माइनस १५ डिग्रीमा पनि २ सय बढी पर्यटक, सगरमाथा क्षेत्रका होटल व्यवसायी उत्साहित

काठमाडौं । पछिल्लो एक सातामा २२८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र १३७ पुरूष गरी २२८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन् । पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ । अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताए । चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन् । ‘अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस-माघमा हामी यत्तिकै बस्नुपथ्र्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन् । यसले होटल व्यवसायलाई राम्रो भएको छ,’ होटल व्यवसायी जाङ्मु शेर्पाले भने । खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ । हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उनको भनाइ छ । करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन् । जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौंसहित अन्यत्र गएका छन् । खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ । सुरक्षामा प्रहरी तल्लीन पर्यटकको आगमनलाई मध्यनजर गर्दै नेपाल प्रहरी सुरक्षामा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पर्यटकको शान्ति, सुरक्षाका लागि खुम्बु क्षेत्रको प्रहरी युनिटलाई सक्रिय गराइएको छ । अफसिजन पर्यटकको आगमन बाक्लिएसँगै प्रहरीलाई मोबाइल गस्तीसहित सुरक्षा व्यवस्थामा चुस्त गरिएको छ । ‘खुम्बुमा अफसिजन विदेशी पर्यटकको सङ्ख्या बढेको भन्ने सूचना आएसँगै नेपाल प्रहरीलाई थप सक्रिय गराएका छौँ, विदेशी पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सगरमाथा क्षेत्रअन्तर्गतका सबै प्रहरी युनिटलाई ब्रिफिङ गराई सक्रिय गराइएको छ, शान्ति सुुरक्षाका सवालमा हामी कुनै कमी हुन दिनेछैनौँ,’ प्रहरी नायब उपरीक्षक घिमिरेले भने ।

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, फ्रान्सका नागरिक बढी आउने

मनाङ । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्यांक नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्यांक रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उनका अनुसार तीन वर्षको वार्षिक तथ्यांकअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ । प्रमुख भुजेलले भने, “अन्य देशको तुलनामा यहाँको भ्रमणमा फ्रान्सका नागरिक बढी आएको पाएका छौँ ।” सन् २०२४ मा तीन हजार तीन सय १६ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । उहाँका अनुसार इजरायलका तीन हजार छ, जर्मनीका दुई हजार तीन सय ५५, युकेका एक हजार नौ सय र भारतका एक हजार आठ सय ३१ नागरिक यहाँ आएका छन् । हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताए । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उनले जानकारी दिए । दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताए । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ । सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिए । सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्टे«लिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गरे । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् । काठमाडौंबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ । रासस

