काठमाडौं । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले सात विकेट गुमाएर पूरा गर्यो ।
यो जितसँगै सुदूरपश्चिम एनपीएलको इतिहासमा लगातार तीन सिजन फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । यसअघिका दुवै सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको सुदूरपश्चिम उपविजेतामै सीमित भएको थियो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग नै ६ विकेटले पराजित भएको थियो । लिग चरणको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनीसँग नै सात विकेटको हार बेहोरेको थियो । गत सिजनको फाइनलमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले एक बल अगावै सात विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमका थरिन्दु रत्नायकेले सर्वाधिक ५३ रनमा अविजित रहे ।
कप्तान दिपेन्द्रसिंह ऐरी १३ बलमा एक चौका र दुई छक्काका सहयोगमा २३ रन बनाउँदा सलाहुद्दिन खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए ।
ओपनर विनोद भण्डारी २३ रन बनाउँदा रन्जित कुमारको बलमा क्याच आउट भए । इशान पाण्डे १० रनमा रन्जित कुमारको बलमा कट एण्ड बोल्ड भए ।
आरिफ शेख १० रनमा कमल ऐरीको बलमा बोल्ड आउट भए । जर्ज मुन्से आठ रनमा रिजन ढकालको बलमा क्याच आउट नै भए ।
रन्जित कुमारले दुई विकेट लिए । कमल ऐरी, सलाहुद्दिन खान, रिजन ढकाल र उसामा मिरले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३३ रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि डविड मलानले ७१ रनको अविजित पारी खेले। उनले ५० बलमा नौ चौका र दुई छक्का सहयोगमा ७१ रन प्रहार गरेका हुन् । सलाहुद्दिन खानले १८ रन बनाए । कमल ऐरीले १०, देव खनालले ६, कमिल मिसाराले चार, विवेक यादवले तीन र उसामा मिरले दुई रन थपे ।
कप्तान रवि बोपारा र कुशल मल्ल समान एक रन बनाउँदै पेभेलियन फर्के । सुदूरपश्चिमका लागि स्कट कुग्लेले तीन र थरिन्दु रत्नायकेले दुई विकेट लिए । लगातार तेस्रो पटक उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपटक भने अघिल्ला दुई सिजनको उपविजेताको दाग मेटाउँदै पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।