५ हजार १०० मिटर उचाइमा मोटरसाइकल यात्रा, सडकमा हिउँ जमेकाले चिप्लिने जोखिम
काठमाडौं । समुद्री सतहबाट ५ हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक यात्रा पूरा गरेको बताए । उनले भने, ‘ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिप्ताला भञ्ज्याङ पुग्न सकेका थिएनन् ।’ मोटरसाइकल यात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन निकै कठिन छ । अझ ओलाङचुङगोलाबाट माथि थप जटिलता रहन्छ । उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने र मोटरसाइकलको शक्ति घट्ने हुँदा चुनौतीपूर्ण यात्रा हुने उनको भनाइ छ । ‘अहिलेसम्म टिप्ताला भञ्ज्याङमा सर्वसाधरणले मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलोपटक ५ हजार १ सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गर्ने व्यक्तिमा पर्छु,’ उनले भने । ५ हजार उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार टिप्ताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा पहिलोपटक मोटरसाइकल पुग्नुलाई साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ । टिप्ताला भञ्याङ जाने क्रममा मोवाटार (४ हजार २ सय मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ । सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडी तथा मोटरसाइकल चलाउन कठिन हुने चालक आइतराज थेबेले बताए । सडकमा हिउँ जमेर रहेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेले बताए । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन् । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ट्रयाक निर्माणपछि पहिलोपटक अघिल्लो बुधबार नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङ पुगेको स्थानीय तथा पूर्ववडाध्यक्ष छेतेन शेर्पाले बताए । टिप्तालासम्म मोटरसाइकल तथा गाडी पुगेपछि जिल्लावासी उत्साहित भएका छन् । विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन् । यस सडकको विस्तारले भारत, नेपाल र चीनलाई जोड्ने सम्भावना बढाएको छ । विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर-दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । २९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।
३० करोड लगानीमा आइएमई ग्रुपको इला कम्फोर्ट संचालन, सचिन ढकाललाई मुख्य जिम्मेवारी
काठमाडौं । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले इला कम्फोर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गरे । मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए । नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवर्द्धन गर्न सरकार दृढ रहेको मन्त्री पाण्डेको भनाइ छ । गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गरे । ‘अध्यक्ष ढकालले मुलुकका सातवटै प्रदेशसहित विभिन्न ठाउँमा पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै हुनुहुन्छ । कुनै कुनै ठाउँमा केही अवरोध भएको सुनिएको छ । यदि त्यस्तो हो भने तपाई आफ्नो लगानी लिएर हाम्रो गण्डकी प्रदेशमा आउनुस् । हामी गण्डकीका जनता थप पर्यटकीय पूर्वाधार निर्माण गर्न तपाईलाई स्वागत गर्दछौ,’ उनले भने । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याइएको उक्त होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए । ‘पर्यटन र जलविद्युत क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्याउने भएकोले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौँ,’ उनले भने । होटलले पर्यटक तथा अन्य पाहुनाहरूका लागि स्तरीय सेवा सुविधा उपलब्ध गराउने र यसबाट काली गण्डकी कोरिडोर मार्फत भारतको सुनौली तथा चीनसँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने भारत तथा चीनका पर्यटकको सख्याँमा पनि उल्लेख्य वृद्धि भई बागलुङ तथा समग्र काली गण्डकी क्षेत्रको पर्यटकीय, आर्थिक तथा सांस्कृतिक विकासमा थप योगदान पुग्ने पनि उनले बताए । होटल उद्घाटन कार्यक्रममा संघीय सांसद दिपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरे । करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू छन्। प्रत्येक आवासलाई परम्परागत आतिथ्यभन्दा नयाँ ढङ्गले असाधारण अनुभव महसुस हुने गरी तयार पारिएको छ । इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एण्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताए । प्रमुख ढकालले भने, ‘इला कम्फर्ट बागलुङमा, हामी केवल कोठाहरू प्रदान गर्दैनौँस हामी हाम्रा पाहुनाहरूलाई उनीहरूको प्रस्थान पछि पनि लामो समयसम्म सम्झन लायक क्षणहरू सिर्जना गर्ने छौँ।’ पोखरा विमानस्थलबाट केवल १.५ घण्टाको दूरीमा अवस्थित, पोखरा र बागलुङबिच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकोले, होटलले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको लागि सुविधाजनक पहुँचमा रहेको छ । इला कम्फर्ट बागलुङले ब्रान्डको इला ब्राण्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ। नवलपरासिको गैंडाकोटमामा इला होटल सुरु गर्ने तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने योजना छ ।
