साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाए । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ । पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको पनि उनले स्वीकार गरे । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ-संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौं श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले बताए । बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । विशेष पूजा बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ । मन्दिर प्रवेश गर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लाम भने लामो नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।
अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप विजेता
काठमाडौं । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । खेल अतिरिक्त समयमा पुगेपछि फेरान टोरेसले १०६औं मिनेटमा गरेको निर्णायक गोलले स्पेनलाई दोस्रो पटक विश्वकप च्याम्पियन बनायो । यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो । अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाए । त्यसपछि अर्जेन्टिनाले बाँकी खेल १० खेलाडीमा सीमित हुँदै खेल्नुपरेको थियो । स्पेनले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै निरन्तर दबाब सिर्जना गरे पनि अर्जेन्टिनाको रक्षापंक्तिले लामो समयसम्म गोल हुन दिएको थिएन । अतिरिक्त समयमा टोरेसले अवसरको सदुपयोग गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका हुन् । यससँगै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि जित्दै विश्व फुटबलमा पुनः आफ्नो प्रभुत्व स्थापित गरेको छ । अर्कोतर्फ कतार २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा असफल भयो । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । यस प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका थिए भने कुल १०४ खेल खेलाइएका थिए । स्पेन प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।
साउने सोमबार पशुपति दर्शनको रूट तय, कुन ढोकाबाट कसरी छिर्ने ?
काठमाडौं । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ-संस्थाको विशेष सेवा एवं सहभागिता रहने छ । साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । दर्शनार्थीका लागि तयारी भइरहेको र आज रातिसम्ममा सबै तयारी पूरा हुने उनले बताए । पशुपतिनाथ मन्दिरको चारै ढोका सोमबार बिहान तीन बजेदेखि भक्तजनका लागि खुला गरिने छन् । बेलुका आरतीपछि राति आठ बजेसम्म पशुपतिनाथ मन्दिरका ढोका भक्तजनका लागि खुला गर्ने तयारी छ । “विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ”, सदस्य सचिव श्रेष्ठले भने । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि चारै ढोकामा चारतिर बाट चार लाइन रहने छन् । पहिलो मार्ग गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामुर्ति कैलाश हुँदै एक नं ढोकाबाट प्रवेश गरेर त्यहाँ रहेको जुत्ता चपल कक्षमा जुत्ता राखेर रुद्रगारेश्वर माथिको बाटो भएर बासुकी मन्दिर हुँदै भगवान्को उत्तर ढोकाबाट दर्शन र पूजा गरेर पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको सदस्य सचिव श्रेष्ठले बताए । मार्ग नं १ बाट नै अर्को दोस्रो लाइन मात्र बोलबमहरुको लागि रहने छ । उक्त लाइन गुह्येश्वरी तिरबाट र जयबागेश्वरी हुँदै दथुटोल, पाचाटोल, बजार मूलढोका भएर कैलाशको सोही ढोकाबाट प्रवेश गरेर रुद्रगारेश्वर भएर उतर ढोकामा जल चढाउने व्यवस्था मिलाइएको छ । सदस्य सचिव श्रेष्ठका अनुसार मार्ग नं २ जयवागेश्वरी, बालकुमारी, भुवनेश्वरी भएर नासल चोकको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर