२० जना अपाङ्ग विधार्थीलाई नेपाल टेलिकमले दियो सिमकार्ड सहितको एण्ड्रोइड स्मार्टफोन

काठमाडौँ । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताउँदै परीक्षणको रुपमा सहयोग प्रारम्भ गरेकोमा कम्पनीप्रति आभार प्रकट गरे । मोबाइल प्राप्त गर्ने पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि भने– एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको छ । पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकाय तर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् । ‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो । विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

म्याग्दी मालपोत कार्यालयले शुरु गर्यो अनलाइन सेवा, तथ्याङ्क विश्वसनीय हुने

काठमाडौं । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा शुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा शुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकाले त्यसको दुरुपयोग नहुने, भरपर्दो र  विश्वसनीय हुने मालपोत अधिकृत मुकुन्द पौडेलले बताए । अनलाइन सेवा प्रवाह भएपछि अहिलेको प्रविधिअनुसार, पारदर्शी र सुशासन अपनाउने, तथ्याङ्क राख्ने र राजश्व सङ्कलन गर्नेलगायतका काम हुने भएको छ । पुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्तालगायतका सेवाका लागि दैनिक सयौं सेवाग्राही कार्यालयमा आउने गरेका छन् । अनलाइन सेवाले कामलाई चुस्त र विश्वसनीय बनाउने अधिकृत पौडेलको भनाइ छ । अनलाइन सेवा शुरु गर्नका लागि मालपोतका कर्मचारीलाई प्राविधिक तालीमसमेत प्रदान गरिएको थियो । उक्त प्रविधिको प्रयोगमार्फत् भूमि अभिलेख प्रणालीलाई व्यवस्थित, कर छली रोक्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइन सेवा शुरु गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अनलाइन प्रणालीबाट जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएर बुधबार सेवाको शुभारम्भ गरेका थिए । यसैगरी,पूर्वाधार र प्रविधिको थप व्यवस्थापन गरेर अनलाइन सेवालाई प्रभावकारी बनाउन  पहल गर्ने अधिकृत पौडेलले बताएका छन् । रासस

डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौं । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् । रासस