सोल्टी होटेलले पायो युरोपका दुई होटलको जिम्मा

काठमाडौं ।  सोल्टी होटेल्स एण्ड रिसोर्टले जर्मनीमा पनि होटल व्यवस्थापन सुरु गरेको छ । नेपाली आतिथ्य सत्कार उद्योगमा प्रतिष्ठित नाम सोल्टी होटल्स एण्ड रिसोर्टले फ्र्यांकफर्टमा गत जनवरी १ देखि ‘सोल्टी वेस्टेण्ड मेसी फ्र्यांकफर्ट’ होटेल व्यवस्थापन तथा सञ्चालन सुरु गरेको हो । सोही श्रृंखलाको अर्को होटेल ‘सोल्टी वेस्टेण्ड प्रिमियर मेसी फ्र्यांकफर्ट’ मार्च १ देखि व्यवस्थापन तथा सञ्चालन गर्ने निश्चित भएसँगै सोल्टी होटल्स् एण्ड रिसोर्टले अन्तर्राष्ट्रिय जगतमा आफ्नो उपस्थिति जनाउँदै नेपाल बाहिर पनि होटेल व्यवस्थापन सम्बन्धी सेवा विस्तारकाे घाेषणा गरेकाे हाे । यो महत्वपूर्ण लक्ष्य प्राप्तिमा युरोपका विभिन्न सहरमा करिब ३२०० कोठासहित ५० भन्दा बढी होटल सञ्चालन गर्ने जर्मनीको ट्रिप इन होटेल समूह अन्तर्गत संस्थापित आतिथ्य कम्पनीहरु ट्रिप इन म्यानेजमेन्ट एण्ड सर्विस लिमिटेड, ट्रिप इन रिसेन लिमिटेड र सोल्टी होटेलको एसोसिएट कम्पनी स्ट्रीम पिक इन्टरनेसनल प्राइभेट लिमिटेडबीच सहकार्य गर्न होटेल सेवा सम्झौता भएको थियो । यो सहकार्य सोल्टीको ब्राण्डलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय स्तरमा होटेल व्यावस्थापन गर्ने पहिलो प्रयास र अन्तर्राष्ट्रिय उपस्थिति रहेको पनि सोल्टी समूहले जानकारी दिएको छ । जर्मनीको फ्र्यांकफर्ट’ गैलसवर्ट एस–बान रेलवे स्टेशन नजिकै अवस्थित दुबै होटेलहरुबाट फ्र्यांकफर्ट’ व्यापार मेला सेन्टर र मुख्य ट्रेन स्टेसन सहित शहरका प्रमुख व्यवसायिक तथा अवकाश केन्द्रहरुसम्म सहजै पुग्न सकिन्छ । दुवै होटेलहरु ट्रामको माध्यमबाट शहरको केन्द्रदेखि मात्र १० मिनटको दुरीमा अवस्थित छन् । सोल्टी वेस्टेण्ड मेसी फ्र्यांकफर्ट’मा ५० आकर्षक तथा गुणस्तरीय आधुनिकतम प्रविधिबाट निर्मित तथा डिजाइन गरिएका बिक्री योग्य कोठा छन् जसले अतिथिको आवश्यकता पूरा गर्न आरामदायक, सुबिधा सम्पन्न र रमणीय वातावरण प्रदान गर्दै समकालीन शैलीको सम्मिश्रण प्रस्तुत गरेको पनि सोल्टी समूहले उल्लेख गरेको छ । सोल्टी वेस्टेण्ड प्रीमियर मेसी फ्र्यांकफर्ट’मा २ सय ३६ उच्चस्तरीय आकर्षक तथा सुबिधा सम्पन्न गुणस्तरीय आधुनिक प्रवास अनुभवमा आधारित डिजाइनका कोठा छन् । सन् १९६६ मा सञ्चालित सोल्टी होटेलको पहिलो होटेल, द सोल्टी काठमाडौंबाट आतिथ्य सत्कार क्षेत्रमा सेवा प्रवाह गर्दै आएको नेपालको पर्यटन प्रर्वद्धन तथा आतिथ्य व्यवसायमा समर्पित सोल्टी ब्राण्ड नेपालसँगै विश्वमा समेत प्रसिद्धि तथा ख्याति प्राप्त गरेकाे लक्जरी होटेल ब्राण्डको रुपमा स्थापित छ ।

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ । सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् । बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । पर्यटन प्रवद्र्धनका निम्ति विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाकाको संरक्षण तथा जातीय र धार्मिक सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा बैठकले जोड दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । पुरातात्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको  प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई  बैठकले निर्देशन दिएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ । त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले  निगममा  समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताएका थिए । मन्त्री पाण्डेले निगमका विमान निर्धारित समयमा नै विमान उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको बताए । नेपाल वायु सेवा निगमलाई सुधार गर्न आफ्नो र मन्त्रालयका तर्फबाट हरसम्भव प्रयत्न भइरहेको उनले दोहोर्यएका थिए । समितिका सदस्य माधवकुमार नेपालले नेपाल वायु सेवा निगमका कामलाई गुणस्तरीय बनाउन सुझाव दिदै निजीकरणले मात्र समस्या समाधान नहुने तर्क गरे । निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायुसेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्नेमा जोड दिएका थिए । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीचको सम्बन्ध सुमधुर नहुँदा पनि समस्या बढेको उनले बताएका थिए ।

जहाजभन्दा बढी विमानस्थल, ५० प्रतिशत घाटामा, यस्तो छ आम्दानी र खर्च

काठमाडौं । देशमा सञ्चालनमा रहेका अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेको देखिएकाे छ। नेपाल नागरिक उड्यन प्राधिकरणले उपलब्ध गराएको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका ३६ विमानस्थलमध्ये १८ विमानस्थल घाटामा सञ्चालन भइरहेको पाइएको हाे । तथ्यांकअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित १८ विमानस्थल घाटामा सञ्चालित छन् । गौतमबुद्ध विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा २१ करोड १३ लाख आम्दानी गरेकोमा २१ करोड २२ लाख खर्च भएको छ । उक्त विमानस्थलको सञ्चालन खर्चमात्रै १६ करोड २ लाख रहेको छ भने पुँजीगत खर्च ५ करोड २० लाख भएको छ । तथ्यांकअनुसार गौतमबुद्धको आव २०७९/८० को तुलनामा २०८०/८१ मा आम्दानीसमेत घटेको देखिन्छ । आव २०७९/८० मा उक्त विमानस्थलले २५ करोड ३० लाख आम्दानी गरेको छ । आव २०७९/८० पनि विमानस्थल घाटामै सञ्चालित थियो । उक्त आवमा विमानस्थलको खर्च २८ करोड २० लाख रुपैयाँ खर्च भएको देखिन्छ । घाटामा रहेको अर्को विमानस्थल हो तुम्लिङटार । उक्त विमानस्थलले आव २०८०/८१ मा ५१ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा ६१ लाख रुपैयाँको खर्च देखिन्छ । विमानस्थलको सञ्चालन खर्चमात्रै ५५ लाख ६६ हजार छ । जुम्ला विमानस्थलले आव २०८०/८१ मा २६ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा २९ लाखभन्दा बढी खर्च गरेको छ । घाटामा चलिरहेको अर्को विमानस्थल हो बझाङ । जुन विमानस्थलले २ लाख मात्रै कमाइ गरेको छ । जसको खर्च २६ लाख छ । त्यस्तै, बाजुरा विमानस्थलले २३ लाख रुपैयाँको आम्दानी गर्दा खर्च ९ लाख रुपैयाँभन्दा बढी भएको छ । भोजपुर विमानस्थलले ६ लाख ६३ हजार रुपैयाँको कमाइ गरेको देखिन्छ भने जसको खर्च १४ लाख ४५ हजार बढी छ । २०८०/८१ अनुसार घाटामा सञ्चालित अन्य विमानस्थलहरुमा दाङ, डोल्पा, रारा, रुकुम सल्ले, रुम्जाटार पनि हुन् । दाङले पाँच लाखका कमाइ गर्दा ८ लाखको खर्च भएको छ । डोल्पाको आम्दानी १४ लाख रुपैयाँ छ, जसको खर्च १६ लाख रुपैयाँ छ । राराको कमाइ २५ लाख रुपैयाँ र खर्च २६ लाख रहेको छ । घाटामा सञ्चालित विमानस्थल नाफामा सञ्चालित विमानस्थल नेपालमा सञ्चालित विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्ने विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ८६ करोड