पर्यटन बोर्डलाई एटीएम मेसिन जस्तै बनाइयो

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकादेखि नै विभिन्न संकटको सामना गर्दै आएको छ । त्यति हुँदाहुँदै पनि बोर्ड बजारीकरण र प्रमोशनमा अघि बढिरहेकै छ । बोर्डले सीमित ठाउँमा पर्यटकीय गतिविधिलाई विस्तार गर्दै आएको छ । हाम्रो उद्देश्य पनि पहिले विदेशी पर्यटक त्यसपछि मात्रै आन्तरिक पर्यटकलाई जोड दिने रहेको छ । त्यसतर्फ हामी लागिपरेका छौं । नेपालमा आन्तरिक पर्यटक इतिहास धेरै पुरानो छैन । पछिल्ला १०/१२ वर्षपछि मात्रै नेपालमा आन्तरिक पर्यटकको संख्या बढेको देखिन्छ । पछिल्ला दिनहरूमा स्थिर अवधारणा निकै महत्त्वपूर्ण भएर गएको छ । यसमा पनि हामीले विभिन्न निकायसँग सहकार्य गर्दै अघि बढेका छौं । पर्यटन क्षेत्रको कुरा गर्दा विशेषगरी होटलहरूको क्यापसिटी बढेको छ । अहिले होटलहरूले करिब ४० लाख पर्यटकलाई धान्न सक्ने अवस्था भइसकेको छ । तथापि सन् २०२४ मा १० लाख ५० हजारको हाराहारीमा पर्यटन भित्र्याउन सफल भयौं । सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्रिएका थिए । २०२४ मा ग्लोबल रिकोभरी ९७ प्रतिशत भएको छ । कतिपय मुलुकहरू २०२२/२३ मा भइसके पनि हाम्रोमा भर्खर रिकभर हुँदैछ । हामीले एक/दुई वर्षअघि विभिन्न कारणले मार्केटको प्रमोशन आक्रामक रूपमा गर्न सकेनौं । यदि गर्न सकेको भए यत्तिबेलासम्म रिकभर भइसकेका हुन्थ्यौं । भूकम्पछि पुन:निर्माण, त्यसपछि कोभिडको कारण यो क्षेत्रले एक किमिसले विश्राम लिनुपर्ने अवस्था आयो । विश्रामपछि पुनः सुरु भएको यो क्षेत्रले विस्तारै लय समातेको अवस्थामा सोचेजस्तो लक्ष्य हासिल गर्न सकेन । चुनौती नेपाल पर्यटन बोर्ड आफैमा सार्वजनिक र निजी साझेदारीमा चलेको संस्था हो । काम गर्न सहज हुन्छ भनेर बोर्डको प्राथमिकता सरकारी निकायमा बढी देखिन्छ । तर आउँदा दिनमा निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न चाहन्छौं । बोर्ड र बोर्डले गर्ने गतिविधिका बारेमा बाहिर वास्तविकताभन्दा फरक ढंगले आइरहेको देख्छु । नेपालमा पर्यटनको क्षेत्रमा बोर्डले मात्रै गर्नुपर्छ, बोर्डको मात्रै जिम्मेवारी हो भन्ने जुन भाष्य निर्माण हुन खोजिरहेको छ, त्यसमा परिवर्तन ल्याउनु जरुरी छ । पर्यटन क्षेत्रको उत्थानको लागि हामी सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ । बोर्डले मुलतः नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रमा निजी क्षेत्रले जसरी ठूलो लगानी गर्नुभएको छ, उहाँहरूको लागि सहयोगी भूमिका खेल्दिने हो । उहाँहरूको विषयहरूलाई सहजीकरण गरिदिने हो । नेपाल पर्यटन बोर्ड एटीएम कार्डजस्तो भएको छ । प्रपोजल हाल्ने अनि पैसा आइहाल्छ भन्ने धेरैको सोच भएको देख्छु । भन्नैपर्दा यहाँ हरेक दिन ७०/८० देखि सय वटासम्म प्रपोजलहरू आइरहेको हुन्छ । जुन हामीले गर्न सक्ने अवस्थामा छैन । कहिलेकाहीं गर्न सकेनौंभन्दा दु:ख नमान्दिनुहोला । यो सार्वजनिक संस्था हो । बोर्डले धेरै क्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्ने छ । धेरै सेक्टरमा बजेट बाँडफाँट गर्नुपर्ने हुन्छ । धेरैले पर्यटन बोर्डका कर्मचारी विदेशमात्रै घुम्छन्, विदेशको मात्रै चासो हुन्छ भन्ने गरेको पाउँछु । विदेश कर्मचारीको चाहनाभन्दा पनि काम गर्न गएको हो । काम नै त्यही तोकेको छ । अझ कतिले त यो बोर्ड आवश्यक नै छैन बन्द गर्दिनुस् भन्नेसम्म सुनेको छु, हामीलाई के लाग्छ भने यी सबै कुराभन्दा बोर्डलाई बलियो बनाउन सबैको साथको खाँचो छ । सबैले यसमा योगदान गर्नुपर्छ । कहिलेकाहीं बोर्डले प्याकेज बनाएन भन्ने आउँछ । बोर्डले प्याकेज बनाउनेभन्दा निजी क्षेत्रले बनाएका प्याकेजलाई प्रवर्द्धन गर्ने हो । अर्को पछिल्लो समय स्थानीय तह, प्रदेश जताततै पर्यटक आओस् भन्ने खालको अपेक्षा बढेर गएको पाइन्छ । नेपालमा मुस्किलले १२ लाख पर्यटक भित्रिन्छन् । त्यो पनि सबै ठाउँमा पुग्ने सम्भावना छैन । पर्यटन व्यावसायिक सेक्टर भएकाे हुनाले जहाँ सम्भावना छ त्यहाँमात्रै जोड दिनुपर्छ भन्ने लाग्छ । पर्यटकलाई घरघर लानेभन्दा पनि पर्यटकबाट आएका आम्दानीलाई घरघरसम्म पुर्‍याउने हो । थुप्रै देशमा हेर्ने हो भने निश्चित क्षेत्रमा मात्रै पर्यटकीय गतिविधि हुन्छ । त्यस्तै, थुप्रै ठाउँमा भ्रमण वर्ष घोषणा गर्ने त्यसपछि पर्यटनमा कायापलट हुन्छ भन्ने बुझाइ छ । घोषणा आवश्यक छ त्यसले सबै क्षेत्रलाई चलायमान पनि बनाउँछ । त्यसभन्दा बढी हाम्रो ध्यान पर्यटन भित्र्याउनका लागि चाहिने आवश्यक तयारी अझ गर्नुपर्छ । आगामी कार्यदिशा विगतमा भएका विभिन्न गतिविधिबाट हामीले धेरै पाठ सिकेका छौं । विगतका वर्षहरूमा ‘ट्राभल ट्रेड फेयर’ मा हाम्रो सहभागिता धेरै हुन्थ्यो । जुन धेरै खर्चिलो हुने तर खासै उपलब्धि नहुने महसुस गरेका छौं । आगामी दिनमा त्यसमा हुने सहभागी घटाएका छौं । हामी जहाँ गएपनि पर्यटन क्षेत्रको विकास हुने गरी नै अघि बढ्ने नीतिलाई सारेका छौं । पछिल्लो समय प्रविधिको द्रुत विकास भएसँगै बोर्डका कामकारबाही एउटै डिजिटल प्लेटफर्मबाट गर्ने भन्ने सोच बनाएका छौं । विश्व यति गतिशील ढंगले अघि बढिरहेको छ, त्यसअनुसार भविष्यका लागि हामी तयार भएनौं भने पर्यटन क्षेत्रबाट सोचेजस्तो उपलब्धि लिन हामी असक्षम हुनेछौं । त्यसलाई ध्यान दिएर भविष्यमा थप पर्यटन भित्र्याउनका लागि हामीले विभिन्न कार्यक्रमहरू अघि सारेका छौं । हामीले दिर्घकालीनमा नतिजा आउने खालका कार्यक्रमहरू ल्याउने तयारी गरेका छौं । अबको तीन महिनाभित्रै काठमाडौं, पोखरा, चितवन र लुबिनीजस्ता ठाउँमा गएर कार्यक्रम गर्दैछौं । त्यसैगरी, हामीले एक/डेढ वर्षदेखि रोकिएका अन्तर्राष्ट्रिय मार्केटिङ प्रमोसनलाई अघि बढाउनेछौं । जनशक्ति विकासमा पनि हामीले विभिन्न पर्यटन व्यवसायी, एशोसिएसनहरूसँग समन्वय गरेर काम गर्नुपर्ने भएको छ । अहिले दैनिक चार/पाँच हजार जनशक्ति बाहिरिरहेको अवस्था छ । रोजगारको सिलसिलामा खाडी मुलुकदेखि विभिन्न देशमा जाने युवाको संख्या बढ्दो संख्यामा छ । यसले पर्यटन क्षेत्रले मात्रै नभएर दिर्घकालीन रूपमा देशले समेत ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । पूर्वाधारमा सुधार भएसँगै त्यो हिसाबले पर्यटक नेपाल भित्रनेछन् । तर पर्यटकलाई सेवा दिने दक्ष जनशक्ति कम हुँदै गएको छ । यसतर्फ सबैले सोच्नुपर्ने बेला भएको छ । निजी क्षेत्र र सरकारी दुबैमा डिजिटल इन्टरभेसनको आकर्षण बढ्दो छ । तर आज पनि धेरै चिज म्यानुअलमै गइरहेका छौं । तर हामीले बढ्दो ट्रेनलाई ग्रहण गर्नुपर्छ । सबै नेता, कर्मचारी भ्रष्ट हुन् भन्ने जुन नकारात्मकता बढेकाो छ कि त्यस्ता कुरालाई जति सक्दो छिटो बदल्न सकेनौं भने त्यसले हामीलाई अगाडि बढ्न दिँदैन । यहाँ धेरै राम्रा मान्छेहरू सक्रिय रूपमा लागिरहनुभएको छ । त्यसरी लाग्नेहरूलाई उत्साह प्रदान गरिदिनुहोला । हिजोका दिनमा निराशा हुनैपर्ने केही देख्दिनँ, अबको २ देखि पाँच वर्षको अवधिमा पर्यटन क्षेत्रले राम्रो फड्को मार्छ । (जोशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् )