पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर, सफल बनाउन विभिन्न देशका राजदुतको सहभागिता

काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् । यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, ४ वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ । ‘हामी भव्यरूपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ । सबैसँग सल्लाह र छलफल गरिरहेका छौँ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतसमेतको सहभागिता रहने छ,’ आचार्यले भने । भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभुषासहित वृहत झाँकी र्‍याली निकालिने छ । पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम पूर्वपोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा र्‍यालीको आयोजना हुने प्रमुख आचार्यले बताए । यसैगरी पर्यटनको क्षेत्रबाट एक वटा ब्यानरसहित झांकी तथा र्यालीको आयोजना गरिने छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने वताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटन संग सम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताए ।

जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण

जनकपुर । एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ । परीक्षणका लागि बिहीबार जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो । भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अल्ट्रालाइट वायुयान सञ्चालन गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए । प्राधिकरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयानले सगरमाथाको चुचुरो देखिने गरी जनकपुरबाट राजविराजका लागि आज उडान भरेको जानकारी दिए । उनले सो उडान सफल र व्यावसायिक रूपमा नाफामूलक देखिएमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शनका लागि परिचालन गरिने उल्लेख गरे । हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा अल्ट्रालाइट वायुयान पर्यटकका लागि सस्तो र आकर्षक हुने कर्णले विश्वास व्यक्त गरे । एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’, धौलागिरि हिमाल, दाङका फाँट हेर्न मिल्ने

काठमाडौं । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए । ‘अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुग्ने गरिन्छ,’ उनले भने, ‘छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सम्पन्न भए झनै सहज हुने छ र पर्यटकको सङ्ख्या थप बढ्ने छ ।’ अहिले पनि कहिलेकाहीँ दैनिक १ हजार ५ सयसम्म पर्यटकले अवलोकन गर्ने गरेको पुनले बताए । छिल्लीकोटमा निर्माण भएको भ्यूटावर, कालिका-मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्ने, धौलागिरिलगायतका हिमाल, दाङका फाँट, सल्ल्यान, रोल्पा, रुकुमका पहाडी भेग, छिल्लीकोटमकै मालागिरि, त्यहाँ बनेको जिपलाइनलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् । मुलुकमा तीन ‘गिरि’ छन् । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौंको उत्तरी भू-भागमा पर्दछ । यस्तै मल्लागिरि दाङको छिल्लीकोटमा रहेको छ । त्यसले गर्दा पनि पर्यटकको आकर्षण बढेको जनाकारहरू बताउँछन् । यहाँ कालिका र मालिका मन्दिर निर्माण गरिएका छन् । मन्दिर र भ्यूटावर पुग्नका लागि सिडी बनाइएको छ । यस क्षेत्रमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ भने प्याराग्लाइडिङको सफल परीक्षण पनि भइसकेको छ । यी दुवै कार्यसम्पन्न भएमा यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने स्थानीयको विश्वास छ । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाहले नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको बताइन्छ । तत्कालीन अवस्थामा छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालन गरिएको विसं २००६ सालसम्म त्यो यहाँ रहेको जानकारहरू बताउँछन् । त्यसकारण पनि यसको महत्व रहेको बताउने गरिएको छ । पछिल्लो समय यस क्षेत्रको पर्यटकी विकासका लागि काम भइरहेका छन् । यहाँ सातमूलेबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याइएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको छ । ‘यस क्षेत्रको व्यवस्थापनका लागि पहल भइरहेको छ । अब अत्यावश्यक पूर्वाधार विकास र प्रचारप्रसार भएका पर्यटन प्रवर्द्धन हुनाका साथै त्यसबाट स्थानीयवासी लाभान्वित हुने थियौँ,’ स्थानीय प्रवीर पुनले भने ।