विप्लवका कार्यकर्ताद्वारा दुई दर्जन एनसेल टावरमा आगजनी
काठमाडौं । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएका छन् । प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो । यस्तै, अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ । गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको प्रहरीले जानकारी दिएको छ । बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो । रासस
इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गरे गोजीमा राख्ने ईसीजीको विकास
काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गोजीमा राख्ने ईसीजीको विकास गरेका छन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले अत्यन्तै कम लागतमा यति सस्तोमा यो उपकरण बनाउन सफल भएका छन् । सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चूडामणि भट्टराई, सिद्धार्थकुमार यादव र सुवास कोइरालाले चौथो सेमेस्टरको मिनि प्रोजेक्ट अन्तर्गत बनाउँदै गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो हुने जनाइएको छ । जसको लागत नेपाली दुईदेखि तीनहजार रूपैयाँसम्म पर्ने उनीहरुले बताएका छन् । यो उपकरणमा अहिलेलाई मुटुको इसीजी प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन र प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने जनाइएको छ । साथै, यसले मुटुको धड्कनको गति देखाउने आदि सुबिधा पनि यसमा छन् । तर छिट्टै त्यसमा आवश्यक सुधार गर्दै ब्लुतूथ तथा वाईफाईका माध्यमले अन्य बिद्धुतीय साधनसँग जोडिने विद्यार्थीले बताएका छन् । यसले मुटुका बिरामीको यथास्थितिकाबारेमा डाक्टरसमक्ष प्रत्यक्ष जानकारी पठाउन सकिने उनीहरुले बताए । विद्यार्थी चूडामणि भटराईले यो साधन ब्याट्रीबाट एक साता भन्दा बढी चल्ने हुँदा यसलाई जसले पनि सजिलै गोजिमा बोकेर हिड्न सक्ने जनाए । विशेष गरी उक्त उपकरणलाई गाऊँगाऊँका स्वास्थ्य संस्थामा बिरामीजाँच गर्न र मुटुका बिरामीले चौवीसै घण्टा आफ्नो मुटुको सजिलै निरीक्षण गर्न सक्ने उनले जनाए । यसको सफल परीक्षणपछि ईएमजी, ईईजी जस्ता उपकरणमा पनि आफ्नो चासो रहेको जानकारी अर्का विद्यार्थी सिद्धार्थकुमार यादवले बताए । उनले चिकित्सा उपकरणलाई कसरी सर्वसुलव तथा सजिलै मर्मतसंभार गर्न सकिने खालका बनाउने भन्नेमा आफूहरुको अध्ययन केन्द्रित रहनेछ । टोलीका अर्का विद्यार्थी सुवास कोइरालाले युरोपबाट सोही विषयमा अनुसन्धान गरी फर्किएका आफ्ना सहप्राध्यापक सचिन श्रेष्ठको सहयोगका लागि विशेष आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग भए नेपालमै थुप्रै उपकरणहरु बनाउन सकिने बताए । बेलाबेलामा हुने ईनजिनीयरिङ्ग प्रदर्शनीको खाँचो औँल्याउँदै उनले नेपाल इन्जिनियरिङ्ग कलेजले हालै आयोजना गरेको ‘नेक ईन्जेनियम २०१९’ आफूहरुका लागि एउटा सुवर्ण अवसर सावित भएको बताए । गएको साउन ५ गते आइतबार नेपाल इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको प्रदर्शनीका मुख्य आकर्षणहरुमध्ये सो उपकरण पनि एउटा रहेको थियो । करिब दुईसय बढी सहभागीहरुले उक्त उपकरण प्रयोग गरी ईसीजी परीक्षण गरेको दावी उनीहरुको रहेको छ ।
लेखनाथमा खुल्यो भायनेटको नयाँ शाखा
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेशनले पोखराको लेखनामा नयाँ शाखा सञ्चालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १५ औं शाखा तालचोक स्थित बराल कम्प्लेक्समा सञ्चालन गरेको हो । विगत १९ वर्षदेखि भायनेटले ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात एफटीटीएच इन्टरनेट सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टिभी सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडी च्यानल सहित २३० वटा च्यानल भएको एनईटीटीभीसँग साझेदारी गरेको थियो ।