दुई अर्ब ४० करोड लगानीमा भक्तपुरमा रग्बी रंगशाला बन्दै

काठमाडाैं ।  दुई अर्ब ४० करोड रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माण कार्य धमाधम भइरहेको छ । बहुद्देश्यीय अन्तर्राष्ट्रिय रग्बी मैदानको अवधारणा सहित निर्माण थालिकएको योजना अन्तर्गत अहिले जमिन सम्याउने काम भइरहेको छ । रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य भइरहेको हो । ४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको हो । स्थानीय र सरकारी तवरबाट भइरहेको कामबारे संघसँग सल्लाह भएको र हस्तानतरण गर्ने विषयमा छलफल भइरहेको नेपाल रग्बी संघले जनाएको छ । पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको छ ।

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ । पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेल्नुभएको थियो । उहाँ हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडाैं ।  राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन् । लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्ती मगर चोटका कारण बाहिरिनुभएको हो । अभ्यासका क्रममा उहाँलाई गम्भीर चोट लागेको हो । उहाँको उपचार कतारमा गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । चोटबाट मुक्त भएपछि अर्याले भने टोलीमा फर्कने एन्फाले जनाएको छ । विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ ।