एसियन गेम्सका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । जापानको आइची–नागोयामा हुने एसियन गेम्सको क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा कप्तान ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् । एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ । नेपालले प्रतियोगितामा बलियो टोलीसहित सहभागिता जनाउँदै क्रिकेटमा एसियाली मञ्चमा आफ्नो प्रभाव देखाउने लक्ष्य राखेको छ ।

बुबाआमा बाढीले लग्यो, अलपत्र बालबालिका

काठमाडौं । रसुवा र नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रका अभिभावक सम्पर्कविहीन भएका १०२ जना बालबालिकाको तथ्यांक संकलन भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार १०२ बालबालिका अभिभावक सम्पर्कविहीन भएका हुन् । सबै बालबालिकाको प्रोफाइल र अवस्थाको विवरण अझै तयार भइ नसकेको परिषद्का सदस्य सचिव दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका केही बालबालिकालाई बाल संरक्षण तथा पुनःस्थापना केन्द्रहरूमा राखिएको छ । उनीहरूको पारिवारिक अवस्था, अभिभावकको खोजी तथा आवश्यकताको आधारमा छुट्टाछुट्टै प्रोफाइल तयार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उद्धार गरिएका बालबालिकामध्ये १५ महिनादेखि १२ वर्षसम्मका बालबालिका समेत रहेको उनले बताए । अभिभावक भेटिएमा सम्बन्धित परिवारमै पुनर्मिलन गराउने र अभिभावक नभेटिएका वा अभिभावकविहीन बालबालिकालाई निर्धारित प्रक्रिया पूरा गरी बालगृह वा संरक्षण केन्द्रमा राख्ने तयारी भइरहेको उनको भनाइ छ । पहिलो चरणमा करिब ५० बालबालिका राख्न सकिने क्षमता रहेको र २० जनाका लागि आवश्यक तयारी पूरा भइसकेको चालिसेले उल्लेख गरे । ललितपुरको ठेचोमा संरचना तयार भइसकेको उनले बताए ।  प्रभावित बालबालिकाको संख्या थपिँदै गएमा उपलब्ध संरचना पर्याप्त नहुन सक्ने उनको भनाइ छ। बाढीपछि अभिभावकविहीन बालबालिकालाई आफूले पालनपोषण गर्ने भन्दै विभिन्न व्यक्ति तथा संस्थाबाट चासो देखाएका छन् । बालबालिकालाई व्यक्तिगत रूपमा कसैको जिम्मा लगाउन नमिल्ने परिषदले स्पष्ट पारेको छ । चालिसेका अनुसार बालबालिकाको संरक्षणका नाममा जथाभावी व्यक्तिको जिम्मा लगाउने अवस्था सिर्जना हुन नदिन कानुनी प्रक्रिया अनिवार्य गरिएको छ। बालबालिकालाई संरक्षणमा लिन चाहने व्यक्ति वा संस्थाले निर्धारित प्रक्रिया पूरा गर्नुपर्नेछ। बालबालिकाको हित, संरक्षण र सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित निकायको सिफारिस तथा अदालतको आदेशपछि मात्रै अभिभावकत्व वा संरक्षणको व्यवस्था गर्न सकिने चालिसेको भनाइ छ ।  रसुवाको बाढी प्रभावित बालबालिकाको विवरण करिब १५ स्थानीय तह प्रभावित भएका छन् । केही स्थानीय तहबाट अझै पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको चालिसेको भनाइ छ । प्रारम्भिक तथ्यांक मात्रै भएकाले प्रभावित बालबालिकाको वास्तविक संख्या अझै बढ्न सक्ने सम्भावना छ। स्थानीय तहबाट विवरण संकलन, स्क्रिनिङ र बालबालिकाको अवस्थाको पहिचान गर्ने काम जारी रहेको छ। 