आइएमई ग्रुपको लगानीमा बन्ने जालपादेवी केबलकारको शिलान्यास, ५ अर्ब लागत लाग्ने

काठमाडौं । कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । परराष्ट्र मन्त्री डा. देउवाले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।’ यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा अपिल पनि मन्त्री डा. देउवाले गरिन् । यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरुमा बढी भन्दा बढी लगानी गर्न पनि उनले आग्रह गरिन् । ‘काठमाडौंको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,’ उनले भनिन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे । ‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरु निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरु लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईहरुलाई स्वागत गर्दछौँ,’ उनले भने । उनले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए । उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए । ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने । उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए । अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । यसको शिलान्यास र अवको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । लम्की चुहाँ नगरपालिका-३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल ५ अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।

होटल हब बन्दै झापा, १.३ अर्ब लगानीमा खुल्यो होटल ‘अश्वत्थ’

काठमाडौं । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा १ अर्ब ३० करोड रुपैयाँ लगानी भएको बताए । सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले जानकारी दिए । काँकडभिट्टाबाट ४ किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । मेचीनगर-८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ बिगतदेखि सञ्चालनमा रहेको छ । झापामा अब तीन वटा पाँचतारे दर्जाका पर्यटकस्तरीय होटल भएका छन् । विर्तामोडमा यस्तै पाँचतारे होटल ‘किङ्सबेरी’ पनि सञ्चालनमा छ । अरु दुई वटा पाँचतारे स्तरका होटल झापामा प्रस्तावित छन् । यसप्रकार झापा पाँचतारे होटलको हब बनेको छ । केही दिनपछि नै सञ्चालनमा आउने होटल ‘अश्वत्थ’ले पाहुनाका लागि अनलाइन बुकिङ खुला गरिसकेको छ । होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा भएको प्रमुख व्यवस्थापक कुमार कोइरालाले बताए । होटलमा इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योग साधनाको सुविधा उपलब्ध रहेको उनले जानकारी दिए । क्यासिनोसमेत होटलमा सञ्चालन हुने भएको छ । एसियाका ३२ मुलुकलाई स्थलमार्गबाट जोड्ने एसियाली राजमार्गको निर्माण तीव्रगतिमा भइरहेको कारण नेपालको पूर्वीप्रवेशद्वार मेचीनगरमा पर्यटकीय चहलपहल बढ्ने भएकाले उत्साहित भएर पाँचतारे होटलमा आफुले लगानी गरेको सञ्चालक प्रज्ज्वल घिमिरे बताउँछन् । भारतका मुख्य सहरमा दैनिक ४० उडान भरिरहेको बागडोग्रा विमानस्थल र रात्रिकालीन सञ्चालन क्षमता भएको चन्द्रगढी विमानस्थलबाट ३० किलोमिटरभन्दा कम दूरीभित्र रहेको मेचीनगर बाह्य र आन्तरिक पर्यटकका लागि बासस्थान भएको उनले बताए । ‘भारतीय, भूटानी र बङ्गलादेशी पर्यटकलाई लक्षित गरी होटल खोलेका हौँ । भविष्यमा इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंककबाट पर्यटक नेपाल घुम्न एसियन हाइवे हुँदै नेपालमा सजिलै आइपुग्ने सम्भावना छ । यही सम्भावना देखेर धमाधम अरु होटल पनि खुलिरहेका हुन्,’ उनले भने । पूर्वीनाकाको पाँच किलोमिटरभित्र काँकडभिट्टा, इटाभट्टा र धुलाबारी बजार क्षेत्र पर्दछन् । इटाभट्टा क्षेत्रमा पाँचतारे ‘अश्वत्थ’ र ‘मेची क्राउन’ रहेका छन् । यी दुबै होटलमा क्यासिनोसमेत सञ्चालन रहेका छन् । काँकडभिट्टाका अरु दुई पर्यटकीय होटलमा मिनी क्यासिनो चलिरहेका छन् । अब मेचीनगरमा क्यासिनोको सङ्ख्या चार पुगेको छ । मेचीनगर–१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा विर्तामोडमा थप एउटा पाँचतारे होटलको निर्माण भइरहेको छ । भारतको गोवा र सिक्किममा मात्र क्यासिनो सञ्चालन हुने भएकाले भारतीय धनाढ्य नेपालका क्यासिनोप्रति आकर्षित छन् । क्यासिनो सञ्चालनले होटल व्यवसायसमेतमा टेवा पुगेको छ । होटल ‘अश्वत्थ’मा सुरुमै ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलले पर्यटकका लागि हिमाली क्षेत्रको दृश्यावलोकन गराउन माउन्टेन फ्लाइटसमेतको व्यवस्था मिलाएको प्रमुख व्यवस्थापक कोइरालाले बताए । भारतको आसाम, दिल्ली र पश्चिम बङ्गालका पर्यटकले होटलको बुकिङ गर्न थालिसकेको उनले जानकारी दिए ।

सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

काठमाडौं । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुल्नुभयो । राष्ट्रिय समाचार समिति (रासस) का लागि उनले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि विभिन्न राष्ट्रियरअन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन् । कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् । प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौंतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेका थिए । त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ मा सहभागी हुने चिनियाँ खेलाडीलाई लिएर उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज माछापुछ्रे हिमालको नजिकबाट उडिरहेको दृश्य जति मनमोहक छ, त्योभन्दा कम छैन उक्त तस्बिरमा छचल्किएको हिमालको पीडा ! ‘कुमारी हिमाल’को पगरी पाएको माछापुछ्रे मध्य जाडोमा पनि फुस्रो र निर्जन छ । हिउँबिनाको चुचुरो फुङ्ग उडेको उराठिलो छ । त्रिभुजाकारको कालापत्थर छेउबाट जहाज उडेझैँ देखिन्छ । हिमालमा सेताम्मे हिउँ हुँदो त अझ कति खुल्दो उक्त तस्बिरको सौन्दर्य ? प्रकृति र वातावरणप्रेमी जो कोहीको मनमा उब्जने प्रश्न हो यो । यो माछापुछ्रे मात्र नभएर हिउँविहीन बन्दै गएका हाम्रा हिमालहरूको साझा र दुःखदायी कथा हो । हिमालय क्षेत्रले झेलिरहेको वातावरणीय सङ्कटको ज्वलन्त प्रमाण हो । वर्षायाममा नाङ्गा र काला देखिने हिमाल अहिले हिउँदमा पनि उस्तै देखिन थालेका छन् । पुस महिना आधाउधी बितिसक्दा पनि हिउँ पर्ने कुनै छेकछन्द छैन । जाडोको खासै महसुस गर्न नपाइ हिउँद बिताउनुपरेको अनुभव नौलो हुन छाडेका छन् । हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् ? हिउँबिनाको हिमाल के हिमाल ! हिउँ भए र पो हिमालहरू छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् । हिमालबाट यसरी नै हिउँ रित्तिँदै गए हिमाल नियाल्न आउने पर्यटक पनि एकदिन निरास हुनेछन् । हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रले पनि अवश्य भोग्नेछ । विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन् । पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ । ‘विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ । विश्वको औषत तापमान एक दशमलव पाँच प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा एक दशमलव आठदेखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ,’ उनी भन्छन् । जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पुर्‍याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उनी बताउँछन् । कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढीरहेको वातावरणीय अध्येता अर्यालको भनाइ छ । कमजोर भू-बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारणले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ । सोही कारण हिमालय क्षेत्रमा अप्रत्यासति प्राकृतिक विपद्का घटना निम्तिने गरेका छन् । जलवायु विज्ञ डा विमल रेग्मीले अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरू कालापत्थरमा परिणत हुने बताउँछन् । विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीको भनाइ छ । ‘अहिले नै विश्वव्यापी तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ,’ डा रेग्मी भन्छन्, ‘हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।’ उनका अनुसार सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्ने र दुई डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ । ‘कार्बनडाइअक्साइड, मिथेन जस्ता मानव उत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ । विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हाम्रा हिमालहरूमा परिरहेको छ,’ उनले भने । हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि ०.००६ प्रतिशतले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ । जलवायुजन्य प्रकोपका घटना हिमालय क्षेत्रमा बढी भइरहेका छन् । हिउँ पुग्लेर हिमताल बन्ने क्रम बढ्दो छ । हिमनदी सुक्दै गएका छन् । हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको छ । जलवायु परिवर्तनका कारण पानीको चक्र फेरिएको छ । मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्याहरू देखिन थालेका छन् । जलवायु विज्ञ डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताउँछन् । हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उनको भनाइ छ । ‘हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन सक्छ,’ उनले भने । जलवायुजन्य घटना र हानिनोक्सानीका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक २.५ प्रतिशतले ह्रास आइरहेको बताइन्छ । यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ । जलवायु न्यायको विषय रहेको भन्दै पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन सरकारले पहल लिनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पुर्‍याउनु आवश्यक रहेको र जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ । जलवायु परिर्वतको कारकको रूपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असर खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानिनोक्सानीको पुनर्भरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा आफ्नो आवाज सशक्त बनाउनुपर्ने जरूरी देखिन्छ ।