तराईसँग जोडियो ढोरपाटन, भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने
काठमाडौं । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ । राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी-ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने आश पलाएको छ । विसं २०६७ सालदेखि सुरू भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराईसँग जोडिनु सिङ्गो बागलुङवासीका लागि ठूलो अवसर पनि हो । रूपन्देहीको सालझण्डीदेखि सुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई छिचोल्दै ढोरपाटन जोडेको छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर लामो रहेको यस सडक बागलुङमा मात्रै ६१ किलोमिटर पर्छ । बागलुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडेको यस सडकले भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । तराई र पहाडलाई जोडेको सालझण्डी-ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा मिल्ने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । ढोरपाटनमा बर्सेनि करोडौँको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पुर्याउन समस्या भएको उनको भनाइ छ । निर्माण कम्पनीले सडक स्तरोन्नति नगर्दा यहाँ हजारौँ नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको भन्दै यसतर्फ माथिल्लो सरकारको ध्यान जान जरूरी रहेको उपाध्यक्ष कायत बताउँछन् । उनले भने, ‘ढोरपाटन सिधा तराईसँग जोडिएको छ, यो हाम्रो लागि गौरवको विषय हो, यो सडक कालोपत्र भयो भने यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने छ, यसै पनि ढोरपाटन चर्चित छ, भविष्यमा पर्यटनमार्फत नै यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्छ भन्ने विश्वास छ, तराईसँग सिधै ढोरपाटन जोडिने हुँद बसाइँसराइ पनि रोकिने छ ।’ ढोरपाटन नगरपालिका-९ का खिमबहादुर पुन मगरले पहिले आफूहरू पैदल हिँडेर ११ दिनमा बुटवल पुगेर नुन, चमल र लत्ता कपडा ल्याउने गरेको स्मरण गर्दै अहिले सडक आएपछि गाउँभरि पसल खुलेको बताए । पछिल्लो २ दशकमा ठूलो परिवर्तन आएको भन्दै कच्ची सडकका कारण ढुवानी र यात्रा गर्न असहज भएको उनको भनाइ छ । आफूहरूले यसरी विकास होला भन्ने कल्पना नगरेको पुन मगर बताउँछन् । ‘बटौली पुगेर नुन बोकेको अस्ति भर्खरजस्तो लाग्छ, अहिले उ बेलाको जस्तो नुन चामल ल्याउन बटौली जानुपर्दैन, अचेल त घरै अगाडि गाडी गुड्छन्, चाहिने सामान सबै यही ल्याउँछन्,’ उनले भने, ‘पहिले आलु, स्याउ र सिमी बिक्री हुँदैनथ्यो, अहिले गाडीमा हालेर बजार पठायो भने पैसा आउँछ, यो सडक (सालझण्डी-ढोरपाटन) पिच भयो भने सिधै तराईमा पठाउन सकिने छ, तराईको उत्पादन पनि ढोरपाटनमा सहजै आउने छ ।’ सालझण्डी-ढोरपाटन सडकले प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र ढोरपाटन जोडेको हुँदा अब पर्यटक आगामनमा वृद्धि आउने होटल व्यवसासी गङ्गाबहादुर भण्डारीले बताए । तराई र पहाड ओहोरदोहोर गर्न यो सडक निकै छोटो हुने हुँदा व्यापारिक तथा अन्य गतिविधि बढ्ने उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकादेखि बुकी पाटन जाने पर्यटक कम भएको भन्दै सडकको विस्तारपछि धेरै पुग्ने भण्डारी बताउँछन् । ‘ढोरपाटन नेपालमा मात्र नभएर विश्वमै परिचित छ, वन्यजन्तुको सिकार खेल्न अहिले धेरै जसो विदेशी पर्यटक आउँछन्, सडकको सहजता बढ्दै गयो भने नेपाल भरबाट सिकारीहरू यहाँ आउने छ, पर्यटकीय हिसाबले ठूलो सम्भावन बोकेको हुँदा केही वर्षपछि ढोरपाटनमा पर्यटकले गुल्जार भन्ने छ, लुम्बिनी, ढोर बराह दर्शन गरेर उत्तरगङ्गामा स्नान गर्ने बढ्ने छ,’ उनले भने । सालझण्डी–ढोरपाटन सडक आयोजानको काम कछुवा गतिमा हुँदा पर्यटक र स्थानीयले हैरानी खेप्नुपरेको छ । आयोजना सुरू भएको १४ वर्षमा ३० प्रतिशत मात्रै सकिएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरू भएको आयोजनालाई द्रुत गतिमा अगाडि बढ्न जरूरी छ । सिकार आरक्ष जोड्ने मुख्य मात्रका रूपमा रहेको यस सडक ट्रयाक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन । यस सडक हालसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको छ । त्यसमध्ये रूपन्देहीमा साढे ४ किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए । अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उनको भनाइ छ । बागलुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रूपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलादेखि खुर्सानेसम्म साढे १३ किलोमिटर कालोपत्र भइरहेको थापाले बताए । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको २२ किलोमिटर, अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किलोमिटर र गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्मको १९ किलोमिटर कालोपत्र भइरहेको उनको भनाइ छ । सिर्सेनीदेखि गुल्मीको अर्खबाङसम्मको ८.२ किलोमिटर सडकसमेत कालोपत्र भइरहेको उनले बताए । अब अर्घाखाँची खण्डमा १८ किलोमिटर, गल्मी र बागलुङखण्डमा सातरसात गरी ३२ किलोमिटर सडक स्तरोन्नतिको काम अझै सुरू नभएको उनको भनाइ छ ।