एफवान सफ्ट शैक्षिक क्षेत्रमा पनि लगानी विस्तार गर्दै

काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट गु्रपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार गरेको हो । नेपालको आइटी क्षेत्रमा एकातिर दक्ष जनशक्तिको अभाव रहेको र अर्काेतिर आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूले उपयुक्त अवसर नपाइरहेको समस्यालाई समाधान गर्न एफवान सफ्टले कलेजमा लगानी विस्तार गरेको जनाएको छ । बिसिए र बिएससी सिएसआइटी अध्ययन हुने कलेजमा एफवान सफ्टले सबै सेमेष्टरमा प्रोफेसनल आइटी ट्रेनिङ दिनेछ । साथै हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट गु्रपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए । आइटीसँग सम्बन्धित पढाई हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् । एफवान सफ्ट गु्रपका निर्देशक सुभास सापकोटाले स्वष्तिक कलेजसँगको सहकार्यले आफूहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभुति हुने हुनाले कम्पनी, कलेज र विद्यार्थी सबैलाई फाइदा हुने बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त कलेजमा बिसिएमा ३६ र बिएससी सिएसआइटीमा ३६ गरी ७२ जनाको कोटा छ । कलेजमा अहिले भर्नाका लागि फर्म वितरण सुरू भएको जनाइएको छ ।

कास्कीको नापी कार्यालयमा मोबाइल एपको शुरुवात, घरमै बसी सेवा लिन सकिने

कास्की । मालपोत, यातायात, नापीलगायत सरकारी कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप हुने गर्दछ । दिनहुँ भीडभाड हुने यी कार्यालयबाट सेवा लिने सर्वसाधारणलाई हैरानीका साथै सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा जानकारी नहुँदा विचौलियाको फन्दामा पर्ने सम्भावना उत्तिकै छ । तर, जिल्ला नापी कार्यालयले भने सेवालाई प्रविधिमैत्री बनाउँदै सूचना प्रविधिको प्रयोग गरी मोबाइल एपबाटै सेवाको जानकारी र सोको प्राप्तिको प्रक्रियाका बारेमा सेवाग्राहीलाई दिन शुरु गरेको छ । देशका ७७ जिल्ला नापी कार्यालयमध्येमा पहिलोपटक मोबाइल एपमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरुआत गरिएको कार्याल यप्रमुख इञ्जिनीयर खिमलाल गौतमले बताएका छन् । यसबाट लामो तथा झन्झटिलो प्रक्रियाले गर्दा विचौलियाको शरणमा पर्नुपर्ने सेवाग्राहीको बाध्यता हट्ने विश्वास लिइएको छ । गौतमका अनुसार ‘नापी पोखरा एप्सको माध्यमबाट सेवाग्राहीले आफ्नो मोबाइलबाट आफूले चाहेको सेवा घरमा बसेर सम्बन्धित फाँटवाला कर्मचारीको समय लिएर प्राप्त गर्न सक्नेछन् । सेवा लिँदा आइपर्ने समस्याका बारेमा कार्यालय प्रमुखलाई एपबाट सिधै जानकारी गराउन सक्नेछन् । सो एपबाट सेवाग्राहीले कित्ताकाट, हाल साबिक भिडाउने, नक्सा प्रिन्ट तथा ट्रेस उतार, फिल्डबुक उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल, कित्ता एकीकरणलगायत कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा लिन सक्ने व्यवस्था मिलाइएको गौतमले जानकारी दिएका हुन् । एपबाट टोकन लिइसकेपछि सेवाग्राहीले आफूले लिन चाहेको सेवाको बटममा क्लिक गरी सेवा चयन गर्न सक्नेछन् । सेवाग्राहीले आफूलाई अनुकूल मिति र समय पेश गरेको सूचना सम्बन्धित फाँटवालाले स्वीकार गरेपछि सेवा लिन आउनुपर्ने समय र मितिका बारेमा सेवाग्राहीले मोबाइलमा सूचना प्राप्त गर्न सक्नेछन् । दर्ता स्रेस्ता मिलाउनका लागि दिने निवेदन, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रेखाङ्कनका लागि दिने निवेदन ढाँचा, नक्साको ब्लुप्रिन्टका लागि चाहिने निवेदनलगायत कार्यालयका लागि आवश्यक १५ वटा निवेदनको ढाँचा एप्लिकेशनमा राखिएकाले सेवाग्राहीलाई सहज हुनेछ । अरू कसैको सहायता आवश्यक नपर्ने तथा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट समयको बचत हुने बताइन्छ । कुनै ठाउँमा नाप नक्सा भइरहेको जानकारी, पुर्जा वितरणसम्बन्धी सूचनालगायतका महत्वपूर्ण सूचना तथा जानकारीसमेत सर्वसाधारणले एप्लिकेशनबाट प्राप्त गर्न सक्नेछन् । कार्यालयप्रमुख गौतमले भने, “जमिन नाप नक्सा तथा अद्यावधिकको कामलाई समयानुकूल प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने र समय चापको व्यवस्थापन गरी सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ने बित्तिकै सेवा प्रदान गर्ने उद्देश्यले एप्स निर्माण गरेका हौँ ।” एप्सको प्रयोगबाट गैरकानूनी कार्यलाई निरुत्साहित गर्न र सुशासन स्थापनामा सहयोगी हुने साथै कार्यालय प्रमुख, सेवाग्राही र सम्बन्धित फाँटवालाबीच समन्वयका लागि एप्लिकेशनमा तीनवटा ‘लग इन’ सहितको आन्तरिक संरचना रहेकाले पनि तत्कालै सेवा प्रवाह र गुनासोको सम्बोधन गर्न सघाउनेछ । १५औँ आवधिक योजनाको प्रस्तावित आधारपत्रमा भूमि व्यवस्थालाई आधुनिक, प्रविधियुक्त, सरल र पारदर्शी बनाउने तथा जग्गा प्रशासनको क्षेत्रमा देखापरेका कमीकमजोरीहरुलाई सुधार गरेर सेवा प्रवाहमा थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यमा सो एपबाट सहयोग पुग्ने विश्वास कार्यालयको छ । एप्लिकेशन रु तीन लाख लागतमा पाथओए टेक्नोलोजी सर्भिसेजले तयार पारेको हो । रासस

हुवावे कम्पनीले सार्वजनिक गर्यो आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनीओएस’

डोङगुआन, चीन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो । एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो । विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन् । विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ । हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन् । हुवावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले “हार्मोनीओएस” बजारमा ल्याएको बताए । रासस/एएफपी