चितवनमा ५७ जना एचआइभी संङ्क्रमित थपिए
चितवन । सन् २०१९ को १० महिनामा चितवन जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६ जना सङ्क्रमित पुगेका छन् । उनीहरुमध्ये एक हजार पाँच पुरुष र ७८१ जना महिला रहेका छन् । यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला रहेका छन् । पुरुषहरुले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ । यस कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका रहेका छन् । रासस
खुला दिशामुक्त अभियान तीव्र, चुनौतीपूर्ण बन्दै मलमूत्र व्यवस्थापन
काठमाडौं । हरेक व्यक्तिले गासका लागि दैनिक घण्टौ काम गर्दछ तर खाएको कुरा उत्सर्जन भएपछि त्यसको दिगो व्यवस्थापनका लागि भने धेरै ध्यान दिएको पाइदैन । हरेक व्यक्तिले कम ध्यान दिएको मानवीय मलमूल व्यवस्थापन अहिले विश्वमा स्वास्थ्य र सरसफाईको क्षेत्रमा ठूलो चुनौतिको रुपमा आएको छ । विश्वमा सन् २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालेको हो । शौचालयबारे निर्धक्क कुरा, स्वास्थ्य र सफाईका लक्ष्य हुन्छन् पूरा भनेझैं आजसम्म पनि ओझेलमा परेको मानव मलमूत्रको व्यवस्थापनका बारेमा खुलेर कुरा गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत ईन्जिनियरहरु मुखर भएर आएका छन्, चर्पीको कुरा लिएर । खानेपानी,स्वास्थ्य र सफाईको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था स्मार्ट वासको आयोजनामा आइतबार राजधानीमा विश्व चर्पी दिवस २०१९ का अवसरमा एक अन्तरक्रिया सम्पन्न भएको छ । शौचालय हरेक व्यक्तिको आधारभूत आवश्यकता हो र यसको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यका साथै व्यक्तिको इज्जत र प्रतिष्ठासंग जोडिएको छ । तपाई सबैले देख्ने गरी खान सक्नुहुन्छ तर दिसा र पिशाब गर्न सक्नुहुन्न । सञ्चारकर्मीहरुले पनि आफ्नो दृष्टिकोण व्यापक बनाउन जरुरी भएको पूर्व सचिव सुमन शर्माले बताएका छन् । कार्यक्रममा पूर्व मन्त्री गणेश साहले नेपाल करिब एक दशकको अथक प्रयासपछि गत असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र भएकोमा गर्व गर्र्दै भने अहिले घरघरमा शौचालय बनेको छ तर पूर्र्ण सरसफाईको स्तरमा पुग्न बाँकी छ । अझैपनि सार्वजनिक शौचालयहरु अपर्याप्त छन्, गुणस्तर राम्रो छैन, दिगो व्यवस्थापनका समस्या छन् । सबैभन्दा ठूलो कुरा त शौचालयमा जम्मा भएका मानव मलमूत्रको प्रशोधन र दिगो व्यवस्थापन समस्याको रुपमा रहेको छ । प्रचलित प्रविधि छ तर महंगो छ । त्यसलाई हाम्रो देशको भौगोलिक आर्थिक हिसाबले उपयुक्त प्रविधि विकास गरी दिगो व्यवस्थापन गर्नुपर्ने खाँचो छ । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले चर्पीको कुरा जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धित भएकोले नेपालमा खुला दिशामुक्त अभियान तीव्र गतिमा चलाईएको बताएका छन् । उनले घरघरमा चर्पी बनाउने अभियान पुरा भएको बताउदै अब सार्वजनिक क्षेत्रमा शौचालय निर्माणमा संघीय र प्रादेशिक तथा स्थानीय सरकारको पनि ध्यान केन्द्रीत भएको र चर्पीको सरसफाई,गुणस्तर,चर्पीमा जम्मा भएको मलमूत्रको व्यवस्थापन चुनौतिको रुपमा आएको बताएका छन् । महानिर्देशक दासले सरकारले पूर्ण सरसफाईको लागि निर्देशिका र सूचकहरु तयार पारेकोले त्यसको परिपालना गर्नुपर्ने आवश्यकता औल्याए । शहरी ढलको दिगो व्यवस्थापनको लागि झापाको चारआली र काँकडभित्तामा विलगेट्स फाउण्डेशनको सहयोगमा प्रशोधन केन्द्र बनेको बताउदै देशमा रहेका नगरपालिका र गाँउपालिकाहरुमा यस्ता प्रशोधन केन्द्र बनाउने र दिगो रुपमा सञ्चालन गर्ने कार्य चुनौतिको रुपमा आएको बताएका छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट
काठमाडौं । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने सहमति गरेको हो । हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।