'कतिपय स्थानीय तहले आफ्नै व्यवस्थापनमा बालबालिकाको संरक्षण गर्ने बताइरहेका छन्। तर, बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्कालै सबैलाई केन्द्रमा ल्याउन सहज छैन,'  चालिसेले भने, 'आफ्नै हिसाबले व्यवस्थापन गर्छौँ , स्थानीय तहको अडान र प्रदेश सरकारको केन्द्रीय व्यवस्थापनको तयारीबीच समन्वय आवश्यक देखिएको छ।' उनका अनुसार  धेरै बालबालिकाको संरक्षणको आधारसमेत कमजोर बनाएको छ। अभिभावक सम्पर्कविहीन भएका बालबालिकाको पहिचान, परिवारसँग पुनर्मिलन, सुरक्षित आश्रय, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग र दीर्घकालीन पुनःस्थापना एकैपटक गर्नुपर्ने अवस्था छ ।  'बालबालिकालाई ‘राख्छु’ वा ‘पाल्छु’ भन्दै नआउनु' त्यसैगरी, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान गर्न स्थानीय तहले तथ्यांक संकलनलाई तीव्रता दिएको बताए । को कहाँ छन्, कसको संरक्षणमा छन् र कसको सम्पर्कमा छन् भन्ने विवरण संकलन भइरहेको उनले बताए । प्रभावित बालबालिकाको तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 'अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि स्थानीय तहको बालअधिकार समिति सक्रिय पारिएको छ,’ अर्यालले भने,’ उपाध्यक्षको नेतृत्वमा रहेको समितिसँगै केन्द्रीय बालअधिकार समितिको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालित छ।' उनका अनुसार युनिसेफलगायत विभिन्न संघ–संस्था पनि बालबालिकाको संरक्षण तथा पुनःस्थापनाको काममा जोडिएका छन्। विपद् प्रतिकार्य योजनाअनुसार विभिन्न क्षेत्रगत समूह बनाएर काम भइरहेको र बालबालिकाका लागि छुट्टै संयन्त्रमार्फत काम अघि बढाइएको छ ।  'स्थानीय तहले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व आफैंले लिने गरी काम अघि बढाएको छ। अहिले विभिन्न ठाउँमा छरिएर रहेका बालबालिकालाई तथ्यांकमा समेटेर शिक्षक तथा मनोसामाजिक परामर्शकर्तामार्फत सकेसम्म एउटै सुरक्षित केन्द्रमा ल्याउने तयारी भइरहेको छ,’ उनले अगाडि भने । बालबालिकाका लागि टोली, शिक्षक तथा मनोसामाजिक परामर्शकर्ता परिचालन गरिएको अर्यालले बताए । सम्भव भएसम्म आफ्नै विद्यालयलाई व्यवस्थित गरेर बालबालिकालाई त्यहीँ केन्द्रित गर्ने योजना बनाइएको उनको भनाइ छ । विद्यालयमा राख्न सम्भव नभए सुरक्षित बसोबासको व्यवस्था गर्ने र बालअधिकारसँग सम्बन्धित विषयलाई समेत सम्बोधन गर्ने तयारी भइरहेको उनले बताए । अत्यन्त संवेदनशील भन्दै अभिभावकविहीन बालबालिकाको संरक्षणलाई विशेष प्राथमिकता दिएको उनले बताए । विपद्पछि अभिभावक गुमाएका तथा परिवारबाट छुट्टिएका बालबालिका बालश्रम, बेचबिखन, शोषण तथा विभिन्न प्रलोभनको जोखिममा पर्न सक्ने भन्दै स्थानीय तहले सतर्कता बढाएको छ। गलत नियत भएका व्यक्तिले विपद्को अवस्थालाई दुरुपयोग गरेर बालबालिकालाई प्रभावित पार्ने प्रयास गर्न सक्ने भएकाले प्रहरीसँग समन्वय गरेर निगरानी भइरहेको अर्यालले बताए । 'शंकास्पद व्यक्तिमाथि सोधपुछ तथा नियन्त्रणसम्मका कामसमेत प्रहरीले गरिरहेको छ,' उनले अगाडि थपे । स्थानीय तहले विपद्मा परेका बालबालिकालाई लक्षित गरेर प्रलोभन देखाउने, शोषण गर्ने वा अन्य गलत गतिविधिमा संलग्न गराउने प्रयास नगर्न सम्बन्धित सबैलाई उनले चेतावनी दिएका छन् । अभिभावकविहीन बालबालिकालाई ‘राख्छु’ वा ‘पाल्छु’ भन्दै व्यक्तिगत रूपमा लैजाने प्रवृत्तिले झन् जोखिम निम्त्याउन सक्ने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरेको छ। बालबालिकालाई व्यक्तिगत रूपमा जिम्मा लगाउनेभन्दा कानुनी तथा संस्थागत प्रक्रियामार्फत संरक्षण गर्नु नै सुरक्षित उपाय भएको उनको भनाइ छ ।

