कामपाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ संचालन गर्न ५० लाख सहयोग गर्ने

काठमाडाैं । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले सङ्घलाई सहयोग गरेको बताए । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ । समारोहमा सङ्घका अध्यक्ष चन्दले भने, “यस वर्ष महानगरले लगानीलाई अर्को वर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौँ ।” कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार सङ्घलाई सम्झौताबमोजि दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि सङ्घले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

काठमाडाैं । ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्र्धा गरेका थिए । नगरपालिकाको सर्वाधिक राशिको सो अन्त्यन्त रोमञ्चकारी प्रतिष्पर्धामा वडा नं १४ ले दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पा¥यो । वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका ३२ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइएको थियो । शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–९ स्थित नवनिर्मित मत्छ्य फुटसलमा भएको थियो । चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजक र प्रयोजक वडा नं ५ रहेको सो प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई वाग्मती प्रदेशसभा, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, वडा नं १५ का वडाध्यक्ष उत्तमबहादुर रावत, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद शाही, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख मोहनबहादुर खाँण, भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टर गुर्जुधाराका अध्यक्ष राजेश घिमिरे, क्लबका अध्यक्ष रामनारायण घिमिरे, सवमाजसेवी देवेन्द्र प्रधानले संयुक्तरूपमा नगद, ट्रफी र पदक वितरण गरे । उनीहरुले संयुक्तरूपमा नै प्रतियोगितामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपरलाई नगद पाँच हजारसहित ट्रफी र पदक प्रदान गरेका थिए । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं ६ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलर्ता वडा नं १५ का अविरल रिजाल, उत्कृष्ठ खेलाडी वडा नं १४ का शाहिल राना र उत्कृष्ट गोलकिपर राजीव श्रेष्ठले हात पारेका थिए ।

प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ । शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ । चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ । प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ७५ हजार र ४० हजारसहित ट्रफी र पदक र अन्य चार विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने जानकारी दिए । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर रहेका छन् । उनले भने, “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । चन्द्रागिरि नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ ।” कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । उनले भने, “युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ ।” नगर प्रमुख घनश्याम गिरीले प्रतियोगिताका सहभागीलाई पोशाक वितरण गरे ।