नेपाली स्याट-१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
काठमाडौँ । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । “नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ”, ढकालले भन्नुभयो, “जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा)का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।” त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने बताइएको छ । डेढ महिनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ ।जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । मङ्गलबारदेखि विज्ञान सडक मेला हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलो पटक नेपालमा संयुक्त रुपमा दुईदिने ‘विज्ञान सडक मेला–२०१९’ आयोजना गर्ने भएका छन् । समाजमा भएका अनुसन्धान र परिवर्तनका कुरालाई जनमानसमा प्रचार गरी विज्ञान र प्रविधिका माध्यमलाई मनोरञ्जनका साथ अघि बढाउने उद्देश्यका साथ मङ्गलबारबाट जावलाखेलमा उक्त सडक मेला आयोजना हुन लागेको हो । सो मेलाले सबै उमेर समूहका मानिसलाई विज्ञान देशव्यापी रुपमा आवश्यक रहेको जानकारी दिने नाष्टका प्रविधि सङकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । “मेलामा वैज्ञानिक र सर्वसाधारणबीच विज्ञान, प्रविधि, नवीनता र परिवर्तसम्बन्धी विभिन्न विषयमा चर्चा परिचर्चा हुनेछ”, ढकालले भने, “मेलामा उपस्थित सबै उमेरका मानिससँग दोहोरो छलफल गरी धेरैभन्दा धेरै उपयोगी जानकारी हासिल गर्नेछौँ ।” सो मेलामा विज्ञान र प्रविधिका क्षेत्रमा गरिएका कामको दस्तावेज, दूरदर्शनका कार्यक्रम, विज्ञानका धुन, खानाका पसल राखिनाका साथै उपस्थित व्यक्तिको जनआवाज सङ्कलन गरिने बताइएको छ । रासस
नासाले आफ्नो अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला गर्ने
न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ । “पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,” नासाले भनेको छ । आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् । अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए । रासस÷एएफपी
युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ मा, पछिल्ला खोज/अनुसन्धानबारे छलफल हुने
काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहनेछ । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा युवा सम्मेलनका संयोजक प्रा डा दीपक अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक कार्यान्वयन गर्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने बताए । सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेका असर, वन, कृषि, पर्यटन, ऊर्जा जल तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय विकसित उपलब्धिलाई कार्यपत्र तथा पोष्टर प्रदर्शनीका माध्यमबाट प्रस्तुत गरिने छ । प्राडा रामेश्वर अधिकारी र प्रा डा विनोद दवाडीले विश्वविद्यालयमा प्राप्त ज्ञानलाई व्यावहारिक रुपमा उतार्न सम्मेलन सेतु बन्ने बताए । नेपालका विभिन्न क्षेत्रका कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् । “विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका ज्ञानसित सार्क क्षेत्रका वैज्ञानिकका ज्ञानलाई सम्मेलनले जोड्न सहयोग गर्नेछ”, उनीहरुले भने । पत्रकार सम्मेलनमा प्रदेश नं ३ का उद्योगमन्त्री अरुणप्रसाद नेपालले आर्थिक समृद्धिलाई सहयोग पु¥याउन मन्त्रालयले पहिलो पटक सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले भने–“स्थानीय निकाय, प्रदेश तथा सङ्घलाई समेत विज्ञान तथा प्रविधिका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामको मार्गनिर्देशसमेत सम्मेलनले गर्नेछ । विज्ञान तथा प्रविधिको विकासविना आर्थिक समृद्धि हासिल गर्न कठिन छ । यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ । ” रासस