तीजको मर्म हराउँदै, भ्युजको दौडमा चेलीबेटीको पर्व

काठमाडौं । तीजको रंग फेरिएको छैन, तर तीजलाई हेर्ने र देखाउने तरिका बदलिएको छ । रातो सारी, चुरा, पोते, दर, नाचगान र मन्दिर दर्शन तीजका प्रमुख पहिचान हुन् । फरक यति हो, हिजो यी दृश्य घर, आँगन, माइती र मन्दिरसम्म सीमित हुन्थे । आज मोबाइलको क्यामेरामार्फत केही सेकेन्डमै हजारौं दर्शकमाझ पुग्छन् । तीजको उत्सवसँगै भिडियो बनाउने, पोस्ट गर्ने र भ्युज गन्ने संस्कृति पनि यसको अभिन्न हिस्सा बन्न थालेको छ । कतै गीत बजिरहेको हुन्छ । कतै नृत्य चलिरहेको हुन्छ । कतै त्यही दृश्यलाई सामाजिक सञ्जालका लागि खिच्न मोबाइल वा ट्राइपोड तयार अवस्थामा हुन्छन् । दर खाने कार्यक्रमसँगै टिकटक र फेसबुक रिल्सका लागि सामग्री तयार गर्ने क्रम पनि चलिरहेको हुन्छ । मन्दिर दर्शनदेखि दर खाने कार्यक्रमसम्म, नयाँ पहिरनदेखि सामूहिक नृत्यसम्म तीजका अधिकांश गतिविधि सामाजिक सञ्जालमा देखिन्छन् । समाजसास्त्री नारायण ज्ञवाली तीजलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा होइन, डिजिटल प्रदर्शनको अवसरका रूपमा समेत स्थापित गरिरहेको बताउँछन् । तीज र टिकटक स्वभावतः फरक विषय भएपनि एक अर्काका परीपुरक भएको ज्ञवालीको बुझाइ छ । तीज नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक परम्परासँग जोडिएको पर्व हो भने टिकटक छोटो भिडियो निर्माण र साझेदारी गर्ने डिजिटल माध्यम । तर पछिल्ला वर्षमा यी दुईबीचको सम्बन्ध यति नजिकिएको छ कि तीजका गीत, नृत्य, पहिरन र उत्सवको लोकप्रियता सामाजिक सञ्जालमा कति पुगे भन्ने आधारमा समेत मापन हुन थालेको छ । गीतको भावनादेखि भ्युजसम्म एक समय तीज गीत महिलाहरूका अनुभव र आवाज अभिव्यक्त गर्ने सांस्कृतिक माध्यम थिए । वर्षभरिका पीडा, दुःख, पारिवारिक विछोड, सामाजिक विभेद र माइतीप्रतिको भावनालाई गीतमार्फत सार्वजनिक गरिन्थ्यो । त्यसैले तीज गीत मनोरञ्जनको साधन मात्र थिएनन् । ती त महिलाको सामाजिक जीवन र मनोविज्ञान बुझ्ने सांस्कृतिक दस्तावेजसमेत थिए । अहिले पनि तीज गीतको बजार उत्तिकै सक्रिय छ । तर गीतको चर्चा अब त्यसले बोकेको विषयवस्तुमा मात्र सीमित छैन । गीत कति छिटो भाइरल भयो ? टिकटकमा कति भिडियो बने ? युट्युबमा कति भ्युज पुगे ? र सामाजिक सञ्जालमा कति चर्चा भयो ? भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण बन्न थालेको ज्ञवालीको तिज अनुभव रहेको छ । यस वर्ष विष्णु माझीको स्वरमा सार्वजनिक मायाको सानो दरबार, यस्तै छ आमै घरबार बोलको गीत यसको एउटा उदाहरण हो । पुतलीको भट्टी भाग-२२ का रूपमा आएको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । सार्वजनिक भएको केही समयमै गीतका अंश प्रयोग गरेर टिकटकमा भाइरल बन्न थाले । करिब १० दिनमै गीतले युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाइसकेको थियो भने टिकटकमा लाखौले टिकटक बनाएका छन् । त्यस्तै एलिना