ गतेयता प्रत्येक दिन १० घण्टा उडान बन्द हुँदै आएको विमानस्थल माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द हुने भएको हो । जसमा नागरिक उड्यन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले कार्तिक २३ गतेदेखि विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी ३ प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम गरिरहेको छ । प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम सुरु गरेको थियो । हाल विमानस्थल स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलमा समानान्तर ट्याक्सी वे, इन्टरनेशनल एप्रोन, ह्यांगर एप्रोनलगायत संरचना विस्तारका लागि रात्रिकालीन उडान राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरेको थियो । अब भने आगामी माघ १० गतेदेखि राति ८ घण्टामात्रै विमानस्थल बन्द हुने भुलले बताए । उनका अनुसार कार्तिक २३ अघि विमानस्थल बिहान ६ बजे खुल्ने र राति १२ बजे बन्द हुने गर्थ्यो । १८ घण्टा खुल्ने विमानस्थल पछिल्लो समय १० घण्टा बन्द हुँदै आएको छ । सूचना अधिकारी भुलले भने, ‘माघ महिनापछि हल्का तातो सुरु हुन्छ । उडान पनि बढ्ने गर्छन् । आकाश पनि सफा रहने गर्छ । हुस्सु/कुहिरो पनि हट्ने भएकाले बिहानको बन्द गरेको एक घण्टाअघि र साझँको एक घण्टापछि गरी काम गर्ने योजना बनाएका छौं ।’ माघ दोस्रो हप्तादेखि बिहान ७ बजेदेखि राति ११ बजेसम्म विमानस्थल चल्ने उनको भनाइ छ । हाललाई भने साँझ १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको उनले जानकारी दिए । विमानस्थल स्तरोन्नतिको काम सकिएपछि साविककै समयअनुसार विमानस्थल सञ्चालन हुने सूचना अधिकारी भुलले जानकारी दिए ।