एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकलाई एक्यान अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्डसरह रहेको बताएका छन् ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्यको राजस्व सङ्कलनलाई पारदर्शी बनाउन र व्यावसायिक क्षेत्रमा विश्वास अभिवृद्धि गर्न अडानमा आबद्ध लेखापरीक्षकहरूको योगदान उच्च प्रशंसनीय रहेको उल्लेख गरे ।

उनले एक्यान र अडान दुवै संस्थाको साझा लक्ष्य नेपाली लेखा व्यवसायलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउनु रहेको बताउँदै आगामी दिनमा पेसागत हकहित र नीतिगत सुधारका लागि सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

आजको प्रविधिमैत्री युगमा अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र कर प्रणालीका नयाँ चुनौतीको सामना गर्न दक्षता अभिवृद्धि अपरिहार्य रहेको उनको भनाइ छ ।

पछिल्लो समय लेखापरीक्षकहरूमा देखिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी संशय वा त्रासबारे धारणा राख्दै उनले प्रविधिलाई केवल एउटा साधनका रूपमा लिन आग्रह गरे ।

उनले भने, ‘सन् ८० वा ९० को दशकमा जब क्याल्कुलेटरको आविष्कार भयो, त्यसको प्रयोग गर्नु हुँदैन भनेर आन्दोलन नै चलेको थियो । तर आज क्याल्कुलेटर एउटा सामान्य र अनिवार्य साधन बनिसकेको छ । आगामी १० वर्षभित्र एआईको अवस्था पनि त्यस्तै हुनेछ ।’

प्रविधिलाई सहज रूपमा ग्रहण गर्न सके यसले कार्यसम्पादनमा प्रभावकारिता र सहजता ल्याउने उनले बताए । पेसागत मर्यादाको रक्षाका लागि उच्च व्यावसायिक नैतिकता, निष्पक्षता र इमानदारिता नै मूल आधार हुनुपर्नेमा उनले जोड दिए ।

यस्ता गुणले नै समाज र राज्यको लेखापरीक्षण पेसाप्रतिको विश्वासलाई थप मजबुत बनाउने उनको तर्क छ ।

Share News