चौहानको स्वरमा रहेको आज आमैले दिएको नौरती फुली, भोलि मैसँग होला कि नहोला बोलको गीतले पनि यस वर्ष उल्लेख्य चर्चा पायो । दीपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीत युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ । यस गीतका अंशमा टिकटक भिडियो बनाउने क्रम पनि व्यापक देखिन्छ । भदौरे मैना, मन ठाउँमा छैन, तीजको रन्को रननन बोलको गीतले भने युवापुस्तामा फरक किसिमको आकर्षण सिर्जना गरेको छ । परम्परागत तीज गीतमा देखिने विरह र वेदनाभन्दा फरक यसमा आधुनिक महिलाको आत्मविश्वास, सक्रियता र उत्साहलाई नृत्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतका लयात्मक अंश र नृत्य गर्न सहज हुने संरचनाले सामाजिक सञ्जालमा यसको प्रयोगलाई थप सहज बनाएको देखिन्छ । सेलिब्रेटीको तीज, दर्शकको ट्रेन्ड तीज गीतसँगै चर्चित महिला व्यक्तित्वका सामाजिक सञ्जाल गतिविधि पनि पर्वकै चर्चाको हिस्सा बन्न थालेका छन् । अभिनेत्री प्रियंका कार्की, गायिका एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालदेखि नेतृ रामकुमारी झाँक्रीसम्मले तीजसँग सम्बन्धित भिडियो, नाचगान र शुभकामना सन्देश सार्वजनिक गर्ने गरेका छन् । यसले तीजको सांस्कृतिक अभ्यासमा अर्को परिवर्तन ल्याएको छ । पहिले समाजमा प्रभाव पार्ने व्यक्तिहरूको पहिरन, नृत्य वा उत्सव स्थानीय समुदायभित्र सीमित हुन्थ्यो । अहिले सामाजिक सञ्जालका कारण त्यस्ता गतिविधि केही क्षणमै ठूलो दर्शकसमूहमाझ पुग्छन् । चर्चित व्यक्तिले प्रयोग गरेको गीत, पहिरन वा नृत्य शैली सर्वसाधारणले पछ्याउने क्रम पनि बढेको छ । यसरी सामाजिक सञ्जालले तीजलाई केवल अभिव्यक्तिको माध्यम बनाएको छैन, ट्रेन्ड निर्माण गर्ने माध्यमसमेत बनाएको छ । संस्कृति कि प्रदर्शन ? समाजशास्त्री सविता प्रसाईं भने तीज र सामाजिक सञ्जालबीचको यो सम्बन्धलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्छिन् । उनका अनुसार सामाजिक सञ्जालका कारण नेपाली संस्कृति र चाडपर्वको पहुँच भूगोलको सीमाभन्दा बाहिर पुगेको छ । विदेशमा रहेका नेपालीले पनि सामाजिक सञ्जालमार्फत तीजका गतिविधि हेर्न र सहभागी भएको अनुभूति गर्न पाएका छन् । सकारात्मक पक्ष के हो भने सामाजिक सञ्जालका कारण नेपालीहरूको चाडपर्व र त्यसको महत्व विश्वभर प्रचार-प्रसार भइरहेको छ, प्रसाईं भन्छिन् । तर यसको अर्को पाटो पनि रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धाले तीजको मौलिक अर्थ र सांस्कृतिक सन्देशलाई ओझेलमा पार्न सक्ने जोखिम बढेको उनी बताउँछिन् । उनका अनुसार तीज मूलतः चेली–माइतीको सम्बन्ध, भेटघाट र भावनात्मक आदानप्रदानसँग जोडिएको पर्व हो । विगतमा यातायात र सञ्चारका साधन सीमित थिए । माइती र चेलीको भेट आफैंमा महत्वपूर्ण अवसर हुन्थ्यो । त्यसैले तीजका गीतमा माइतीको सम्झना, भेटको खुसी, विछोडको पीडा र महिलाका सामाजिक अनुभव बढी अभिव्यक्त हुन्थे । तर अहिले तीजको सांस्कृतिक पक्षसँगै फेसन, मनोरञ्जन र प्रदर्शनको पक्ष बलियो हुँदै गएको प्रसाईं बताउँछिन् । दरको संस्कृतिमा आएको परिवर्तन तीजसँग जोडिएको दर खाने परम्परामा पनि समयसँगै परिवर्तन आएको उनको बुझाइ छ । ज्ञवालीका अनुसार पहिले विशेष अवसरमा मात्र मीठो तथा पौष्टिक खाना खाने चलन थियो । माइती पुगेकी चेलीलाई खुसीयालीका रूपमा विशेष परिकार खुवाइन्थ्यो । