नुवाकोटबाट ल्याइएका ८१ शव गोकर्णेश्वरमा व्यवस्थापन, १३ जनाको पहिचान
काठमाडौं । नुवाकोटबाट त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ। हालसम्म गोकर्णेश्वरमा ८१ वटा शव व्यवस्थापन गरिएको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार १३ जनाको शव पहिचान भएको छ । पहिचान भएकामध्ये तीन जना महिला र १० जना पुरुष रहेका छन् । अस्पतालमा शवको दुर्गन्ध फैलिएकाले छिटो–छिटो शव व्यवस्थापन गर्न लगिएको उनले बताए। दैनिक ३० वटा शव त्रिवि शिक्षण अस्पतालमा आउने गरेको उनको भनाइ छ । ‘यहाँ ल्याइने शव नुवाकोटबाट आइरहेको छ,’ उनले भने, ‘हामीलाई नुवाकोटबाट ल्याइएको भनिन्छ। प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गर्ने गरिरहेका छौँ ।’ शवको डीएनए परीक्षण गरेर व्यवस्थापन गर्ने गरिएको सिंहले बताए । ‘शवका आफन्तहरूको पनि प्रहरी अस्पतालमा डीएनए परीक्षण गरेर नमुना संकलन गरिएको छ,’ उनले भने । गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखामा ठूलो धनजनको क्षति गरेको छ ।
भोटेकोशी बाढीमा २१२ राष्ट्रसेवक सम्पर्कविहीन, ५ को निधन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ७७ जना नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित २१२ जना राष्ट्रसेवक सम्पर्कविहीन भएका छन् । बाढीमा परी चार जना निजामती कर्मचारी र एक प्रहरीको निधन भएको छ । विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र शिक्षकसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीबाट सरकारी कार्यालय, सुरक्षा संरचना, कर्मचारी आवास तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेकाले ती क्षेत्रमा कार्यरत कर्मचारीसमेत प्रभावित भएका छन् । सबैभन्दा धेरै विद्युत प्राधिकरणका भोटेकोशी बाढीबाट सबैभन्दा बढी क्षति नेपाल विद्युत प्राधिकरण र मातहतका जलविद्युत आयोजनामा कार्यरत कर्मचारीमा परेको छ । प्राधिकरणको भगिनी कम्पनी त्रिशूली–३ बी की प्रमुख प्रशासक लीला अर्यालका अनुसार प्राधिकरणसँग सम्बन्धित विभिन्न आयोजनाका ७७ जना कर्मचारी सम्पर्कविहीन छन् । ‘प्राधिकरणमा कार्यरत ठुलो जनशक्ति अहिले सम्पर्कविहिन अवस्थामा छ । प्राधिकरणमा ठेक्कामार्फत र इन्र्टनमा पनि थुप्रै कर्मचारी कार्यरत रहन्छन् । ती मध्येपनि धेरै हराइरहेका छन्,’ अर्यालले भनिन् । प्राधिकरणका अनुसार त्रिशूली–३ बीका २१ जना, चिलिमे जलविद्युत केन्द्रका ७ जना, त्रिशूली–३ एका ४५ जना, त्रिशूली जलविद्युत केन्द्रका १ जना, देवीघाट जलविद्युत केन्द्रका १ जना र रसुवा वितरण केन्द्रका २ जना कर्मचारी सम्पर्कविहीन छन् । सेनाका ४५, प्रहरीका ४० कर्मचारी सम्पर्कविहीन बाढीमा नेपाली सेनाका ४५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सम्पर्कविहीन हुनेमा अधिकृतदेखि सिपाही तहसम्मका सैनिक छन् । रसुवामा नेपाली सेना लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत आयोजनाको सुरक्षामा तैनाथ थियो । बाढी आएको समयमा ड्युटीमा रहेका तथा प्रभावित क्षेत्रमा रहेका सैनिकहरू सम्पर्कविहीन भएको सेनाले जनाएको छ । यस्तै, नेपाल प्रहरीका २७ जना र सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी पनि सम्पर्कविहीन छन् । नेपाल प्रहरीका एक जुनियर अधिकृतको निधन भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परिसकेको