फुटबल टिमको बन्द प्रशिक्षण शुरु, ५८ जना खेलाडी सहभागि

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज (आइतबार) देखि शुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजदेखि प्रशिक्षण शुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको छ । फुटबल टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाकाको तयारी स्वरुप बन्द प्रशिक्षण शुरु गरिएको बताए । पूर्व कप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागि हुन पाउँदा खुशी लागेको बताए । विश्वकप छनौटका लागि प्रयाप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गरे । एसियन छनोट अन्तर्गत समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अंक सहित शिर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन भने नेपाल तीन अंक सहित चौथो स्थानमा रहेको छ । कोभिड संक्रमणको जोखिमका कारण खेलाडिहरु गत चैत महिना यता कुनैपनि प्रशिक्षणमा सहभागि हुन पाएका थिएनन् । तर गत शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा सहभागि हुनु भन्दा पहिला सबै खेलाडिको पीसीआर परीक्षण गरिएको थियो ।

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनले स्वीडेनबाटै दिएका राजीनामा स्वीकृत

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

गौतमबुद्ध कप मङ्सिर २७ गतेदेखि शुरू, तीन टोलीले सहभागिता जनाउने

चितवन । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम वाग्मती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने सङ्घका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए । वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै नारायणीको कप्तान पूर्वराष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा मङ्सिर २७ गते ज्ञानेन्द्र मल्लको वाग्मती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मङ्सिर २८ गते वाग्मती र विनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण दर्शकदीर्घा भने खाली हुने भएको छ । अधिकारीले भने, ‘खेल राष्ट्रियस्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । दर्शकदीर्घा खाली हुनेछ ।’ प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ भने वाग्मती प्रदेश खेलकूद विकास समिति र भरतपुर माहानगरपालिकाको आर्थिक सहयोग गर्नेछ । कोभिड-१९ का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुनः चलायमान गर्दै रङ्गशालाको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको हो । रासस