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले अघिल्लो रात पर्याप्त भोजन गर्ने अभ्यास पनि त्यसैसँग जोडिएको ज्ञवालीले बताए । तर अहिले दर खाने कार्यक्रम स्वयं एउटा सार्वजनिक सामाजिक गतिविधि बनेको प्रसाईको अनुभव रहेको छ । ठूला समूहमा आयोजना हुने कार्यक्रम, विशेष पहिरन, सजावट, नृत्य र त्यसको भिडियो सार्वजनिक गर्ने प्रवृत्तिले दरको सांस्कृतिक पक्षभन्दा प्रदर्शन पक्षलाई बलियो बनाउँदै लगेको प्रसाईंको विश्लेषण छ । गीत–संगीतमा पनि यस्तै परिवर्तन देखिएको उनी बताउँछिन् । पहिले तीज गीतमा चेलीबेटीका पीडा, संघर्ष र भावनाहरू प्रमुख विषय हुन्थे । अहिले धेरै गीत भाइरल हुने, भ्युज बढाउने र व्यावसायिक सफलता हासिल गर्ने उद्देश्यमा केन्द्रित देखिन्छन् उनी भन्छिन् । उनका अनुसार कतिपय नयाँ तीज गीतमा तीजको मौलिक सामाजिक र सांस्कृतिक विषयवस्तुसँगको सम्बन्धसमेत कमजोर देखिन थालेको छ । प्रविधिसँगै बदलिँदो संस्कृति यद्यपि प्रविधिका कारण संस्कृति परिवर्तन हुनु आफैंमा अस्वाभाविक भने होइन । समाज परिवर्तनशील भएकाले चाडपर्व मनाउने शैली पनि समयअनुसार बदलिन्छ । सामाजिक सञ्जालले नेपाली संस्कृति नयाँ पुस्ता र विश्व समुदायसम्म पु‍र्याउने नयाँ अवसर सिर्जना गरेको समाजसास्त्री ज्ञवालीको तर्क रहेको छ । समस्या प्रविधिको प्रयोगमा भन्दा त्यसको उद्देश्य र प्रयोग गर्ने तरिकामा रहेको अर्का समाजसास्त्री प्रसाईंको बुझाइ छ । उनका अनुसार आधुनिक माध्यमलाई अस्वीकार गर्नेभन्दा त्यसको सकारात्मक प्रयोग गर्दै सांस्कृतिक मर्म जोगाउनु आवश्यक छ । नयाँ कुरा अन्धाधुन्ध अपनाउनेभन्दा आफ्नो संस्कृति, मूल्य र परम्पराको मर्म बुझेर आधुनिकतासँग सन्तुलन कायम गर्नुपर्छ, उनी भन्छिन् । वास्तवमा तीजमा परम्परा र प्रविधि एकअर्काका परीपुरक होइनन् । तर सँगसँगै हिँडिरहेका छन् । प्रश्न केवल टिकटकले तीजलाई बदल्यो कि तीजले टिकटकलाई सामग्री दियो भन्ने मात्र होइन । प्रश्न डिजिटल लोकप्रियताको प्रतिस्पर्धामा तीजको मौलिक अर्थ र सांस्कृतिक स्मृति कति सुरक्षित रहन्छन् भन्ने रहेको ज्ञवाली बताउँछन् । गायीका तथा अधिवक्ता शितल पाण्डेका अनुसार मोबाइलको क्यामेराले तीजलाई संसारभर पु‍र्याउन सक्छ । सामाजिक सञ्जालले नयाँ पुस्तालाई तीजसँग जोड्न सक्छ । गायिका पाण्डे भ्युज र भाइरल हुने प्रतिस्पर्धाले पर्वको मूल भावनालाई नै विस्थापित ग‍र्यो भने प्रविधिले संस्कृति विस्तार गरेको होइन, संस्कृतिको स्वरूप नै परिवर्तन गरेको ठहरिन सक्ने बताउँछिन् । त्यसैले आजको तीजलाई न त केवल परम्पराको निरन्तरता भनेर बुझ्न सकिन्छ, न त सामाजिक सञ्जालको प्रदर्शन मात्र । यो परम्परा, प्रविधि र प्रदर्शन संस्कृतिको संगम भएको गायिका पाण्डेको बुझाई रहेको छ । उनका अनुसार अहिले तीजको मौलिकता र डिजिटल युगको आकर्षणबीच नयाँ सन्तुलन खोजिँदैछ । पाण्डे भन्छिन् सायद यही कारणले आजको तीजमा दरसँगै मोबाइल छ, नाचसँगै क्यामेरा छ र गीतसँगै भ्युज पनि छ । उनका अनुसार प्रश्न यति मात्र हो, तीज भाइरल हुँदै गर्दा तीजको मर्म पनि भाइरल हुँदैछ कि छैन ?