जिप्रकाले जानकारी दिएको छ । बाढीले रसुवाका विभिन्न प्रहरी कार्यालय तथा सुरक्षा चौकीमा क्षति पुर्याएपछि सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी भइरहेको छ । सशस्त्र प्रहरीका कर्मचारी सीमा सुरक्षा, उद्धार तथा विपद् व्यवस्थापनमा परिचालित थिए । तीमध्ये १३ जना अहिले सम्पर्कविहीन रहेका छन् । चार निजामती कर्मचारीको निधन संघीय सरकारअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत ३६ जना निजामती कर्मचारी सम्पर्कविहीन रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार बाढीमा परी हालसम्म चार जना निजामती कर्मचारीको निधन भएको पुष्टि भएको छ । निधन हुनेमा अध्यागमन अधिकृत यादव भण्डारी, भन्सार अधिकृत नकुल सुवेदी, आईटी इन्जिनियर जनक आचार्य र क्वारेन्टाइन कार्यालयका खरिदार आयुष खड्का छन् । बाढी आउन लागेको सूचना दिन माइकिङ गरिरहेका आचार्य पनि बाढीमा परेका थिए । अधिकारीका अनुसार ३६ निजामती कर्मचारी हालसम्म सम्पर्कविहिन अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको छ । १४ शिक्षक पनि सम्पर्कविहीन भोटेकोशी बाढीमा १४ जना शिक्षक पनि सम्पर्कविहीन भएको प्रारम्भिक विवरण रहेको छ । जिल्ला शिक्षा इकाई, नुवाकोटका अनुसार रसुवाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरू बाढी प्रभावित क्षेत्रमा परेका हुन् । बाढीले विद्यालय तथा शैक्षिक संरचनामा समेत क्षति पुर्याएपछि शिक्षक र विद्यार्थीको अवस्थाबारे स्थानीय तह तथा शिक्षा निकायले विवरण संकलन गरिरहेका छन् । रसुवाको टिमुरे, स्याफ्रुबेँसी र धुन्चे आसपासका क्षेत्रमा बाढीले सरकारी कार्यालय, सुरक्षा चौकी, कर्मचारी आवास र जलविद्युत आयोजनाका संरचनामा व्यापक क्षति पुर्याएको छ । राष्ट्रसेवक कर्मचारी ठूलो संख्यामा सम्पर्कविहीन भएपछि सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयले खोजी तथा उद्धारलाई प्राथमिकता दिएको विपद प्राधिकरणका प्रवक्ता महतले जानकारी दिइन् । उनका अनुसार खोजी जारी रहेकाले सम्पर्कविहीन कर्मचारीको संख्या थपघट हुन सक्नेछ । कुन निकायका कति राष्ट्रसेवक सम्पर्कविहीन ? नेपाल विद्युत प्राधिकरण तथा मातहतका आयोजना- ७७ नेपाली सेना- ४५ संघीय सरकारका निजामती कर्मचारी- ३६ नेपाल प्रहरी- २७ शिक्षक- १४ सशस्त्र प्रहरी- १३ जम्मा- २१२ उपलब्ध विभिन्न सरकारी निकायका प्रारम्भिक विवरणका आधारमा संख्या तयार गरिएको हो । खोजी, उद्धार र पहिचानको काम जारी रहेकाले विवरण परिवर्तन हुन सक्नेछ ।
डा. श्रवण मिश्रविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालतमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि अख्तियारले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने क्रममा खरिद प्रक्रियामा अनियमितता भएको थियो । ठेक्का नम्बर PPHL2/G/NCB/05/2078-79 मा कानुनविपरीत खरिद कार्य गरेको आरोपमा डा. मिश्रसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा अख्तियारले ५ करोड १ लाख ९० हजार ८० रुपैयाँ बिगो कायम गरी सजायको माग गरेको थियो । साथै डा. मिश्रलाई थप सजायसमेत हुनुपर्ने माग अख्तियारको थियो । तर विशेष अदालत काठमाडौंले २०८२ फागुन १३ गतेको फैसलाबाट प्रतिवादीलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ १६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।