मालपोतमा अनलाइनबाट सेवा शुरु गर्ने ६६औँ जिल्ला बन्याे जाजरकोट
काठमाडाैं । मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो । अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले बन्द गरिदिने बताए । प्रविधिकै माध्यमबाट समृद्धिको खोजी गर्नुपर्ने बताउँदै अनलाइन सेवाले गुम्दै गएको जनविश्वासलाई नयाँ ढङ्गले जागृत गर्ने प्रमुख घर्तीले बताएका हुन् । देश र जनताको अचल सम्पत्तिसँग सम्बन्ध राख्दै आएको मालपोत कार्यालयलाई व्यवस्थित गर्न नसक्दा अभिलेखको खोजी गर्न निकै कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । हाल जाजरकोट जिल्लामा भने सोचे जस्तो नेट/इन्टरनेट सेवा नभएको भएता पनि त्यसलाई व्यवस्थित गर्दै जानुपर्ने प्रजिअ बस्नेतको भनाइ रहेको थियो । अनलाइन सेवाबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा दिने जिल्लामा जाजरकोट ६६औँ जिल्ला हो । अनलाइन सेवा सञ्चालन भएपछि यसको सम्पूर्ण अभिलेख सिंहदरबारमा हुने र जग्गाधनीको फोटो, हस्ताक्षर र ल्याप्चे पनि कम्प्युटरमार्फत गराइने छ । सर्वसाधारण जनताको सेवासुविधा र आर्थिक हित कायम राख्न, भू–अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्न, भूमि व्यवस्थापनकार्यलाई सेवामुखी एवं सूचनामूलक बनाउन, जमिनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरिबी घटाउने कार्यमा सहयोग पुर्याउन, भू–राजश्व परिचालन गर्न सहयोग पुर्याउन, आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू–सूचना प्रणालीको विकास गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले अनलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ । रासस
‘डाटा सेन्टर समिट’ असार १२ मा आयोजना हुँदै
काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक डाटा सेन्टर समिट २०१९ आगामी असार १२ (२७ जुन) मा सोल्टी क्राउन प्लाजामा हुने भएको छ । अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो जानकारी दिएको हो । डाटा सेन्टरको उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित प्राविधिक समूह एवं व्यक्तिहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको समिटमा विश्वका ख्यातीप्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिने छन् भने सहभागीहरुबीच बृहत् अन्तरक्रिया गरिने छ । नेपालको डाटा नेपालमै राख्नुपर्छ भन्ने कानून आउँदै गरेका अवस्थामा हुन लागेको समिटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सन्दर्भमा यस उद्योगमा रहेका अवसर र सम्भावनाबारे पनि समिटमा छलफल हुने छ । यो समिटको मुख्य उद्धेश्य नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन सहयोग गर्नु रहेको छ । समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्टसहित सहभागिता जनाउने छन् भने हस्पिटालिटी, बैकिङ तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र, एनजिओ र आइएनजिओ लगायतबाट प्रतिनिधिहरुले अवलोकन गर्ने छन् ।
फोरजीको हल्ला बढी सेवा कम, गुणस्तरमा कहिले ध्यान दिने ?
काठमाडौँ । एनसेलले फोरजी सेवा मुलुकभरका हजारभन्दा बढी स्थानमा पुगेको दाबी गरेको छ । तर उक्त सेवाको क्षेत्र भने साँघुरो छ । काठमाडौँको रिङ रोडभित्र चल्ने फोरजी सेवा रिङरोड बाहिर चल्दैन । पोखरामा चल्ने भनिएको फोरजी सारङ्कोट चल्दैन । फोरजीको सेवा हजारभन्दा बढी स्थानमा बिस्तार भएपनि सेवा सञ्चालन हुने स्थान साँधुरो रहेको एनसेलका कर्मचारी समेत स्वीकार गर्छन् । एनसेलसँग आवद्ध एक कर्मचारीले भने–‘पोखरामा फोरजीको बिस्तार भयो भन्नुको अर्थ हामी पोखरासम्म पुग्न सफल भयौँ भन्ने हो, तर सबै ठाउँमा एकै पटक पुग्न नसकिने भएपनि हामी सारङ्कोट लगायतका ठाउँका लागि प्रयासरत छौँ भन्नेपनि हो ।’ कभरेजको हिसाबमा पोखरा, नुवाकोटमा फोरजी पुग्यो भन्नुको अर्थ कुना कप्चा, डाँडाकाँडा जहाँपनि एकसाथ चल्छ भन्नेपनि होईन–ती अधिकारीको तर्क छ । ‘अब फोरजी होइन फाइभजी’ थ्रीजीमा चलाइरहेका ग्राहकमा फोरजी आउँदा उत्साह थपिएको पाईन्छ । एनसेलले नेपालको ‘वाईडेस्ट फोरजी नेटवर्क’ भन्ने नारा आफ्नो प्रचारमा प्रयोग गर्दै आएको छ । त्यस्तै, फोरजी सर्वसाधारणले बुझ्न आवश्यक रहेको कुरा समेत जानकारी दिएको छ । नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने–‘अहिलेको जमानामा सबै खाले एप्लीकेसनको आवश्यकता हुने भएकाले सोही अनुरुप काम गर्न आवश्यक छ, हामीलेपनि आवश्यक पूर्वाधारको विकास गरिरहेका छौँ ।’ अर्यालले हालसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट गरी ३ कम्पनीले फोरजी बिस्तारमा लागेको बताए । उनले आगामी दिनमा फोरजी सबै ठाउँमा र सबैका लागि हुनुपर्नेमा समेत जोड दिए । सेवा बिस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सर्पोट गर्ने मोवाईल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रतगतिको मोबाईल ब्रोडव्याड सेवाको मजा लिन सक्ने जनाइएको छ । फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध हुन्छ । सोही कारणपनि ग्राहकले आफ्नो मोबाईल डिभाईसमा थप धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल ठूला फाईलहरु आदान–प्रदान गर्न तथा उच्च गुणस्तरका भिडियो हेर्ने सक्छन् । २ वर्ष अगाडी २०७४ जेठ १८ गतेदेखि एनसेलले आफ्नो फोरजी सेवा काठमाडौ उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेमा सुरु गरेको हो । फोरजी सञ्चालनमा ल्याएको दुई वर्ष भित्रमा ४४ जिल्लामा सेवा बिस्तार गर्न सफल छ । २०७५ पुसको दोस्रो सातासम्ममा देशमा २१ शहरमा पुगेको पाईन्छ । अब सो सेवा विराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र धनकुटा लगायत १ हजारभन्दा बढी स्थानमा उपलब्ध गराएको जनाएको छ । पुरानो सिम १ रुपैयाँमा नै फोरजीमा परिवर्तन हुने ग्राहकले सिम कार्डलाई फोरजीमा परिवर्तन गर्न चाहेमा नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) लिन सक्ने छन् । सो युसिमको लागि मात्र १ रुपैयाँ शुल्क लाग्ने छ । युसिम लिन चाहने ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गर्नु अनिवार्य मानिएको छ । यसरी पुरानो सिम परिवर्तन गर्दा ग्राहकको मोवाईल नम्बरमा भने कुनै परिवर्तन हुँदैन । साथै, युसिम परिवर्तन गरेबापत ग्राहकले १ जिबीडाटा समेत पाउँछन् । सो डाटा ७ दिनको लागि मान्य हुन्छ । उक्त डाटा बिहानी ५ बजेबाट साँझ ५ बजेसम्म चलाउन सकिने छ ।