रुपैयाँ कमाएको छ । विमानस्थलको उक्त आवमा एक अर्ब ३५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । तथ्यांकअनुसार त्रिभुवन विमानस्थलको सञ्चालन खर्च ९९ करोड ३५ लाख र पुँजीगत खर्च ५७ करोड ४१ लाख रुपैयाँ भएको छ । नाफामा सञ्चालन भइरहेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल हो पोखरा । पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँको आम्दानी गर्दा १३ करोड ३६ लाखको खर्च भएको छ । नेपालगञ्ज विमानस्थलले १३ लाख ११ करोडको आम्दानी गरेको छ । जुन विमास्थलको ४ करोड ९९ लाख रुपैयाँ खर्च भएको देखिन्छ । त्यस्तै, धनगढी विमानस्थले आव २०८०/८१ मा ६ करोड ३९ लाख आम्दानी गरेको छ । जसको खर्च २ करोड ७८ लाख छ । भरतपुर विमानस्थलले ६ करोड ३९ लाखको आम्दानी गर्दा एक करोड ३५ लाखको खर्च गरेको देखिन्छ । किन घाटामा छन् विमानस्थल ? नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल र ५२ आन्तरिक विमानस्थल गरी हाल देशभर ५५ विमानस्थल सूचीकृत छन् । ५२ आन्तरिक विमानस्थलमध्ये पनि मझौला जहाज जाने ११ वटा विमानस्थल छन् । बाँकी ४१ विमानस्थल साना धावनमार्ग भएका विमानस्थलहरू हुन् । ४१ मध्यपनि २८ वटा धावनमार्ग कालेपत्र भएका विमानस्थल छन् । बाँकी १३ वटा अनपेभ्ड विमानस्थलमा पर्छन् । जिरी, लाङटाङ, रोल्पा, ढोरपाटन, गोर्खापालुङटार, दार्जुलालगायत यसभित्र पर्छन् । प्राधिकरणका अनुसार १३ विमानस्थलमध्ये ९ वटा विमानस्थल सूचीमा मात्रै सीमित छन् । जुन विमानस्थल उडानयोग्य छैनन् । ती विमानस्थललाई प्राधिरणले सूचीबाट हटाउन सकेको छैन । प्राधिकरणका अनुसार २८ वटा कालेपत्रे भएका विमानस्थलमध्येमा पनि नियमित उडान हुने विमानस्थल १८ वटा मात्रै छन् । बाँकी १० वटा नियमित रूपमा उडान हुने तालिका छैन । यसरी संख्यामा धेरै विमानस्थल देखिएतापनि व्यावसायिक रूपमा सञ्चालन हुने विमानस्थल थोरै देखिन्छ । प्राधिकरणका प्रवक्ता हंशराज पाण्डे नेपालमा विमानस्थलको संख्याअनुसार जहाज कम हुँदा २८ वटै विमानस्थलमा नियमति उडान गर्न सम्भव नभएको बताउँछन् । सञ्चालनमा रहेका ती विमानस्थलहरूमध्ये धेरैजसो दुर्गम, पहाडी भूभागदेखि सडक सडक पूर्वाधार नभएको ठाउँमा छन् । जहाँ यसको महत्त्व धेरै छ । ‘विमानस्थलको महत्त्व हुँदाहुँदै पनि नियमति उडान गर्न सकेको छैन । उडान नहुँदा विमानस्थलहरुले आम्दानी गर्न सकेका छैनन्, आम्दानी नहुँदा कम्पनीले नाफा गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने । दुर्गम क्षेत्रमा निगमको दायित्व महत्त्व हुँदाहुँदै पनि दुर्गम क्षेत्रमा उडान नहुँदा ती विमानस्थल ओझेलमा परेको उल्लेख गर्दै प्रवक्ता पाण्डेले ती क्षेत्रमा उडान गर्ने सरकारी दायित्व नेपाल वायु सेवा निगमले लिनुपर्ने बताए । घाटामा जाने जाने विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन र चलायमन बनाउन सबै निकायको उत्तिकै सहयोग आवश्यक रहेको प्रवक्ता पाण्डेको भनाइ छ । त्यसबाहेक जहाजको संख्या थपेर नियमति उडान गर्न सके घाटा कम गर्न सक्ने प्रवक्ता पाण्डेको विचार छ । घाटामा गएका विमानस्थलहरू सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने हुँदा त्यसको महत्त्व पनि धेरै छ । ‘ती विमानस्थलमा आर्थिक हिसाबले घाटा भएपनि अतिआवश्यक छन् । भूकम्प, दैवीप्रकोप हुँदा त्यही विमानस्थलले ठूलो भूमिका खेलेको हुन्छ,’ पाण्डेले भने ।