त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी सार्वजनिक
काठमाडाैं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमका आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच पनि आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटल देखी मैदानसम्म सबै प्राब्धान अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताए । यस्तै क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृखंला सम्पन्न गर्नु निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृखंलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताए । प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृखंलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिए । शृखंलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ ।
नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् । नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।
अब सिमराका फुटबल फ्यानले फोनबाटै टिकट काट्न सक्ने, क्यासब्याक पनि पाउने
काठमाडाैं । अब सिमराका फुटबल फ्यानले फोनबाटै टिकट काट्न सक्ने भएका छन् । उनीहरूले खल्ती एपबाट टिकट काट्दा २० प्रतिशत छुट पाउनेछन् जसमध्ये ५ जनाले हरेक म्याचमा शतप्रतिशत टिकट रकम फिर्ता पाउनेछन् । साे सम्बन्धी खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल तथा नव जन जागृति युवा क्लबका प्रेसिडेन्ट रामचन्द्र लामाबीच सम्झौता भएकाे हाे । चैत्र ३१ गतेबाट सिमरा रंगशाला, सर्लाहीमा हुन गइरहेको नव जन जागृति युवा क्लबद्वारा आयोजित ११औं जितपुर सिमरा गोल्ड कप – २०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट पार्टनर भएको छ । ‘हामी यस जितपुर सिमरा गोल्ड कपमा आधिकारिक टिकटिंग पार्टनर हुन पाउँदा निक्कै गर्व महशुस गरेका छौं । यसले फ्यानहरुलाई लाइन नबसी आफ्नो फोनबाटै टिकट खरिद गर्न सम्भव बनाउने छ । साथै, यसले सबैलाई डिजिटल भइ आफ्नो भुक्तानी अनलाइन माध्यमबाट गर्न थप प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु ।’, खल्तीका सहायक प्रबन्धक भुर्तेलले भने । त्यस्तै, नव जन जागृति युवा क्लबका प्रेसिडेन्ट रामचन्द्र लामाले टिकट अनलाइन खरिद गर्न सम्भव भएकोले खेल व्यवस्थापनमा थप मद्दत पुर्याउने बताए । ‘हामी खल्ती डिजिटल वालेटसँग सहकार्य गर्न पाएकोमा निक्कै खुशी छौं । अब टिकट अनलाइन खरिद गर्न सम्भव भएकोले हामीलाई यसले खेल व्यवस्थापनमा थप मद्दत पुर्याउने कुरामा आश्वस्त छौं । हामीले अनलाइन टिकटमा क्यासब्याक र छुटको व्यवस्था पनि गरेका छौँ त्यसैले सबैलाई सकेसम्म फोनबाटै टिकट काट्न अनुरोध गर्दछौं ।’, उनले भने । यस खेलमा बिजेताले दश लाख र उपबिजेताले ५ लाख नगद राशि पुरस्कार स्वरुप पाउनेछन् । साथै रंगशालामा उपस्थित प्रशंसकहरुलाई पनि भरपुर समर्थन दिन प्रोत्शाहन गर्न ‘खल्ती’ ले २ हजार रूपैयाँ कुपन कोड हरेक खेलमा एकजनाको लागि व्यवस्था गरेको छ । यस कपका सबै इभेन्ट तथा खेल गोल नेपालले आफ्नो फेसबुक पेजको माध्यमबाट लाइभ प्रशारण गर्नेछ जहाँ दर्शकको लागि ‘खल्ती’ को कुपन कोड उपलब्ध हुनेछ । खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १७ लाखभन्दा बढी छन् ।