खुम्बु क्षेत्रमा उडान खोल्ने निर्णय, एक महिनापछि जुट्यो सहमति
काठमाडौं । खुम्बु क्षेत्रमा अन्ततः हेलिकप्टर उडानमा लगाइएको रोक हट्ने निर्णय भएको छ । झन्डै एक महिनाअघि सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय भएको थियो । निकुञ्जले विज्ञप्ति जारी गर्दै अनियन्त्रित हेलिकप्टर उडानले पर्यटनको मर्मलाई नै नोक्सान पुर्याएको भन्दै हेलिकप्टर उडान रोक्ने निर्णय गरेको हो । ‘निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजस्व बुझाई प्रचलित कानुनअनुसार सुरक्षित तवरले हेलिकप्टरको उडान अवतरण होभरिङ गर्न गराउन हुन सबै हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको थियो । निकुञ्ज प्रशासनले सन् २०२५ को जनवरी १ देखि हेलिकप्टर कम्पनीहरूलाई उद्धारबाहेकका काममा समुद्री सतहबाट करिब ४ हजार मिटरमाथिको सगरमाथा क्षेत्रमा जान रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति कतिपय सरकारी निकाय तथा पर्यटन व्यवसायीहरू तीव्र असन्तुष्टि जनाएका थिए । अझ खासगरी नागरिक उड्डयन प्राधिकरण (क्यान) र निकुञ्जबीच विवाद नै चर्कियो । पर्यावरण र वन्यजन्तु संरक्षणको तर्क निकुञ्जले दिँदै आएको थियो । यता क्यानले अधिकार क्षेत्र मिचेको बताउँदै आएको थियो । सबैभन्दा अचम्मको विषय चाहिं निकुञ्ज र क्यान दोहोरी खेल्दा पर्यटन मन्त्रालय मौन बस्यो । जसकारण यो समस्या झन् पेचिलो बन्दै आएको थियो । उडान खोल्ने सहमति गत शुक्रबार जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु, नेपाल वायुसेवा सञ्चालक संघ, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सोलुखुम्बु कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सरोकारवाला पक्षबीच सर्वपक्षीय बैठक बसी उक्त रोक खोल्ने सहमति भएको हो । हाल उक्त क्षेत्रमा हेलिप्याडमा देखिएको अवरोध स्थानीय तहले हटाउने र वायुसेवा सञ्चालक कम्पनीले उद्धार उडानलाई अवरोध हटेलगत्तै सुचारु गर्ने सहमति भएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिए । उनका अनुसार स्थानीय तहले हेलिप्याडमा रहेका अवरोध हटाएपछि उद्धार उडान सुरु भएको छ । उनले भने, ‘दुई दिनअघि हामी सर्वपक्षीय बैठक बस्यौं । बैठकमा हाललाई हवाई उडान सुचारु गर्ने सहमति भएको छ । नागरिकलाई समस्या भयो । त्यसैले उडान सुरु गर्ने सहमतिमा पुग्यौं । अब उद्धार उडान सुरु हुन्छ । हाल यस क्षेत्रमा कुनै समस्या छैन ।’ गाउँपालिकाका अध्यक्ष शेर्पाले कसैले उद्धार उडानका लागि हेलिकप्टरको आवश्यकता परेमा तत्कालै उडान माग गर्न सकिने जानकारी दिए । त्यस्तै, उनले नियमित उडानका लागि भने १५ दिनभित्र सबै पक्षबीच छलफल भई खोजिने बताए । के भन्छ क्यान ? खुम्बु क्षेत्रमा तत्काललाई कुनै बाधा अवरोध नभएको क्यानले जनाएको छ । क्यानका उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार सहमति भइसकेको र तत्काललाई कुनै समस्या नभएको बताए । उनले भने, ‘सरोकारवाला निकायबीच समन्वय गरी सहमति जुटाउने निर्णय भएको छ । स्थानीय सरकारले केही अवरोध गरिरहेको थियो । स्थानीय सरकारका आफ्नै गुनासाहरू हुन सक्छन् । बाँकी सबै अन्य सरकारी निकाय सहमतिमै थियौं । हाम्रो तर्फबाट कुनै अवरोध भएको छैन । सबै कानुनमै प्रष्ट छ । तत्कालाई कुनै समस्या छैन ।’ उनले हाललाई केही ठाउँमा उडान भइरहेको र कुनै ठाउँमा उडान हुन नसकेको बताए । उनले आफूहरुले कानुनमा रहेको कुरा नागरिकहरुलाई सम्झाउने र बुझाउने कर्तव्य भएको सुनाए । ११ कम्पनीका ३२ हेलिकप्टर सञ्चालनमा सरकारी विवरणअनुसार हाल नेपालमा ११ वटा कम्पनीका ३२ हेलिकप्टरहरू सञ्चालनमा छन् । सगरमाथा आरोहणका लागि अनुकूल समय वसन्त ऋतुको समयमा आधार शिविरमा मात्र दैनिक औसतमा ५० भन्दा बढी हेलिकप्टर उडान हुने गरेका छन् ।
पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका
पोखरा । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण फाइदाहरू लिने विश्वासले पोखराका पर्यटन व्यवसायीमा बेग्लै ऊर्जा थपेको छ । घोषणापश्चात् पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनाका साथै स्थानीय अर्थतन्त्रमा वृद्धि, रोजगारीका अवसर सिर्जना र पूर्वाधार विकासको गति तीव्रसँगै यसले पर्यटकहरूलाई आकर्षित गर्दै स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास सरोकारवाला सबैमा रहेको पाइन्छ । यतिबेला पोखरा महानगरपालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागिपरेको बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ,’ प्रमुख आचार्यले भने । उनले नेपालको पर्यटकीय राजधानीका रूपमा रहेको पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताए । ‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पुर्याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ,’ आचार्यले भने । उनले मित्रराष्ट्र चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरालगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ ।’ नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षका अवसरमा ठमेल र भक्तपुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा सफल बनाउन विभिन्न योजना समेटेको बताए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरूमा नियमित उडान सुरु गर्ने, पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरू लागू गरेर उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य रहेको छ । साथै, डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पोखराको प्रचार–प्रसार गर्दै पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने ‘लाइफटाइम एक्सपेरियन्स’ दिने नयाँ कार्यक्रमहरू सञ्चालन गरिनेछ । महानगरले यो घोषणापश्चात १५ लाख पर्यटक भित्र्याउने महत्वाकाङ्क्षी योजना अघि सारेको कार्कीले जानकारी दिए । ‘यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ,’ कार्कीले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य महानगरले राखेको छ ।’ प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरूअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोँचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । फेवाताल, सराङकोट, र अन्नपूर्ण परिपथजस्ता गन्तव्यहरूलाई थप प्रवद्र्धन गर्नाका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम र समुदाय–आधारित परियोजनामार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ । त्यसैगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नाका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेमझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवाजस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ । एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजनाहरु अहिले सञ्चालित रहेको पोखराको पर्यटन सुधार परियोजनाहरुबाट काम सुरुआत भएका छन् । एडिबीबाट सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजनाका लागि ३१.७९ मिलियन डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनीयर कविता पौडेलले जानकारी दिए । पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्वपूर्ण अवसरका रूपमा लिन सकिने बताए । उनले हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रियजगत्मा पोखरालाई चिनाउन थप सहयोग पुर्याएको बताए । भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । पोखरा महानगर सहरी योजना आयोगका पूर्वउपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुनेगरी काम गर्नुपर्ने बताउँछन् । ‘पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन्, रणनीतिक योजनासहितका कार्यक्रम र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।’ उनले घोषणलाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औँल्याए । पोखरालाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा स्थापित गर्न यातायात, होटल, गाइड, सुरक्षा, हस्पिटालिटी र स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्छ । पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, पर्यावरणीय संरक्षण र उत्कृष्ट पूर्वाधार विकास अनिवार्य हुन्छ । साथै, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सञ्जालको प्रवद्र्धन र पर्यटन कार्यक्रमहरूको विविधताजस्ता पक्षहरूलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । रासस
हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित
खजुरा । बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताए । उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको जानकारी दिए । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाडौं, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ । उनका अनुसार जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्दछ । नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतिक्षामा विमानस्थलमा बसिरहेको छन् । शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।