जनता आवास: ३११ घरधुरीले अन्तिम किस्ता पाएसँगै घर निर्माण
काठमाडौं । जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलेको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माणमा समस्या भएको भनी घर निर्माण गरिरहेका दलित समुदाले आक्रोश व्यक्त गरेका थिए । जनता आवास कार्यक्रमबाट साविकका दुनै, जुफा, त्रिपुराकोट, पाहाडा, लहाँ, नर्कु, कालीका, सर्मी गरी जम्मा आठ गाउँपालिकाका ३२७ वटा घरधुरीलाई निकासा दिने भनी सम्झौता भएको थियो । सरकारले दलितभित्रका विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रमले वास्तविक गरिब दलित समुदायलाई राहत पुगेको छ । घर निर्माणकार्य शुरु भएदेखि अहिलेसम्म चार किस्ता गरी रु तीन लाख ८० हजार रकम सरकारले अनुदान दिने व्यवस्था भएबमोजिम निकासा गर्न लागेको हो । आर्थिक वर्ष २०७४/७५ असार मसान्तभित्र सक्ने भनी शहरी विकास मन्त्रालयले सम्झौता गरेको थियो, तर सङ्घीयता लागू भएपछि र कार्यालय समायोजन गरेपछि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मा दिँदा काम ढिला भएको थियो । अहिले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ । तीन सय २७ घरधुरी सम्झौता भए पनि कसैको नाम, थर दोहोरिएको र नाम थर बिग्रिएका कारण अहिले ३११ घरधुरीले पूरै रकम भुक्तानी पाउने भएको जनता आवास निर्माण कार्यक्रमका प्रमुख सजीवमान श्रेष्ठले जानकारी दिएका छन् । डोल्पाका ८० प्रतिशत घर चुलीसम्म निर्माण भइसकेको सव इञ्जिनीयर भीमसेन बस्नेतले बताए । सरकारको लगानीमा घर निर्माण भएपछि यहाँका स्थानीयवासी नयाँ घरमा बस्न पाउँदा निकै खुशी भएको त्रिपुरासुन्दरी नगरपालिका–८ पाहाडाका स्थानीय कर्णकामीले बताएका हुन् । समयभन्दा पहिला नै निर्माण भइसक्नुपर्ने घर आर्थिक अभावका कारण एकवर्ष लागेको मुड्केचुला गाउँपालिका–२ भेट गाउँका बलबहादुर सार्कीले बताउँदै भने ढिलै भए पनि सबै भुक्तानी गरेर घर निर्माण भएकोमा विकले खुशी व्यक्त गरेका छन् । रासस
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्माण गरिएको विद्यालय हस्तान्तरण
काठमाडौँ । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोक जिल्लास्थित कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एउटा विशेष समारोहका माझ पुनर्निर्माण गरिएको उक्त विद्यालयको उद्घाटन गरे । ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को एक हिस्सास्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको गरिएको छ । भूकम्पप्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधाहरू भएको सो विद्यालयको पुनर्निर्माण गरिएको छ । सिन्धुपालचोकमा पुनर्निर्माण गरिएका अन्य ६ वटा विद्यालयहरूमध्ये श्री कूपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ती विद्यालयहरूको कक्षाकोठा, विज्ञान प्रयोगशाला र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो । हस्तातन्तरण समारोहमा सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर. मेहता, सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, अग्निप्रसाद सापकोटा तथा अरुण नेपालको उपस्थिति थियो । त्यसैगरी टाटा ट्रस्ट्सका प्रमुख वित्त अधिकारी आशिष देश पाण्डे, क्षेत्रीय प्रमुख अमृता पतवर्धनका साथै संघीय सांसद् र स्थानीय सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो ।
पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स एचडी च्यानलको सह-प्रायोजन
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह-प्रायोजन गरेको छ । डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो । आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताउनु भयो । सम्झौताअनुसार डिस मिडियाले अवार्डकालागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफबक्स र दुई बर्षसम्मनिशुल्क सुविधा उपलब्ध गराउने छ । ‘ डिस मिडियासँग सम्झौतामा यसपटक रकम गतवर्ष भन्दा चार गुणा वृद्धि भएको छ । सरकारले समेत यसपटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भने । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । एक्शन स्पोर्ट्स एचडी च्यानलमा यो कार्यक्रम प्रत्यक्ष देखाइने छ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।