सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म १६ करोड रुपैयाँको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ । थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने छ करोड १४ लाख रुपैयाँमा लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताए । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् । सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताए । यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ । पर्यटनमा सम्भावना र आर्थिक प्रभाव सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ । रासस

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

बाँके । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । ‘पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ’, नेपालगञ्जस्थित होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भने, ‘कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौँ ।’ उनका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ । लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’सहित लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा सङ्गीत अनि ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ । म्यानेजर बुढाथोकीले आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको उल्लेख गर्दै भने, ‘नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।’ नेपालगञ्जस्थित पाँचतारे होटल सोल्टीले पनि नयाँ वर्ष २०२५ लाई भव्य रूपले स्वागत गर्न कलाज्ञ ब्याण्डलाई नेपालगञ्ज निम्त्याएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कारसमेत राखेको सोल्टीले ‘लाइभबार’, ‘फुड काउन्टर’जस्ता विशेषतासहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ । कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको (आज) राति कोहलपुर निम्त्याएको छ ।  डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगञ्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ । होटल सिद्धार्थ नेपालगञ्जले गायिका रचना रिमालसहितको साङ्गीतिक प्रस्तुतिसँगै नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनको तयारी गरेको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले बताए । नेपालगञ्जकै तारे होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि साङ्गीतिक कार्यक्रमसहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले गायिका प्रतिक्षासहित उनको ब्याण्डले नयाँ वर्षको स्वागत गर्ने जनाएको छ । होटल ग्यालेक्सी दरबारले लाइभ म्युजिकसहित विभिन्न परिकारलाई सहुलियत दरमा आकर्षक ‘प्याकेजिङ’ गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने ‘न्यू इयर इभ’मा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका प्रबन्धक हस्तबहादुर हिमालले जानकारी दिए ।

नयाँ वर्षलक्षित विशेष कार्यक्रम गर्दै होटल गुञ्जन, प्रवेश नि:शुल्क

बर्दिबास । ‍‍महोत्तरीमा उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटल गुञ्जनले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधबारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको छ । होटल गुञ्जको जानकारी अनुसार न्यु इयर इभ र न्यु इयरको दिनमा ‘समुन्द्र ब्यान्ड’ र ‘द हाईम्स ब्याण्ड’ को संयुक्त लाइभ म्युजिकको प्रस्तुति रहने छ । साथै डिजेहरूको प्रस्तुति, बार्बेक्यु नाइट र विभिन्न आतसबाजी लगायतको कार्यक्रम पनि रहेको छ । होटल गुन्जका म्यानेजर सुशान्त कार्कीले भने नयाँ वर्ष विशेष बनाउन विभिन्न कार्यक्रमहरू गर्ने योजना बनाएको बताए । यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको होटल गुञ्जनले जनाएको छ ।