नेपाल टेलिकमद्वारा बागलुङमा ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ

गलकोट । नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ । टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनका रुपमा जमिनमुनि र शाखा लाइनका रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइबर तार बिछ्याउने काम शुरु गरेको थियो । नेपाल टेलिकम बागलुङले फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको हो । नेपालमै नमूनाका रुपमा रहेको फाइबर टु दि होमको सम्पूर्ण काम सम्पन्न भई सेवाको सञ्चालन गरिएको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताएका छन् । सेवाग्राहीको घरघरसम्म तार तथा डिभाइस वितरण गरिसक्यौँ”, शर्माले भने, “टेलिकमका नयाँ ग्राहकको घरमा फाइबर सेवा शुरु भयो भने पुराना ग्राहकलाई केही दिनमै सेवा प्रदान गर्नेछौँ ।” टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइबरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइबरमार्फत दिन थालिएको हो । पुरानो प्रविधिको कपर (तामाको तार) को प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटकपटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था अब अन्त्य भएको शर्माको भनाइ छ । अबको एक महिनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइबरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ । बागलुङ बजार क्षेत्रमा रहेका करिब तीन हजार बढी ल्याण्डलाइन टेलिफोन तथा सोही सङ्ख्याका एडिएसएल इन्टरनेटका सेवाग्राहीले एकैसाथ फाइबर प्रविधिको भ्वाइस तथा डाटाको सेवा लिन पाउनेछन् । पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधि प्रयोग गरेर फाइबर सेवा दिन शुरु गरेको टेलिकम बागलुङले जनाएको हो । नयाँ ग्राहकलाई फाइबर सेवा प्रदान गरेर सेवाको शुभारम्भ गरे पनि अबको एक महिनाभित्र बागलुङ बजारका सबै ग्राहकलाई फाइबर उपलब्ध गराउने टेलिकम प्रमुख शर्माले बताए । हाल बागलुङ बजारको रामरेखा तथा उपल्लचौरबाट टेलिकमले आइतबारदेखि नयाँ ग्राहकलाई फाइबर सेवा शुरु गरिएको हो । कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्नेछ । टेलिकमको नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस प्रदान गरिएको टेलिकम प्रमुख शर्माले बताउँदै भने, “पुरानो प्रविधिको एडिएसएल चलाइरहेकालाई पुनःनयाँ डिभाइस किन्न समस्या हुनसक्ने भएकाले नयाँ प्रविधिका डिभाइस टेलिकमले निःशुल्क उपलब्ध गराउने अभियान शुरु गरेको छ, सेवाग्राहीले निःशुल्क डिभाइस प्राप्त गर्दा पुरानो डिभाइस विस्थापित गर्न सहज भयो ।” हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ । फाइबर जडानपछि हाल पुरानो प्रविधिमा प्रयोग भइरहेका आठ वटा तार विस्थापित भई एउटा मात्र तारको प्रयोग गरिएको छ । अनावश्यक तार हटाउँदा बागलुङ बजारको सौन्र्दयीकरणसमेत हुने टेलिकमले जनाएको हो । टेलिकमले बागलुङ बजारको जमिनमा अप्टिकल फाइबर बिछ्याएर छ हजारभन्दा बढी ग्राहकले लाइन तान्न मिल्ने गरी छ वटा क्याबिनेटसमेत निर्माण गरिसकेको छ । रासस

नेपाल टेलिकमले ल्यायो पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर

काठमाडौँ । नेपाल टेलिकमले असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको हो । यस अन्तर्गत पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिने छ । यसैगरी सोही रकममै एकसय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिने छ । यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा सन्देश समेत पठाउन सकिन्छ । त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउने छन् । यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिने छ । यसैगरी १२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइने छ । यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिने छ । यसैगरी संस्थागत ग्राहक समूह छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ । यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित (जति पनि) कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सीयूजी समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ । यसैगरी यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिने छ । त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ । साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ । त्यस्तै ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ । १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ । यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा प्राप्त हुनेछ । उपरोक्त सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा सो सेवाका ग्राहकहरुलाई उपलब्ध हुनेछ । यसैगरी कम्पनीको भ्वाइस सेवा सहितको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबिपिएस, २५ एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसमा उपलब्ध छन् । १५ एमबिपिएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिने छ । त्यसैगरी २५ एमबिपिएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबिपिएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबिपिएसको सोही प्याकेजको मूल्य क्रमश २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ । यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षको लागि क्रमश २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निशुल्क उपलब्ध गराइएको छ । एफटिटिएच सेवामा विगतको स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका ८ एमबिपिएस, १८ एमबिपिएस, ३५ एमबिपिएस र ५५ एमबिपिएसका उपलब्ध प्याकेजहरु यथावत कायम गरिएको छ । यद्यपि ती सेवामा निशुल्क प्राप्त भइरहेका भ्वाइस सेवाहरु केही समयका लागि बन्द गरिएको छ । छुटहरु ९० दिनसम्मका लागि लागू गरिएको छ साथै यसअघि स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका अन्य छुटहरुलाई निरन्तरता दिइएको नेपाल टेलिकमले जनाएको छ ।

साउन १ देखि इन्टरनेटको १३ प्रतिशत मूल्य बढ्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले साउन १ गतेदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत मूल्य बढाउने भएका छन् । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायकहरूका उपत्यकासहित देशका प्रमुख सहरमा ८ लाख बढी ग्राहक छन् । अघिल्लो वर्ष थपिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क यो वर्ष फिर्ता हुने अपेक्षा थियो, इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान अध्यक्ष भोजराज भट्टले भने- ‘अब पनि मूल्य समायोजन गरेर बस्न सक्दैनौं, हामी वित्तीय रूपमा नाजुक अवस्थामा छौं ।’ उनले साउन १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य बढाउने तयारी भएको बताए । अघिल्लो वर्ष सरकारसँग सहमति गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने उनले बताए । ‘अघिल्लो वर्ष भएको घाटा पनि उठ्ने गरी भाउ बढाउने तयारी छ,’ उनले भने । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएका थिए । दूरसञ्चार सेवा दस्तुर शीर्षकको यो शुल्क यो चालु आर्थिक वर्षअघि भ्वाइस सेवामा मात्रै लाग्थ्यो । मन्त्रालय र सेवा प्रदायकबीच गत साउन १० गते दूरसञ्चार सेवा शुल्क उपभोक्ताबाट नउठाउने सहमति भएको थियो । आर्थिक ऐनमा यस्ता शुल्क ग्राहकबाट सेवा प्रदायकले उठाएर राजस्व कार्यालयलाई प्रत्येक महिना बुझाउनुपर्ने व्यवस्था छ ।