झम्केश्वरी मन्दिरको बायाँको सानो ढोकाबाट प्रवेश गरेर मूल ढोका (पश्चिम) बाट दर्शन पूजा गरेर नन्दीलाई दायाँ पारेर मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मार्ग नं ३ विशेष पूजा र विशेष सुलभ दर्शनका लागि मात्र कोष कार्यालय तथा गौशाला तिरबाट आएर भुवनेश्वरी चोकको भकुन्डोलको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर पूर्वतिर गई दक्षिणको बज्रघरको सानो ढोकाबाट प्रवेश गरेर बज्रघर चोकमा जम्मा हुने र त्यहाँ पास लिएर बज्रघर उत्तरतिरको भर्याङ्गबाट चौसठ्ठी बाहिरबाट दक्षिण ढोका भैरव हुँदै पूर्व ढोकाबाट विशेष पूजा गर्न जाने तथा पूजा सकेर सोही बाटो फर्कने व्यवस्था मिलाइएको छ । विशेष पुजा बिहान ८ः३० बजे देखि मध्याह्न १२ बजेसम्म हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । मार्ग नं ४ पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी, पञ्चदेवल पूर्वी बाटो हुँदै बज्रघरमा रहेको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर दक्षिणको सानो ढोकाबाट प्रवेश गरेर चौंसट्ठी घुमेर दक्षिण ढोकाबाट प्रवेश गरेर दक्षिणबाट दर्शन गरेर दक्षिणको अर्को बाटोबाट बाहिर निस्कने व्यवस्था गरिएको छ । मार्ग नं ५ विशेष सुलभ दर्शनका लागि मात्र तिलगङ्गा पर्यटक ढोकाबाट विशेष सुलभ दर्शनको टिकेट लिएर राम मन्दिर मुनिबाट वत्सलेश्वरी माताको मन्दिर हुँदै त्यहाँ रहेको लामपाटीमा जुत्ता चप्पल राखेर बागमती हुँदै आर्यघाटको भर्याङ्गबाट उक्लिएर पूर्व ढोकाबाट विशेष सुलभ दर्शन गरेर प्रसादि लिएर सोही बाटो फर्कने व्यबस्था गरिएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए । विशेष सहुलियत दर्शन बिहान ३ बजे मन्दिर खोलेदेखि नै सुरु हुनेछ । यो सेवा दिनभर र बेलुका आरतीसम्म नै हुने छ । मार्ग न. ६ भुवनेश्वरी चोकको नासल चोक छिर्ने सानो ढोकाबाट प्रवेश गराएर मूल ढोका लगेर भट्ट र भण्डारी मन्दिर प्रवेश गर्ने सानो बाटोबाट वृद्ध, असक्त, अपाङ्ग र बच्चाबच्चीलाई विशेष दर्शनको व्यवस्था मिलाइएको छ । प्रवेश बज्रघरको सानो ढोकाबाट र तिलगङ्गा हुँदै पूर्वी बागमतीबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । पञ्चामृत पूजा तीन हजार १०० तिरेर बिहान ८ः३० बजेदेखि १२ बजेसम्म गर्न सकिने कोष सञ्चालक परिषद् सदस्य भण्डारीले बताए । फलफूल मिठाइसहितको पञ्चामृत पूजा रु सात हजार ५०० तिरेर बिहान ८ः३० देखि १२ः०० बजेसम्म मात्र गर्न पाइने व्यवस्था मिलाइएको छ । विशेष सुलभ दर्शन पुजा प्रसादिको शुल्क रु एक हजार तोकिएको छ । यसका लागि बिहान ३ः०० बजे मन्दिर खोलेदेखि बेलुका आरतीसम्म नै हुनेछ । विशेष पूजाको रसिद मूल ढोका अगाडिको एसबिआइ बैंकबाट लिन सकिने व्यवस्था गरिएको छ । विशेष सुलभ दर्शन पूजा प्रसादि रसिद प्राप्त गर्ने स्थान भुवनेश्वरी चोकस्थित लकर सेबा माछापुच्छ्रेबैंक एटिएम रहेको काउन्टरबाट र तिलगङ्गा पर्यटक काउन्टरबाट प्राप्त गर्न सकिने छ । हंशमण्डपमा सबै स्वयमं्सेवक, कर्मचारी, सुरक्षागार्ड र प्रहरीको लागि नास्ता, खाजा, चिया र खानाको प्रबन्ध गरिएको कोषले जनाएको छ । पार्किङ व्यवस्था रहने स्थानका लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान ठूलो पार्किङ, भण्डारखाल अगाडि तथा कोष परिषद्, सिफल चौंर, उमाकुण्ड पार्किङ, गुह्येश्वरी पार्किङ÷ दिव्य पार्टी पालेस अगाडि, स्वास्थ्य सेवा रहने स्थान, पञ्चदेवल पूर्व सत्तल, भुवनेश्वर चोक, उमाकुन्ड, जयवागेश्वरीमा व्यवस्था मिलाइएको छ । चन्दन प्रसादि वितरण स्थानका लागि पशुपति मूल ढोका अगाडि, भकुन्डोल दक्षिणढोका पाटी र दक्षिणामूर्तिमा व्यवस्था मिलाइएको छ । पशुपतिनाथमा मोबाइल शौचालय, एम्बुलेन्स र प्राथमिक उपचारका लागि व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।