काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सोल्डआउट भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार (आज) साँझ विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
क्यानका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।
क्रिकेट मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित रहेकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।
क्यानले टिकट खरिद गर्न नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत एनपीएल हेरेर सहयोग गर्न आग्रहसमेत गरेको छ ।
नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकले देखाएको उत्साहप्रति आभार व्यक्त गर्दै क्यानले टिकट खरिद गर्न नसकेका दर्शकलाई परेको असुविधाप्रति क्षमासमेत मागेको छ ।
