नेपाली विद्यार्थी विदेश पढ्न जाँदा ५ महिनामा साढे ४७ अर्ब बाहिरियो, भ्रमणमा ८५ अर्ब सकियो

काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ४१ करोड बराबरको खर्च गरेका छन् । विवरणअनुसार भ्रमण व्यय १२.२  प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो । गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो ।

सत्कार दिवस २०२५ सम्पन्न

काठमाडौं । होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौतीहरू र भावी दिनको योजना तथा कार्यक्रमहरूको प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने सम्वृद्धिको लेखाजोखा हुने बताए । उनले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेको, १ लाख १६हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरूले २२ लाख ग्राहकहरुलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको छ भन्दै तथ्यांकले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक/ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवर्द्धक आपूर्तिको स्थिति इंगित गर्दछ भने त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले दर्शाएको बताए । अस्तव्यस्त राजमार्ग भएर १०/१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटरको दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटकहरु खप्न तयार देखिँदैनन् । गतवर्ष भएका हवाई तथा सडक दुर्घटनाहरुका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरु रही रहेकोले समस्या झन् बढेको अध्यक्ष शाहले बताए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरुलाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषय वस्तुहरु यकीन हुने कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको भन्दै सराहना गरे । उनले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनालाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए । उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँगको सहकार्य गर्दै आइरहेको पनि बताए । कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो । उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवद्र्धनमा सघाउ पुर्‍याउने मुर्धन्य सेफहरूलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमलाई सघाउ पुर्‍याउने विभिन्न प्रायोजकहरूलाई समेत सम्मान गरिएको थियो । सातै प्रदेशबाट प्रतिनिधत्व गर्ने होटल व्यवसायीहरु, सरोकारवालाहरू र लब्धप्रतिष्ठित व्यक्तित्वहरूको भेला रहेको उक्त कार्यक्रमलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा साना होटलहरुले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्‍याउने देखिएकाे  बताए । उनले यसरी नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको छ भने विदेशी ब्राण्डले पनि नेपाल साँच्चिनै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सक्ने बताए । उपाध्यक्ष पाण्डेले कैयन होटल र लजहरु विना दर्ता सञ्चालनमा रहेको दुःख व्यक्त गरे । यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्ने समेत उनकाे भनाइ छ । सहभागीहरुलाई संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरे । सोही दिन संघको वार्षिक साधारणसभासमेत सम्पन्न भएको थियो भने उक्त साधारणसभाले संघलाई सातै प्रदेश र सतहत्तरै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गर्‍यो । कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकारबाट सत्कार गरिएको थियो ।

होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको बताएका छन् । बुधबार काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले होटललाई इण्डस्ट्रीको रुपमा बुझेको र सोहीअनुसार काम अघि बढाइरहेको बताए । उनले होटलको विकाससँगै पर्यटन क्षेत्र पनि चलायमान बन्ने बताए । अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेल स्थापनाले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अघि बढेको प्रमाण भएको जानकारी दिए । ‘हामीले होटललाई इण्डस्ट्रीको रुपमा बुझेका छौँ र इण्डस्ट्रीको रुपमा यसलाई सुरक्षा र यसको विकासमा मद्दत गर्नुपर्छ भन्नेकुरा पनि हामीले बुझेका छौँ । यसबाट हाम्रो टुरिजम सेक्टर लगायतका कुराहरु अघि बढ्नेछन्,’ उनले भने । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटनसँगै होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।